‘प्रेम साँच्चीकै प्रेमजस्तो होस्’
screennepal
प्रकाशित: २०८०, ११ माघ बिहीबार
no img

सानैदेखि नाच्न/गाउन रुचाउँथिन् उनी । त्यही रुची र रहरले मोडल बनिन् रितिका जिरेल । तर, पछिल्लो समय उनी गायनमा बढी सक्रिय छिन् । झण्डै एक दशक मोडलिङमा विताइसकेकी रितिका भन्छिन्, ‘गायन पनि मेरो रुचीकै विषय हो ।’ दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी रितिकाले अहिले गायनलाई बढी प्राथमिकता दिएकी छन् । कुनै समय ‘हट मोडल’को रुपमा चिनिएकी रित्तिकाले एक दर्जन बढी गाएकी छन् । तीमध्ये ‘जिमखानाको केटा खोजी देउ’, ‘मस्त जवानीको मात लाग्यो’, ‘कोही भन्छन् पोखरा’जस्ता गीत चर्चित छन् । दोलखाकी रितिका भन्छिन्, ‘प्रायः फास्ट ट्रयाक अर्थात आइटल गीतहरु गाउँछु, सुन्नचाहिँ सेन्टिमेन्टल रुचाउँछु ।’ केही फिल्ममा समेत अभिनय गरिसकेकी रितिका ब्युटिसियन पनि हुन् । मोडल तथा गायिका रितिका जिरेलसँग गरिएको कुराकानीको सम्पादित अंश

हिजोआज के गर्दै हुनुहुन्छ ?
मोडलिङका अलावा आफ्नो आफ्नो व्यवसायीमा व्यस्त छु । म ब्युटिसियन पनि हुँ । त्यसैले कलाकारितासँगै ब्युटि पार्लर पनि चलाइरहेकी छु ।

मोडलिङसँगै पार्लर चलाउन भ्याउनुहुन्छ ?
भ्याइरहेकी छु । मोडलिङमा सधैं व्यस्त भइँदैन । अर्को कुरा, पार्लरमा म मात्रै छैन । अरु पनि छन् । मोडलिङबाट फुर्सद भएको बेला पार्लरलाई समय दिने गरेकी छु ।

मोडलिङ क्षेत्रमा लाग्नुभएको कति भयो ?
१० वर्षभन्दा बढी भयो होला । स्कुले जीवन सकेर कलेज जोइन गरेपछि मोडलिङ गर्न सुरु गरेकी हुँ ।

मोडलिङ क्षेत्रमा लाग्ने प्रेरणा कसरी मिल्यो ?
म सानैदेखि नाच्न र गाउन रुचाउँथेँ । स्कुलका हरेक कार्यक्रममा नाच्ने र गाउने गर्दथेँ । नाचेपछि गाउने पनि इच्छा जाग्दोरहेछ । तर, गाउने रुची भएर पनि कलेज जोइन गरेपछि मोडलिङ रोजेँ ।

पहिलोपटक इच्छा पूरा गर्ने अवसर कसरी मिल्यो ?
मैले म्युजिक भिडियोमार्फत मोडलिङ सुरु गरेकी हुँ । स्कुले जीवनमा नाच्दै आएको हुनाले मलाई पहिलोपटक नै गायिका अञ्जु पन्त र स्वरुपराज आचार्यले गाएको ‘मैले तिमीलाई चिन्न सकिनँ’ बोलको गीतको भिडियोमा अफर आयो । भिडियो त्यो बेला राम्रो चल्यो ।त्यसपछि अरु पनि म्युजिक भिडियोहरुमा अफर आउन थाल्यो ।

अहिलेसम्म कति म्युजिक भिडियो गर्नुभयो ?
कति गरेँ भन्ने थाहै छैन । एक दशकको अवधिमा थप्रै म्युजिक भिडियोहरु गरेँ । सुरुका दिनमा दैनिकजसो भिडियोमा व्यस्त हुन्थेँ । गाउन थालेको त धेरै भएकै छैन ।

तपाइँ गीत पनि गाउनुहुन्छ है ?
गाउँछु नि । करिब चार वर्षयता मोडलिङसँगै गाउादै पनि आएकी छु । अहिले त मोडलिङलाई भन्दा गायनलाई प्राथमिकता दिएकी छु । चाँडै मेरो नयाँ गीत पनि आउँदैछ ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
पुग्यो एक दर्जन । तर, त्यसमा सबै गीत चलेन । केही गीत दर्शक तथा श्रोेताले रुचाए । जसले मलाई गायिकाको रुपमा चिनाएको छ ।

तपाइँ आफूलाई चिनाउनु पर्दा के भन्नुहुन्छ ?
मोडलका रुपमा त चिनिएकै छ्ु । यो दशकको उपलब्धी हो । अहिले आएरचाहिँ गीत पनि गाउने गरेकी छु भन्ने गरेकी छु, किनकि मोडलिङ भनेको एक समयका लागि मात्र हो । तर, गायन सदावहार हुन्छ । त्यसैले अहिले गायनलाई प्राथमिकता दिन थालेकी हुँ ।

बढीजसो ‘आइटम’ शैलीका गीत गाउनुहुन्छ, किन ?
मेरो स्वर सेन्टिमेन्टलमा म्याच हुँदैनन् भन्छन् । त्यसैले फास्ट ट्रयाकका गीतहरु बढी गाउँछु । म त सबै प्रकारका गीत गाउन रुचाउँछु । आइटम गीत बढी गाएपनि सुन्नचाहिँ सेन्टिमेन्टल नै सुन्छु ।

तपाइँको एउटा फोटासुट ‘ट्रोल’ बन्यो, सँगै विवादित पनि भयो । त्यो फोटोसुट केका लागि थियो ?
त्यो फोटोसुट सामान्य थियो । भल्गर पनि थिएन । बढ्दो सहरीकरणसँगै खेतीजन्य जग्गा मासिन थालेपछि त्यसलाई ब्यंग्य गर्न धानको बिउले शरीर छोपेर फोटोसुट गरेकी हुँ । तर, त्यो फोटोसुट ‘ट्रोल’ बन्यो र विवादित पनि भयो । मैले चर्चा वा कुनै फण्डा गर्न त्यो फोटोसुट गरेकी होइन ।

फेरि त्यही किसिमका फोटोसुटको अफर आयो भने गर्नुहुन्छ ?
गर्छु । अघि नै भने नि, त्यो फोटोसुट भल्गर थिएन, सामान्य थियो । सामाजिक चेनता र सन्देश बोकेको थियो, त्यो फोटोसुटले । समाजले नपच्ने भल्गर पो हुनु भएन ।

फिल्मका लागि अफरहरु आएको छैन ?
फिल्मका लागि अफरहरु नआएको होइन । केही फिल्ममा काम पनि गरेकी छु । तर, ती फिल्म चलेन । अझैपनि मलाई चित्त बुझ्दो विषयवस्तु समेटिएको फिल्ममा अफर आयो भने काम गर्न तयार छु ।

मोडलिङमा लागेर पछुत्तो लागेको कि छैन ?
आफ्नै रहर र इच्छाले मोडलिङ अँगालेकी हुँ । यो क्षेत्रमा लागेर रहरमात्र पूरा गरेकी छैन । नाम र पहिचान पनि बनाएकी छु । त्यसैले पछुत्तोभन्दा पनि खुसी छु ।

प्रेम प्रस्ताव कतिको आउँछ ?
एकजना केटी मान्छेलाई प्रेम प्रस्ताव आउनु नर्मल हो । आइरहेको हुन्छ । तर, मैले पनि प्रेम गरुँ जस्तो मान्छे भेटेकी नै छैन ।

तपाइँले प्रेम गर्ने पुरुष कस्तो हुनुपर्छ ?
प्रेम भनेको मनैदेखि हुनुपर्छ । एक जनाले मात्र गरेर हुँदैन । आज माया गरेजस्तो गर्ने अनि एक दुई दिनमा घात गर्ने व्यक्ति मन पर्दैन । प्रेम साँच्चीकै प्रेम जस्तो होस्, जसले यी कुराको मनन गर्छ, उसलाई प्रेम गर्छु ।

Comments