…जब आर्यघाट गुञ्जियो ‘जहाँ छन् बुद्धका आँखा’
screennepal
प्रकाशित: २०८०, १५ फाल्गुन मंगलवार
no img

काठमाडौं । नेपाली गीतसंगीतका एक इतिहास थिए, भक्तराज आचार्य । अब भक्तराज आचार्य सम्झनामा मात्र रहे । यससँगै नेपाली गीतसंगीतको एउटा अध्याय अस्ताएको छ । भजन शिरोमणि भक्तराज आचार्यको निधनले नेपाली गीतसंगीत क्षेत्रको मात्र नभएर सिँगो राष्ट्रलाई क्षति भएको छ ।

दिवंगत आचार्यको मंगलबार राष्ट्रिय सम्मानसहित पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आचार्यको पार्थिव शरीरलाई उनका छोराद्वय गायक सत्यराज र स्वरुपराजले दागवत्ती दिएका थिए । भक्तराजको पार्थिव शरीरलाई नेपाल प्रहरीको एक टुकडीले सलामी दिएको थियो ।

सोमबार अपरान्ह अचानक स्वास प्रस्वासमा समस्या देखिएपछि अस्पताल लैजाँदा लैजाँदै ८२ वर्षको उमेरमा सोमबार आचार्यको निधन भएको थियो । आचार्यको अन्तिम विदाइका लागि नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकार तथा उनका सयौँ प्रशंसक पशुपति आर्यघाट पुगेका थिए । अन्त्यष्टि गर्नुअघि आचार्यकै सिर्जना ‘जहाँ छन् बुद्धका आँखा’ गीत गाइएको थियो । उक्त गीत गाउँदा पशुपति आर्यघाट स्तब्ध बनेको थियो ।

अन्तिम दाहसंस्कार गर्नुअघि श्रद्धाञ्जलीका लागि आचार्यको पार्थिव शरीरलाई काठमाडौंको सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान राखिएको थियो । सानो गौचरणदेखि पशुपतिसम्म शवयात्रामा सयौँको उपस्थिति थियो ।

दिवंगत आचार्यलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पर्यटनमन्त्री सुदन किराती, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाललगायतका नेता तथा कलाकार नक्साल पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्डले आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।

त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरू पनि आचार्यलाई श्रद्धाञ्जली दिन नक्सालस्थित प्रज्ञा प्रतिष्ठान पुगेका थिए । त्यस्तै, गायक, संगीतकार, कलाकार र रंगकर्मीहरूले पनि प्रज्ञा प्रतिष्ठान पुगेर उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे ।

आचार्यले ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूको’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’लगायत करिब चार सय गीतमा आवाज दिएका छन् ।

Comments