‘ओपन सेक्रेट’ राजशुक्र
screennepal
प्रकाशित: २०७५, २२ भाद्र शुक्रबार
no img

नेपाली सांगीतिक क्षेत्रमा दुई दशकभन्दा धेरै भयो राजशुक्र लिम्बूको लगाव र मिहिनेत । मिहिनेतअनुसार प्रतिफल पनि पाएका छन् । तर, उनी सांगीतिक क्षेत्रको ‘भाइरल’ ट्रेण्डमा छैन् अर्थात उनी ‘ओपन सेक्रेट’ छन् । उनको काम गराइ ‘अन्डरग्राउड’ छ अर्थात मिडियाबाट ओझेल ।
राजशुक्रलाई ‘ओपन सेक्रेट’ संगीतकारभन्दा फरक पर्दैन किनकि उनी काममा व्यस्त छन् तर बाहिर खाशै चिनिँदैन । उनका सिर्जनाहरु बजारमा चर्चामा भएर पनि व्यक्ति ओझेलमै छन् ।
दुई दशकअघि गायकका रुपमा सांगीतिक क्षेत्रमा देखिएका राजशुक्र पछिल्लो समयका व्यस्त संगीतकार हुन् । तडक–भडक गर्न नजान्ने भएकाले पनि राजशुक्र मिडियाको आँखामा पर्न सकेका छैनन् । उनी भन्छन्, ‘खै काम गरेपछि मिडियामा आउनुपर्ने रहेछ । तर, कसरी आउँने ?’ मलाई मिडियासमक्ष जाने आइडिया नै भएन ।’


सयौँ“ गीतका गायक तथा संगीतकार राजशुक्रको यी कुरा सुन्दा धेरैलाई पत्यार नलाग्ला किनकि, यहाँ“ नेपाली गीतसंगीत क्षेत्रमा एउटा गीत गाएर आफूलाई ‘चर्चित गायक अथवा संगीतकार’ भन्दै विभिन्न व्यक्ति पिच्छे खोलएका यु–ट्युब च्यानलमा अन्तर्वाता दिने जमाना छ । यस्तो अवस्थामा राजशुक्रजस्ता कुसल गायक तथा संगीतकारहरु भने सञ्जाल होइन नयाँ जमानाको जंघारमा हराइरहेको आभाष हुन्छ ।
पुर्वी नेपालको धुनकुटा जिल्लाबाटै गीतसंगीतको सुनौलो सपना र भविष्य लिएर राजधानीको कोलाहलमा मिसिएका राजशुक्र २०६० सालदेखि निरन्तर यसै क्षेत्रमा सक्रिय छन् । उतिखरै पुर्वेली लोकगीतमा तहल्का मच्चाएका राजशुक्र पछिल्लो समय संगीत सिर्जनामा हराएका छन् ।
‘सम्झना राख’, ‘हुर्रा हाहा’, ‘धानै नाचाँ’जस्ता दजैनाँ पुर्वेली लोकगीत गाएर दर्शक तथा श्रोताको मन–मुटुमा बस्न सफल भएपछि गीतसंगीतलाई व्यवसायिक बनाएका उनी भन्छन्, ‘मलाई त्योबेला र अहिले उस्तै लाग्छ । जुन बेला मैले गायन अँगाले, त्यो समयमा अहिलेजस्तो मिडियाको बाढी थिएन । अहिले त अनलाइन तथा शोसल मिडियाको बाढी नै छ । तर, मलाई भाइरल बनाउन आएन ।’
त्यसो त ‘भाइरल’ हुनेहरु लामो समय टिकेको उदाहरणसमेत छैन । राजशुक्रको भनाइमा ‘चर्चा’ र ‘भाइरल’ हुनु भनेको ‘खहरेमा साउने भेल’ उर्लेजस्तै हो । त्यो आज हुन्छ भोलि हुन्न ।


गायन र संगीत सिर्जनासँगै ‘मनोरञ्जन नेपाल’ नामक यु–ट्युब च्यानल खोलेर संगीतको व्यवसायिक समेत गर्दै आएका राजशुक्र भन्छन्, ‘आफूमात्र नभएर प्रतिभा भएका कलाकारलाई प्लेटफर्म दिन च्यानल खोजेको हुँ । त्यो पनि समयलाई पछ्याउँ भनेरमात्र । यसभन्दा पहिले नै भिक्टोरिया म्युजिक प्रालि खोलेर संगीतको व्यवसायिक गर्दै आएको हुँ ।’
तर, उनको यु–ट्युब च्यानलमा अरुका जस्तो शिर्षक एकातिर अनि ‘कन्टेन्ट’ अर्कोतिर हुँदैन । उनले स्तरिय गीतसंगीत र प्रतिभा भएका कलाकारलाई मात्र आफ्नो च्यानलमा स्थान दिँदै आएका छन् । राजशुक्र भन्छन्, ‘दर्शक तथा श्रोतालाई झुक्याउन कन्टेन्टसँग मेल नखाने सामग्री अपलोड गर्ने चलन बढेको छ । त्यसो गर्नु मिडियाविपरीत कार्य हो ।’
सांगीतिक यात्राको दौरानमा राजशुक्रले देशका अधिकांश गायक/गायिकासँग काम गरेका छन् । मेगास्टार राजेशपायल राई, अञ्जु पन्त, प्रमोद खरेल, शिव परियारदेखि लिएर पछिल्लो समय उदाएकी मेलिना राईसम्मले राजशुक्रको संगीतमा गाइसकेका छन् । उनीहरुले गाएका अधिकांश गीत चर्चित र लोकप्रिय छन् ।
अञ्जुले गाएको ‘हिजो जति माया’, ‘शंका नगर’ होस् वा गायक शिव परियारले गाएको ‘चोट दिई’ नै किन नहोस्, सबै दर्शक श्रोताले अत्याधिक रुचाएका छन् । पछिल्लो समय राजशुक्रको संगीतमा राजेशपायलले गाएको ‘परिवार ठुँगा ठुँग’ चर्चामा छ ।

Comments