सिर्जनामा राष्ट्रियता खोज्दै अढाइ दशकयता अधिकारी
screennepal
प्रकाशित: २०७२, २६ माघ मंगलवार
no img

एमपी सुब्बा

काठमाडौं । गीत र कवितामार्फत राष्ट्रका लागि सकरात्मक सन्देश फैलाउन सकिन्छ भन्ने मान्यता राख्छन् कवि तथा गीतकार रमेश अधिकारी ।

उनका प्रायः सिर्जनामा राष्ट्रभाव पाइन्छ । गीति लेखनमै साढे अढाई दशकभन्दा बढी व्यतित गरिसकेका अधिकारी यतिखेर आफ्नो ११औं एकल एल्बम ‘छातीभित्र छ देश’ ल्याउने तयारीमा छन् । एल्बममा राष्ट्रियभावना तथा सन्देशमूलक गीतहरु रहने उनले बताए । राष्ट्रियतामा केन्द्रीत गीत तथा कविता लेख्दा आनन्द लाग्ने अधिकारीको भनाइ छ ।

ramesh adhikari
एल्बम ‘छातीभित्र छ देश’ ल्याउनुअघि भने ‘शब्दसागर’ को प्रमोसनमा व्यस्त हुने गीतकार अधिकारीले बताए । गीति एल्बम ‘शब्दसागर’ केही साताअघि नै सार्वजनिक गरिएको हो, जसमा अधिकारीसँगै कृष्णबहादुर थापा क्षेत्रीको पनि शब्दरचना रहेको छ ।

‘यो एल्बम कृष्णबहादुर र मेरो संयुक्त हो’ अधिकारीले भने, ‘एल्बममा चार गीत छन्, जसमा दुई/दुईवटा हाम्रो गीत छन् ।’ ‘शब्दसागर’ मा रामचन्द्र काफ्ले, जुनु रिजाल, जगदिश समाल, मेघ लामा र कुन्ति मोक्तानको स्वर रहेको छ । थाहा भए, तिमीलाई माया, सोझो मान्छे र भूल भयो जीन्दगीलाई जस्ता एल्बमका गीतमा सम्राट थापा, अर्जुन नेपाली, मेघ लामा र शिलाबहादुर मोक्तानको संगीत रहेको छ ।
अधिकारीले २०५६ सालमा ‘बाडुली’ एल्बम निकालेर औपचापरिक रुपमा गीतिकारिता अँगालेका हुन् ।

अधिकारी भन्छन्, ‘गीत त २०४८ सालदेखि नै लेख्थे, तर एल्बमचाहिँ ०५६ मा ल्याएँ ।’ उनका ‘बाडली’लगायत ‘सत्य’, ‘मोड’, ‘लेकैमा चौरी’, ‘डाँफे हिमाल’, ‘सोल्टी सिंगापुर’ जस्ता एकल एल्बम बजारमा आइसकेका छन् । यी एल्बममा प्राय राष्ट्रभावका गीतहरु सुन्न सकिन्छ । गीतमात्र नभई कवितामा समेत राष्ट्रियता पोख्ने अधिकारी भन्छन्, ‘हुन त सबै प्रकारका गीत, कविता लेख्छु तर राष्ट्रियता झल्किने गीतमा मलाई आनन्द लाग्छ ।’
गीति एल्बमसँगै अधिकारीमा पाँच पुस्तक समेत प्रकाशित छन् । ‘मेरो देश’, ‘मुटभित्रको हरफहरु’, ‘पाटेबाघ’ जस्ता पुस्तक प्रकाशनमा ल्याइसकेका अधिकारीले भने, ‘अब मेरो चाँडै गीतको मूल्य गीति पुस्तक आउँदैछ ।’

अधिकारीको ‘मेरो देश’ सगरमाथामा लोकार्पण गरिएको थियो भने ‘मुटुभित्रका हरफहरु’ संसारकै होचो उपत्यका अरुण उपत्यकामा पाँच यसभन्दा बढी विद्यार्थीले एकैसाथ लोकार्पण गरेका थिए । हरेक क्षेत्रमा नौलो कुरा गर्न चाहने अधिकारीले भने, ‘पाटेबाघ मैले लोपोन्मुख पाटेबाघ संरक्षणका लागि लेखेको हुँ ।’ साहित्य तथा सिर्जनामार्फत पनि देशका लागि केही गर्न सकिन्छ भन्ने सन्देश दिन आफ्नो लेखनमा राष्ट्रियता मिश्रण गर्ने उनले बताए ।

Comments