स्रष्टा र सिर्जनामा अनिता
screennepal
प्रकाशित: २०७५, २२ भाद्र शुक्रबार
no img

सांस्कृतिक संस्थानले हरेक महिनाको अन्तिम बिहीबार गर्दै आएको ‘स्रष्टा र सिर्जना’ शृंखलामा यसपटक कवि अनिता लामा प्रस्तुत भइन् । बिहीबार संस्थानको मिनी हलमा आयोजित एकल वाचन शृंखलामा उनले समसामयिक सन्दर्भका एक दर्जन कविता सुनाइन् । ‘अनुराग’, ‘अर्पण’ र ‘आतुङ’ गरी तीनवटा कविता कृति ल्याइसकेकी उनले ‘सलाम आदरणीय आमाबुबा’ शीर्षकको कविताबाट वाचन थालिन् । सन्तान र आमा–बुबाबीचको सम्बन्धको सौन्दर्य बखान गरिएको सिर्जनापछि उनले वैदेशिक रोजगारीको तीतो यथार्थ समेटिएको ‘स्वस्थानी साङ्गे’, भिडियो कल’, तराईको गरिबी समेटिएको ‘मुसुरिया’, राष्ट्रियता र सीमा सन्दर्भको ‘आऊ बरु लास बनौं’ कविता सुनाइन् ।
आफ्नो पेसागत धर्म छाडेर राजनीति गर्ने चिकित्सकहरुमाथि उनले ‘डाक्टरहरु’ कवितामार्फत व्यंग्य कसिन् भने ‘विद्यार्थी’ शीर्षकको कवितामा वर्ग विभेदको कुरा उठाइन् । त्यसपछि उनले ‘संयुक्तता’, ‘संकल्प’, ‘बिर्खबहादुर माझी’, जस्ता कविता सुनाइन् । नारीवादी चेतना समेटिएको ‘पाठेघर’ कविता वाचनमा उनलाई रंगकर्मी रोजिता बुद्धाचार्यले सघाइन् भने केही छोटा कविताहरु कवि फूलमान वलले सुनाए । कविता सुनिसकेपछि साहित्यकार एवं पूर्वमन्त्री प्रदीप नेपालले ‘कविहरुले अब संघीयता र नया“ नेपालको कविता लेख्नुपर्ने’ सुझाए । वाचित कवितामाथि समीक्षा गर्दै युवा समालोचक रमेश शुभेच्छुकले अनिताको कवितामा निम्नवर्गीय पक्षधरतास“गै नारीवादी चेतना, राष्ट्रप्रेमजस्ता पक्षहरु सशक्त रहेको दाबी गरे । अनिताको व्यक्तित्व र कृतित्वबारे गायिका एवं पूर्व सभासद मधु गुरुङ, कवि वासुदेव अधिकारी, साहित्यकार राम विनय लगायतले चर्चा गरे । गुरुङले विभिन्न सामाजिक अभियानहरु स“गस“गै साहित्यिक सिर्जनामा पनि अनिताले छलाङ मार्दै गएको बताइन् ।

Comments