नाट्य क्षेत्रको विकासमा सरकारले सहयोग गर्नेछ : प्रधानमन्त्री
screennepal
प्रकाशित: २०७५, १४ फाल्गुन मंगलवार
no img
  • तस्बिर : नविन गुरुङ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि कला प्रेमी भएको बताएका छन् । राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सोमबारबाट सुरु भएको साताव्यापी महोत्सवको उद्घाटन गर्दै आगामी आर्थिक वर्षदेखि नाट्य विधाको उत्थानका लागि बजेट छुट्याउने प्रतिवद्धता समेत व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, ‘नाट्य क्षेत्रको विकासका लागि यो सरकारको तर्फबाट सहयोग हुनेछ । हामीले आन्तरिक तवरमा पनि केही विचार विमर्श सुरु गरिसकेका छौँ ।’
उनले कला, साहित्य र संस्कृतिको विकासबिना देशको विकास हुन नसक्ने बताउँदै रंगकर्म र कलाकारिताको निरन्तरताका लागि शुभकामना व्यक्त गरे ।


नाट्य महोत्सवका निर्देशक नाट्यकर्मी राजन खतिवडाले कार्यक्रम आयोजना एवं प्रोत्सहानका लागि प्रधानमन्त्रीलगायत आर्थिक, भौतिक दाता एवं सहयोगीलाई धन्यवाद व्यक्त गरे । उनले नेपालमा नाटकको इतिहास लामो नभएपनि फराकिलो र गहकिलो भएको बताए । भने, ‘हामी हाम्रै समाजको कथा भन्ने शैली निर्माण गर्न खोजिरहेका छौँ । जुन कुरा समाजबाट पर रहेर सम्भव छैन ।’ उनले समाज समद्धितिर लम्कन अर्थपूर्ण सोच निर्माण आवश्यक रहेको र त्यसैका लागि महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा व्यक्त गरे ।
कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणी पोख्रेल, भौतिक पूर्वाधार एवं यातायात मन्त्री रघुबीर महासेठलगायतका मन्त्रीहरुको उपस्थिति थियो ।
त्यस्तै काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य, सांसद जुली महतो, पूर्वमेयर केशव स्थापित, पुर्वसंस्कृति मन्त्री दीपकराज जोशी, कांग्रेस नेता गगन थापालगायत अतिथि रहेका थिए ।
कार्यक्रममा जर्मन एम्बेसीका प्रतिनिधि एन्ड्री अर्सनल, जिआइजेडका नेपाल निर्देशक एल्क फर्सटर, जिआरजेड सिभिल पिस सर्भिसका संयोजक वेरेना हिंज र अमेरिकन राजदुतावासका ट्रेड ब्राउन पनि सहभागी थिए ।
कार्यक्रममा संस्कृतिविद सत्यमोहन जोशीसहित ९ जना नाट्य धरोहरहरुलाई सम्मान गरिएको थियो । नाट्य निर्देशक प्रचण्ड मल्ल, शकुन्तला शर्मा गुरुङ, नाटककार एवं समालोचक अभि सुवेदी, नाट्य निर्देशक अशेष मल्ल, सबिन लेहमेन र कलाकारहरु सुभद्रा अधिकारी, सुनिल मिश्र, सूर्यमाला शर्मालगायतलाई सम्मान गरिएको थियो ।
समारोहमा परम्परागत एवं मौलिक झाँकीसँगै आधुनिक सांगीतिक प्रस्तुति रहेको थियो । अनुप बराल निर्देशित नाटक ‘रेप मेसिन’ मञ्चन समेत भएको थियो । मंगलबारदेखि महोत्सव काठमाडौंका चार थिएटरहरुमा नियमित नाटक मञ्चन हुँदैछ । मण्डला थिएटर, शिल्पी थिएटर, कौसी थिएटर र थिएटर मलमा प्रस्तुति हुनेछन् । महोत्सवमा नेपाल, भारत, बंगलादेश, अफगानस्तान, नर्वे, इटालीलगायत ८ देशका ३० फरक नाटक देखाइनेछ । नाटक मञ्चनसँगै विभिन्न विषयमा अन्तरक्रियात्मक कार्यक्रम र वहस हुने आयोजकले जनाएको छ ।

Comments