दिकीले सुनाइन् दर्जन गीत (भिडियो पनि हेर्नुस्)
screennepal
प्रकाशित: २०७१, ३ माघ शनिबार
no img

काठमाडौं । अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएकी गायिका दिकी उक्याब बिदाको समय उपयोग गर्न सधैँ नेपाल आउने गरेकी छन् । नेपाल आउँदा सांगीतिक गतिविधिमा पनि संलग्न हुन रुचाउने उनले शुक्रबार साँझ एकल प्रस्तुति पस्किन् । काठमाडौं थिएटर भिलेजमा आयोजित कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरु सुनाइन् । ‘मोमेन्ट विथ दिकी’ नाम दिइएको कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति थियो ।

dikky 1
दिकीले ‘उकालो ओरालो’, ‘के भएको’, ‘माया देऊ’, ‘जाउँ न जाउँ’ लगायत आफ्ना एक दर्जन चर्चित नेपाली गीत सुनाइन् । त्यसैगरी आफ्नै संगीत र शब्द रहेको एउटा अंग्रेजी र एउटा तिब्बतीयन गीत पनि सुनाएकी थिइन् । लगातार एक दर्जन गीत सुनाउँदा पनि स्रोताको मन नभरिएपछि उनले ‘वान्स मोर’लाई समेत सम्बोधन गरेर थप गीत सुनाइन् ।
दिकीलाई नेपाली गीत गाउन हौसला प्रदान गर्दै आएका संगीतकार न्हु बज्रचार्यले लाइभ म्युजिकमा प्रस्ुतति दिनु सजिलो कार्य नभएको बताए । उनले भने,‘दिकीमा संगीतमा डुब्ने क्षमता छ, त्यसैले लगातार गीत गाउन सकेकी हुन् ।’ धेरैले ट्र्याकमा गीत गाउने गरेको भएपनि दिकीले लाइभ म्युजिकमैँ प्रस्ुतति पस्किइन् । अमेरिकामा हुर्के बढेपनि नेपाली संगीतप्रति छोरीले देखाएको  लगावबाट आफू समेत प्रभावित भएको गायिका दिकीका वुवा तेन्जिङ उक्याबले बताए ।

dikky
नेपाल आउँदा सांगितिक कोसेली दिन रुचाउने दिकीले अघिल्लो वर्ष आर्मी अफिसर्स क्लमा कार्यक्रम गरेकी थिइन् । उनका पुर्खाको भूमि ताप्लेजुङको उत्तरी भेगमा रहेको अतिविकट गाउँ ओलाङचुङगोलाका घुन्सा, लोलेप, लुङयुङ, पापुङ र याङ्मा ६ वटा स्कुललाई सहयोग जुटाउन सोलो कन्सर्ट गरेकी हुन् । जसबाट जम्मा भएको रकम प्रत्येक गाउँका स्कुललाई रु ५० हजारका दरले वितरण गरेकी थिइन् ।
तीन वर्षअघि उनले नेपाली गीतहरु संग्रह ‘सिल्भर लाइनिङ’ ल्याएकी थिइन् । अमेरिका रहँदा पनि उनको सांगितिक यात्रा निरन्तर छ । गत अप्रिलमा मात्रै उनले तीनटा अँग्रेजी गीत समाहित गरेर ‘मेमोरिज’ सार्वजनिक गरिन् । जहाँ उनको स्वर मात्रै होइन, शब्द र संगीत पनि सुन्न पाइन्छ । उनले केही समयअघि मात्रै ‘नोथिङ टु लस’को भिडियो तयार पारेकी छिन् । न्युयोर्क फर्किनेबित्तिकै त्यो सार्वजनिक हुने उनले बताइन् ।
न्युयोर्कमा रहँदा उनले रुविन म्युजियम अफ हिमालयन आर्टस्ले आयोजना गर्ने कार्यक्रममा सहभागीता जनाएकी थिइन् । दक्षिण एसियाका आप्रवासीको ठूलो वार्षिक साँस्कृतिक कार्यक्रम ‘चटपटी मेला’मा उनले आफ्नो प्रस्ुतति पस्केकी छिन् । न्युयोर्कमैँ बाढीपीडितका सहयोगार्थ भएको ‘मेगा म्युजिक फेस्टिबल’मा पनि सहभागी भइन्, जहाँ नेपालका चर्चित कलाकार इन्दिरा जोशी, निमा रुम्बा, दिपक लिम्बू लगायतको पनि सहभागीता थियो । संगीतकार न्हु बज्राचार्य अमेरिका भ्रमणमा रहकाबेला उनीसँग पनि अकेष्ट्रिक पर्फाेमेन्स गरेकी थिइन् ।
नेपाली संस्कृति, भाषा, समुदाय र माटोलाई माया गर्ने दिकीलाई नेपाली गीत गाउने रहर सानैदेखि थियो । संगीतलाई निकै माया गर्ने वुवाआमा तेन्जिङ उक्याव र वसन्त पाख्रिनले सुन्ने गरेका गीतबाटै उनी नेपाली गीतसंगीतप्रति आकर्षित भएकी हुन् ।
उच्च शिक्षा अध्ययनका क्रममा पश्चिमा क्लासिकल संगीत पनि पढेकी उनी नेपाली संगीतमा पनि पोख्त छिन् । न्युयोर्कको एसयूएनआइ प्रर्चेज युनिभर्सिटीमा राजनीतिशास्त्र अध्ययन गरिरहेकी दिकीले चाँडै अर्काे एल्बम पनि ल्याउने तयारीमा छिन् । त्यसका केही गीत रेकर्ड भइसकेका छन् ।

Comments