चित्रमा परिवर्तित जीवनशैली र प्रविधिले पारेको प्रभाव (फोटोसहित)
screennepal
प्रकाशित: २०७२, १६ पुष बिहीबार
no img

देबेन्द्र थुम्केली

काठमाडौं । २१औं शताब्दीमा प्रविधिले मानव जीवनमा पारेको प्रभाव तथा फेरिएको जीवनशैलीले समाजका कतिपय विषय छायाँमा पर्दै गएका छन् । जीवनशैलीमा आएको परिवर्तन र प्रविधिले पारेको प्रभावलाई कलाकार र इन्जिनियरले कलात्मक रुपमा संयोजन गरी कला पस्केका छन् । कला र प्रविधिको संयोजनबाट तयार पारिएका कला नेपाल आर्ट काउन्सिलमा देख्न पाइन्छ । ‘यन्त्र ४’ नाम दिइएको सो प्रदर्शनी आइतबारबाट सुरु भएको हो । यो प्रदर्शनीको आयोजना सिद्धार्थ आर्टस् फाउण्डेशन एजुकेशन इनिसिएटिभ, कारखाना, रोवोटिक एसोसिएसन अफ नेपालले गरेका हुन् ।

2222
प्रदर्शनीमा कलाकार कविराज लामाको टिमले सर्वदलीय बैठक शीर्षकमा प्रस्तुत गरेको कला प्रदर्शनीको आकर्षणको रुपमा रहेको छ । नेपालका २०४६ साल यताका प्रधानमन्त्रीको मुहारचित्र मार्फत नेपालको राजनीतिक अवस्थालाई चित्रण गरेका छन् । हरेक प्रधानमन्त्रीको मुहारचित्र अगाडि पुगेपछि सेन्सरको कारण उनले बोलेको आवाज निस्कन्छ भने प्रकाशले व्यक्तित्वलाई कलात्मक रुपमा देखाउँछ । आफ्नो कलाका विषयमा लामा भन्छन्, ‘नेपालका २०४६ साल यताका सबै प्रधानमन्त्रीले देश बनाउने भाषण गरे तर देशको अवस्था उस्तै रह्यो । मैले कलामार्फत तिनै प्रधानमन्त्रीका भाषण र मुहारचित्रलाई संयोजन गरी प्रस्तुत गरेको छु । यसमा दर्शकहरु सबै प्रधानमन्त्रीको अगाडि जाँदा आवाजै आवाज सुन्न सकिन्छ । यो आवाजले निकास दिने भन्दा पनि इरिटेसन क्रियट गर्छ र मैले यसलाई सर्वदलीय बैठक भनेर नाम राखेको छु ।’ लामालाई इन्जिनियर रविराज खडका, पारस थापामगर र प्रतिक बुढाथोकीले सघाएका छन् ।

_Y5A6289
सो प्रदर्शनीमा सुजन डंगोल, सरन तण्डुकार, भूषण दुवालले ‘बि अ पाइलट अफ युअर टाइम’ शीर्षकमा समयको परिवर्तनलाई देखाएका छन् । आफ्नो कामका विषयमा कलाकार सुजन डंगोल भन्छन् ‘उपभोक्तावादी संस्कृतिले मानव जीवनमा गहिरो गरी प्रभाव पारेको छ । त्यस्तै मान्छेका असीमित आवश्यकता पुरा गर्न आफ्नो समय लगाउँछ तर उसले गर्न खोजेको काममा गर्न सक्दैन, त्यो विषयलाई मैले देखाउने कोसिस गरेको छु ।’
विनिता बुद्धाचार्य र शर्मिला श्रेष्ठले ‘बाटोको साथी’ शीर्षकमा जुत्ता र चप्पलसँग मानवीय सम्बन्धलाई देखाएका छन् । महेन्द्र खडकाले समयको परिवर्तनलाई भिडियो आर्टमार्फत देखाएका छन् । दिपा श्रेष्ठले सांस्कृतिक विविधतालाई जुत्ताका माध्यमबाट प्रस्तुत गरेकी छन् । पवन जोशीले छातामा आधारित रहेर पुरानो र नयाँबीच संयोजन गरी तस्वीरमार्फत आफ्नो कला देखाएका छन् । मनिष पौडेलले फोहोरमा पनि सुन्दरता हुन्छ भन्ने विषयलाई तस्वीरका माध्यमबाट देखाएका छन् ।

_MG_8846
किरण महर्जनले नेपाली राजनैतिक इतिहासलाई साइन्स फिक्सन नोवेलमा रुपान्तरण गरेका छन् । कलाकार सुवास तामांग, मेख लिम्बु, सिर्जना राजबाहक र इन्जिनियर विनोद पंगेनीले सेन्सरबाट चल्ने सारंगीमार्फत गन्र्धव जाति र सारंगीलाई देखाएका छन् । अमृत कार्की र पुजनले ‘मिमोसा प्लान्ट’ बाट प्रेरणा लिएर प्रविधिको मद्दतले कलाका प्रस्तुत गरेका छन् । महिमा सिंह, अस्मिता अधिकारी र रोशन थापाले ‘शान्ति पोखरी’ को निर्माण गरेका छन् । अर्का कलाकार प्रकाश रञ्जितले यन्त्रको छातामाथि भएको शोधमा आधारित रहेर प्रतिस्थापन कला पस्केका छन् । त्यस्तै तीनजना बालबालिका श्रेयांस पराजुली, आरोग्य रिजाल, अभिनव खेम्का मिलेर छातालाई प्रयोग गरी ‘गृहकार्य’ शीर्षकमा भिडियो गेम तयार पारेका छन् ।

_MG_8338
प्रदर्शनीका क्यूरेटर निश्चल ओलीले भने, ‘यन्त्रको लागि कला, प्रविधि र विज्ञान चाँहि मिश्रण हुने ठाउँ धेरै छन् तर कमी कहाँ छ भने हाम्रो दृष्टिकोण र शिक्षामा रहेको छ । यो कमीको विषयलाई लिएर यन्त्रले कलाकार र इन्जिनियरसँग काम गर्दै आइरहेको छ । त्यही वार्षिक प्रगतिलाई प्रस्तुत गर्न यो प्रदर्शनी आयोजना गरिएको हो ।’ यन्त्र रचनात्मक व्यक्तित्व तथा प्रविधिविज्ञहरु बीच सशक्त संवादको माध्यमबाट अन्तरसंवादात्मक सहकार्यलाई प्रोत्साहन गर्ने एक मञ्च हो मार्फत आमदर्शकलाई कला र प्रविधिलाई चिनाउने कार्य गर्दै आएको ओलीले बताए । यो प्रदर्शनीको तयारी सेप्टेम्बरदेखि सुरु भएको थियो । प्रदर्शनी २१ पुससम्म रहनेछ ।

Comments