१५ वर्षको उमेरदेखि निरन्तर गीति सिर्जनामा राणा
screennepal
प्रकाशित: २०७२, २१ चैत्र आईतवार
no img

ढाकामा बस्दा उनले आफ्नो ड्युटीमात्र पूरा गरेनन्, उनले सांस्कृतिक दूत भएर दुई देशबीचको सांस्कृतिक पुलको भूमिका समेत निर्वाह गरेका थिए । राणाले त्यहाँ दुई वटा एकल शो समेत गर्न भ्याएका थिए । गीतसंगीतलाई प्यासनका रुपमा लिएका गायक तथा गीतकार राणाले भने, ‘म ढाकामा सैनिक सहचारीमा रुपमा गएको हुँ । तर, त्यहाँ रहँदा मैले आफ्नो प्यासन अनरुप सांस्कृतिक दूत बनेको हुँ ।’

-एमपी सुब्बा

काठमाडौं । भनिन्छ, जहाँ इच्छा, त्यहाँ उपाय । यो भनाई गायक तथा गीतकार सुदर्शन विक्रम राणासँग पनि ठ्याक्कै मेल खान्छ । पेसाले उनी नेपाली सेनाको जागिरे हुन् । हाल सहायक रथि पदमा कार्यरत राणाको गीतिकारिता र गायनचाहिँ सानैदेखिको प्यासन हो । त्यसैले व्यस्त जागिरे जीवनका अलावा पनि उनले गायन तथा गीति सिर्जनालाई निरन्तर दिँदै आएका छन् । रहर र इच्छा भन्दाभन्दै राणाले यहाँसम्म आइपुग्दा गीति सिर्जनाका थाक लगाइसकेका छन् । पछिल्लो समय एकैसाथ दुई एल्बम ‘अठोट’ र ‘आकांक्षा’ श्रोतामाझ ल्याएका गायक तथा गीतकार राणा भन्छन्, ‘गीतसंगीतप्रति मेरो सानैदेखि लगाव थियो । त्यसैलाई अहिले जीवन्तता दिँदै निरन्तर संगीत सिर्जना गर्दै आएको छु ।’

sudarshan bikram rana
पछिल्लो केही महिनायता शान्ति स्थापनार्थ दक्षिण सुडानमा खट्दै आएका राणा अहिले काठमाडौंमा छन् । केही दिनको विदाको मौका छापेर काठमाडौं आएका राणाले भने, ‘यसै समयमा ‘अठोट’ र ‘आकांक्षा’ एल्बमको प्रमोसन गर्दैछु । यी एल्बम मैले गएको भदौमै ल्याएको हुँ, तर एल्बम ल्याउँनेवित्तिकै सुडान जानुपरेपछि प्रमोसन गर्न पाइनँ । त्यसैले विदाको मौकामा एल्बमको प्रमोसन गरेको हुँ ।’ दक्षिण सुडानको आफ्नो डिउटी केही महिना बाँकी रहेकाले चाँडै फर्किने उनले बताए ।
१५ वर्षकै उमेरमा ‘किन सधं तिमी मलाई आँखा तरी हिड्ने गछौं’ बोलको गीतको रचना तथा संगीत गरेर सांगीतिक क्षेत्रमा औपचारिक यात्रा प्रारम्भ गरेका राणाको पहिलो एल्बम भने ‘इलाम’ हो । यो एल्बम जागिरको क्रममा इलाममा बस्दाखेरी तयार गरेको उनले बताए । ‘उक्त एल्बमका कतिपय गीतमा इलामकै वर्णन गरिएको छ’ राणाले भने, ‘इलाम एल्बमको बन्दुकेको डाँडाभरी लाली गुराँस फूल्यो गीत श्रोताले निकै रुचाएका छन् ।’ उनी २०६१ देखि ०६३ सम्म इलाममा बसेका थिए ।
जहाँ गएपनि आफूलाई सिर्जनामा लिप्त गराउँर्दै आएका राणाले बंगलादेशको ढाकामा बस्दा गीति पुस्तक नै तयार गरे । ढाकास्थित नेपाली दुतावासमा खट्दा उनले ‘ढाका’ नामक गीति पुस्तक प्रकाशन गरेका छन् । जुन नेपाल, अंग्रेजी र बंगला भाषामा रहेको छ । ‘ढाका’ गीति पुस्तकबाटै लिइएका गीतहरु ‘आकांक्षा’ एल्बममा रहेको राणाले बताए ।

sudarshan rana
ढाकामा बस्दा उनले आफ्नो ड्युटीमात्र पूरा गरेनन्, उनले सांस्कृतिक दूत भएर दुई देशबीचको सांस्कृतिक पुलको भूमिका समेत निर्वाह गरेका थिए । राणाले त्यहाँ दुई वटा एकल शो समेत गर्न भ्याएका थिए । गीतसंगीतलाई प्यासनका रुपमा लिएका गायक तथा गीतकार राणाले भने, ‘म ढाकामा सैनिक सहचारीमा रुपमा गएको हुँ । तर, त्यहाँ रहँदा मैले आफ्नो प्यासन अनरुप सांस्कृतिक दूत बनेको हुँ ।’
टेकु, काठमाडौका स्थानीय राणा २०४२ सालमा नेपाली सेनाको जागिरमा प्रवेश गरेका हुन् । सेनाको जागिरमा प्रवेश गर्नुअघि नै उनी गायनमा चिनिसकेका थिए । जागिर प्रवेशपछि पनि उनले गायन तथा गीति सिर्जनालाई निरन्तरता दिँदै आइरहेका राणाका पल्टने गीतहरु समेत चर्चित छन् । उनका ‘पल्टन नै फूर्तिलो गठीको धावामा…’ जस्ता गीतहरु चर्चित छन् । अहिलेसम्म तीन दर्जनभन्दा बढी गीतमा स्वर तथा संगीत दिइसकेका राणाले भने, ‘शब्दरचना त मैले चार सयभन्दा बढी गरेको छु ।’
समाज, परिवेश, अनुभव र अनुभूतिका गीतहरु बढी लेख्ने र गाउने गरेको राणाले बताए । सानैदेखि कविता तथा गीत लेख्ने गरेका उनले एक दिन अवश्य सफलता पाउने अभिलाषा र दृढ विश्वासले अगाडि बढिरहेको बताउँदै भने, ‘अहिले यहाँसम्म आइपुग्दा सन्तुष्टि नै छु ।’
एल्बम ‘अठोट’ मा आकाशका नौलाखे, ढमक्क, मनको व्याथा, घर हाम्रो टेकु, भालेको डाकोमा, छालजस्तै, र या् नेपाली जस्ता ७ वटा गीत छन् । त्यस्तै, ‘आकांक्षा’ मा यो दिल, चम्किलो आकाश, भेडेटार, दौलत होइन, तिम्रो मनको र स्वर्गझैं जस्ता ६ वटा गीत छन् । अहिले यिनै एल्बमको प्रमोसनमा व्यस्त रहेका राणाले भने, ‘विभिन्न मिडियाकर्मीहरुलाई भेट्दै छु । आफ्नो सिर्जना ओझेलमा नपरोस् भन्ने मेरो सोच हो ।’

Comments