सिद्धार्थमा ३८ हजारदेखि ९९ हजार मूल्यका चित्र
screennepal
प्रकाशित: २०७२, २२ माघ शुक्रबार
no img

 चित्रमा संविधान, भूकम्प, तराईको सामाजिक जीवनका समस्या तथा भूकम्पपीडितको अवस्थालाई कलात्मक रुपमा मिथिला शैलीमा चित्रण गरिएको छ । रिबिल्ड नेपाल अर्थात् नेपालको पुनःनिर्माण विषयको चित्रले हिमाल, पहाड र तराईको सम्बन्धलाई जोडेको छ । सम्पदाको पुनर्निर्माणमा मिथिलावासीले होस्टेमा हैसे गरेको दृश्यले जोकोहीको मन छुन्छ । 

– देवेन्द्र थुम्केली

काठमाडौं । कलाकार एससी सुमनको पन्ध्रौं एकल कला प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा बुधबारबाट भइरहेको छ । ‘मिथिला कसमस–४ कल्पवृक्ष’ श्रृंखलामा ३२ चित्र राखिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै नेपालका लागि युरोपियन युनियनकी राजदूत रेन्स्जे तिरिन्कले सुमनका कलाबाट आफू प्रभावित भएको जनाइन् । एक महिनासम्म चल्ने प्रदर्शनीमा ३८ हजारदेखि ९९ हजार मूल्यका चित्र राखिएको छ ।
कल्पवृक्षलाई आधार बनाई कलाकार सुमनले समसामयिक राजनीति, संस्कति तथा सामाजिक परिवेशलाई मिथिला शैलीमा उतारेको बताए । विगत तीन दशकदेखि मिथिला कलामा निरन्तर क्रियाशिल सुमनले यसपटक चिताएको पुग्ने कल्पवृक्षलाई आधार बनाइ चित्र बनाएका छन् । सुमन आफ्ना चित्रका विषयप्रति सचेततापूर्वक लाग्दै समसायिक विषयसँग मिथकीय विषयलाई समेत जोडेको बताउँछन् । उनी भन्छन्, ‘विभिन्न धर्मसम्प्रदायको पौराणिक मान्यताअनुसार कल्पवृक्ष यस्तो रूख हो जसको फेदमा बसेर कल्पना गरेको कुरा मानिसले प्राप्त गर्छन् । अहिले संसारमा कल्पवृक्ष पाइँदैन । मानिसको चाहना बढ्दै गयो र कल्पवृक्षको दुरुपयोग हुन थाल्यो । दुरुपयोग हुन थालेपछि कल्पवृक्ष स्वर्गमा गयो । हिन्दु धर्ममा मात्र होइन, जैन र बौद्ध धर्ममा पनि कल्पवृक्षको मान्यता पाइन्छ ।’

Kailbirchhya I (Celebration Around Kalpabrishya) 57X37
उनी थप्छन्, ‘मैले कल्पवृक्षलाई अहिलेको समाजको अवस्थासँग तुलना गरेर कला बनाएको हुँ । वैदिक कालमा समुद्र मन्थन गर्दा प्राप्त भएका विभिन्न रत्नमध्ये एउटा कल्पवृक्ष पनि थियो । समुद्र मन्थन गर्दा अमृत, विषसँगै कल्पवृक्ष पनि प्राप्त भयो अमृतको व्यवस्थापन गर्नु परेन, विषको महादेवले सेवन गरेको हाम्रो सामाजिक मान्यता रहेको छ ।’ उनले आफ्ना कलालाई समुद्र मन्थनको मिथसँग जोड्दै त्यसलाई अहिलेको संविधानसभासँग तुलना गरे ।
संविधानप्रति अहिलेको अवस्थासँग जोडदै भने, ‘संविधानसभाबाट बनेको संविधान समुद्र मन्थनबाट निस्केको अमृतजस्तै हो । संविधानप्रति देखिएको असन्तुष्टि समुद्र मन्थनबाट निस्केको विषजस्तै हो, यसको व्यवस्थापन गर्न सरोकारी पक्षहरु त्दारुकताका साथ लाग्नुपर्दछ । कल्पवृक्षले जस्तै अहिले नेपालीको कल्पनालाई साकार पार्ने वृक्ष अर्थात राजनेताको आवश्यकता रहेको छ ।’
उनका चित्रमा संविधान, भूकम्प, तराईको सामाजिक जीवनका समस्या तथा भूकम्पपीडितको अवस्थालाई कलात्मक रुपमा मिथिला शैलीमा चित्रण गरिएको छ । रिबिल्ड नेपाल अर्थात् नेपालको पुनःनिर्माण विषयको चित्रले हिमाल, पहाड र तराईको सम्बन्धलाई जोडेको छ । सम्पदाको पुनर्निर्माणमा मिथिलावासीले होस्टेमा हैसे गरेको दृश्यले जोकोहीको मन छुन्छ । त्यस्तै भूकम्पका बेला मधेसीले सघाइरहेको दृश्य पनि तराई र हिमाल पहाड जोडने सम्बन्धको कसीका रुपमा बुझ्न सकिन्छ ।
रुखलाई सम्पूर्ण प्राणीको आश्रयको रुपमा उनले व्याख्या गरेका छन् । मिथिला क्षेत्रको संस्कृति, परम्परा, चाडपर्व, मिथक, प्रकृतिसँग समिप हुने भएकाले रुखलाई चित्रमा प्रस्तुत गरेको सुमनले जनाए । मिथिलाका पर्वहरू मधु श्रावणी, छठ, जुर शीतल, नागपञ्चमीलाई समेत उनले चित्रात्मक रुपमा उतारेका छन् । कृष्णलीला र दुर्गाजस्ता चित्र पनि प्रदर्शनीका आकर्षण रहेका छन् ।
उनका चित्रका सम्बन्धमा ग्यालरी सञ्चालक तथा आर्ट क्यूरेटर संगिता थापा भन्छिन्, ‘यसपटक सुमनका कलाले सामाजिक सद्भाव र मिथिला संस्कृतिलाई कलात्मक रुपमा उठाउन सकेका छन् ।’

Comments