मुम्बई । बलिउड अभिनेता सलमान खानको पछिल्लो महत्वकांक्षी फिल्म ‘बजरंगी भाईजान’ले रिलिजको पहिलो दिन ४० करोडको व्यापार गरेको छ । ईदको अवसरमा शुक्रबार रिलिज गरिएको यो फिल्म ब्लकबस्टर मानिएको थियो । जसका कारण अरु कुनै ठूलो बजेटका फिल्म जुधाइएन । तैपनि सोचेजस्तो भने व्यापार गर्न सकेन । ‘अघिल्लो शुक्रबार रिजिल भएको फिल्म ‘बाहुबली’ले व्यापारमा तमासा देखाइरहेको अवस्थामा रिलिज भएको ‘बजरंगी भाईजान’ले यसका अघिका सलमानकै फिल्मको रेकर्ड भने तोडेको छ । सलमानकै ‘बडीगार्ड’ (२०११) को ईदमा रिलिज गर्दा पहिलो दिन २२ करोडको व्यापार गरेका थियो भने ‘एक था टाइगर’ ले ३३ करोड रुपैयाँको व्यापार गरेको थियो । र, यस फिल्मले पहिलो दिनको व्यापारले ‘किक’को रेकर्ड पनि तोडेको छ ।
त्यस्तै, गत वर्ष अभिनेता शाहरुख खानको फिल्म ‘ह्यापी न्यू ईयर’ ले रिलिजको पहिलो दिन ४४ करोड कमाएको थियो भने आमिर खानको ‘पीके’ ले पनि ओपनिङ व्यापार राम्रो गरेका थिएन । तर, राजु हीरानीको फिल्म भएकाले लामो समय सिनेमाघरमा रहेको थियो । अहिले सलमानको ‘बजरंगी भाईजान’ को राम्रो प्रदर्शनको कारण उनको इन्डस्ट्रीका भएको फ्यान फ्लोइङ र सिनेमाघरको संख्यालाई मानिएको छ । करिब यो साताभरीका लागि मुख्यमुख्य सहरका सिनेमा हलमा टिकट बुकिङ भइसकेकाले यो फिल्मले सलमानको अहिलेसम्मका सबै फिल्मको रेकर्ड तोड्न सक्ने समीक्षकहरुले अनुमान गरेका छन् ।