विदेशिनुको पीडामा ‘सेतो साडी’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, २ पुष सोमबार
no img

गीतकार जितेन्द्र बानियाँको सेतो साडी सार्वजनिक भएको छ । संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीको सभापतित्वमा आयोजित कार्यक्रममा राष्ट्रिगानका रचयिता ब्याकुल माइलाले सेतो साडीको सार्वजनिक गरे ।
गीतकार जितेन्द्र बानियाँले १० वर्ष कोरियामा बस्दा भोगेका घटनाक्रमलाई गीतमार्फत् उतारेको बताए । घरको नाजुक अवस्थालाई लिएर विदेश पलायन हुनेहरुको बीचबाट रातो बाकसमा फर्किनेहरुको ताँती र घरमा उसको आशामा भर परिरहेका परिवारका सदस्यहरुको सपनासँगै सेतो साडीमा परिणत भएकी प्रियसीको कथालाई जितेन्द्रले गीतमा उतारेका छन् ।
कार्यक्रममा उनले भने, ‘आफूले भोगेको घटनाक्रमले मेरो साहित्यिक मनलाई आकर्षित गरेको हो ।’
कार्यक्रममा राष्ट्रगानका रचयिता माइलाले मुलुकमा लाहुर जानेहरुदेखि अहिलेको वैदेशिक रोजगारसम्मको पीडाले युवापुस्तामा जरो गाडेको बताउँदै आफू मातृभूमि छाडेर विदेश नजाने अठोट लिएको बताए । दूधकोशीको किनारको माटो समाउँदै आफूले रोजगारीका लागि विदेश नजाने कसम खाएको बताउँदै उनले सम्मान लिनका लागि मात्र पासपोर्ट बनाएर हङकङ गएको अनुभव सुनाए । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका छन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा सुरवीर पण्डित, सुनिशा बजगाईं र प्रविन केसीको अभिनय रहेको छ ।

Comments