‘नेपाली क्यारिकेचर’बारे कार्यपत्र प्रस्तुत
screennepal
प्रकाशित: २०७५, ६ जेष्ठ आईतवार
no img

काठमाडौं, ६ जेठ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा ‘नेपाली क्यारिकेचर २०७५’ कार्यपत्र प्रस्तुत तथा कार्यशाला नेपाल आर्ट काउन्सिलमा भएको छ ।
कार्यशालामा ‘क्यारिकेचरको विकास र नेपालमा यसको अवस्था’ विषयमा केशव राज खनालले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा कार्टुनको विकास भएको आठ दशक भएको बताए । उनले भने, ‘नेपाली कला क्षेत्रमा व्यंग्यचित्र लोकप्रिय विधा हो ।
चित्रकलाका आधारभूत कुरालाई आत्मसात् गरी समय परिस्थिति र शैली अनुरूप तिनै आधारभूत तत्वलाई तोडमोड गरी व्यंग्यचित्रको रचना गरिन्छ । नेपाली व्यंग्यचित्र इतिहासदेखि हालसम्म आइपुग्दा निकै परिष्कृत, परिमार्जित भई अगाडि बढिरहेको छ ।’
त्यस्तै क्यारिकेचर र प्रविधि’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै कार्टुनिस्ट क्लबका सचिव योगश कुमार खपांगीले भने, ‘प्रविधि र ज्ञानको उचित संयोजनबाट नै राम्रो र प्रभावकारी क्यारिकेचर बनाउन सकिन्छ ।’ क्यारिकेचरले मानिसमा सशक्त प्रभाव छोड्ने हुनाले कलाकारले यसमा सीप, ज्ञान र धैर्यता लिनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा अग्रज कलाकार तथा कार्टुनिस्ट क्लबका संस्थापक अशोकमान सिंहले पछिल्लो समय प्रविधिको विकासले कार्टुन तथा क्यारिकेचर बनाउन निकै सघाउँ पुगेको बताए । उनले भने, ‘प्रविधिलाई समुचित रुपमा प्रयोग गर्न सकिए त्यसले उचित र प्रभावकारी छाप छोड्न सक्ने अवस्था आएको छ ।’
‘क्यारिकेचर विगतदेखि वर्तमानसम्म’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै क्लबका अध्यक्ष अविन श्रेष्ठले समाजलाई झक्झकाउने विधाको रुपमा कार्टुनलाई लिए पनि नेपालमा यसले जति फड्को मार्नुपर्ने हो त्यो हुन नसकेको बताए । उनले भने, ‘विश्वमा क्यारिकेचरले प्रविधिसँगै निकै गतिशील ढंगले अगाडि बढे पनि नेपालमा भने सपेक्षित रुपमा बढ्न सकेकौ छैन ।’ उनले क्यारिकेचरले व्यक्तित्व झल्काउन सक्नुपर्दछ । यसमा नेपाली कार्टुनिस्टले अझै मिहिनेत गर्नुपर्दछ ।
प्रतिष्ठानका प्राज्ञ नारदमणि हार्तम्छालीले कार्टुनले सामाजिक रुपान्तरणमा प्रभावकारी ढंगले काम गर्न सकेको बताए । उनले भने, ‘समाजलाई झक्झकाउन र विकृति विसंगतिलाई सही ढंगले केलाउन सकेको छ ।’ अग्रज कलाकार तथा कार्टुनिस्ट शरद रञ्जितले कार्टुनलाई समय सापेक्ष रुपमा विकास गर्दै लैजानुपर्ने धारणा राखे । कार्यशाला पछि प्रतियोगितासहित प्रदर्शनी समेत राखिएको क्लबका उपाध्यक्ष वासु क्षितिजले जानकारी दिए ।

 

Comments