काठमाडौं । अहिलेकी चर्चित गायिका पवित्रा सर्तुगी मगरको नयाँ गीत ‘ए कान्छा’ सार्वजनिक भएको छ । हालै सार्वजनिक गरिएको मर्मस्पर्शी यो गीत तथा भिडियोलाई युट्युबका औधी दर्शकले रुचाएका छन् ।
गायिका पवित्राकै अफिसियल युट्युब च्यानल ‘पवित्रा मगर’बाट सार्वजनिक गरिएको यस गीतमा शब्द र संगीत गायिका सयंमको रहेको छ ।
गाउँले परिवेश तथा लाहुरे जीवनको प्रेमकथा चित्रण गरिएको यस गीतको भिडियोमा सरोज प्रजा र कृष्णा राना मगरले अभिनय गरेका छन् । यस भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशनमा मौसम बेग्लै किसिमको छाप बनाएका छन् । यस भिडियोलाई पनि उनले कथानक बनाएका छन् ।
भिडियोमा नेपाली युवा भारतीय सेनामा भर्ती भएर युद्धको क्रममा ज्यान गुमाउँदा परिवारलाई पर्ने पीडाबोधलाई पनि देखाउन प्रयास निर्देशकले गरेका छन् ।
गायिका पवित्राको माधुर्य स्वर तथा संगीत, निर्देशक मौसमको कथानक प्रस्तुती र मोडलद्वयको सुहाउँदो केमेष्ट्रिले ‘ए कान्छा’ गीतको यो भिडियो उत्कृष्ट बनेको छ ।
विवेक विकको सिनेग्राफी तथा नविन घर्ती मगरको सम्पादन एवं कलरिङ रहेको यस भिडियोलाई एड्भेन्चर इन्टरटेनमेन्टमार्फत निर्माण गरिएको हो । गायिका पवित्राको यसअघि ‘न्याउलीसँगै रुन्छ मन’, ‘लाहुरे युकेको’, ‘ठूली’जस्ता दर्जनभन्दा बढी चर्चित गीत छन् ।