नमस्ते छहरा : भूवनको संगीतमा अञ्जुको स्वर (लिरिकल भिडियो)
screennepal
प्रकाशित: २०७६, २३ फाल्गुन शुक्रबार
no img

गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको नयाँ गीत सार्वजनिक भएको छ । घनश्याम राईको शब्द रहेको ‘नमस्ते छहरा’ बोलको यस गीतमा चर्चित पाश्र्वगायिका अञ्जु पन्तको स्वर रहेको छ ।
धनकुटा जिल्ला र सुनसरीको सीमाना रहेको नमस्ते झरना पूर्वमा निकै चर्चित छ । गायक तथा संगीतकार भुवनको ‘नमस्ते छहरा’ गीत उक्त झरनाकै प्रचार केन्द्रित रहेको छ । यसअघि उनले धनकुटाकै भेडेटारको बारेमा गीत गाएका थिए । भुवनले पछिल्लो समय पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने किसिमका गीतहरु गाउँदै र सिर्जना गर्दै आएका छन् । ‘नमस्ते झरना’ भेडेटारबाट नजिकै रहेको पर्यटकीय स्थल हो । यो क्षेत्र धरान र धनकुटा आसपासका लागि पिकनिक स्थलका रुपमा समेत परिचित छ ।
भुवनको हालै सार्वजनिक ‘नमस्ते छहरा’मा पूर्वका सुन्दर झरना र छहराहरुको सुन्दरतालाई समेटेका छन् । यस गीतमा संगीत संयोजन देवेन्द्र नेवाले गरेका छन् ।
हाल अमेरिकामा रहेका गायक भुवनले सयौँ गीतमा स्वर तथा संगीत गरिसकेका छन् । त्यसमध्ये एक दर्जन जति पर्यटकीय गीत रहेका छन् । उनले इलाम, भेडेटार, गोरखाको बाराकलगायतका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने हेतुले गीत गाइसकेका छन् । यो पछिल्लो ‘नमस्ते छहरा’ बोलको पर्यटकीय गीतको लिरिकल भिडियोलाई उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

Comments