यात्रीको नाटक संग्रह ‘द एसेन्ट अफ पेन’
screennepal
प्रकाशित: २०७५, २५ बैशाख मंगलवार
no img

काठमाडौं, २५ बैशाख । नाट्यकर्मी एवं नाटककार कृष्ण शाह यात्रीको नाटकसङ्ग्रह ‘द एसेन्ट अफ पेन’ प्रकाशित भएको छ ।

पुस्तकको शीर्ष नाटक ‘द एसेन्ट अफ पेन’ त्रिभुवन विश्वविद्यालयको बीए र बीएड प्रथम वर्षको अनिवार्य नेपाली विषयको पाठ्यक्रममा ‘पीडा आरोहण’ शीर्षकमा पढाइ हुँदै आइरहेको छ ।

विभिन्न समयमा लेखिएका यात्रीका छानिएका प्रतिनिधि नाटकहरुलाई एउटै पुस्तकमा राखेर अंग्रेजीमा प्रकाशित गरिएको हो । यस पुस्तकमा ‘द कोल्ड बुद्धज् फ्रम बामियान’, ‘इन्भिजिवल इन्साइड’, ‘द अन्फिनिस्ड एपिसोड’, ‘द सेन्ट्रल क्यारेक्टर’, ‘एन अनआइडेन्टिफाइड प्ले’, ‘एज मेसिन’, ‘वेड नंवर सेभेन्टिन’, ‘द नाइट’ लगायतका नाटकहरू सङ्गृहीत छन् ।

कृष्ण शाह यात्रीका यस अघि ६ नाटकसङ्ग्रह, ६ बालनाटकसङ्ग्रह, ३ लघुकथासंग्रह,  ६ नाट्य शोध÷समालोचना र दुई दर्जन बालसाहित्यका पुस्तकहरु प्रकाशित भईसकेका छन् ।

‘द एसेन्ट अफ पेन’ मा रहेका नाटकहरूले मिथक, विज्ञान, मनोविज्ञान, आध्यात्म, मानवता लगायतका  विषयलाई समेटेको छ ।

विश्वजनिन परिवेशका समसामयिक घटना र पृथक पात्रहरू पनि नाटकमा देखिएका छन् । प्रयोगवादी नाटकमा कलम चलाउँदै आइरहेका यात्रीले यस पुस्तकको कतिपय नाटकमा मिथकको विनिर्माण पनि गरेका छन् ।

आमसञ्चार विषय अन्तर्गत अहिले नाट्यशास्त्रमा विद्यावारिधि गरिरहेका कृष्ण शाह यात्रीले नेपाली नाटकलाई अन्तराष्ट्रिय साहित्यसँग जोड्नका लागि समेत अङ्ग्रेजीमा नाटकको पुस्तक निकाल्ने सुरुवात गरेको बताउँछन् । उनी आफ्ना अरु नाटकलाई पनि अंग्रेजीमा प्रकाशित गर्ने तयारी भइरहेको बताउँछन् । यात्रीको ‘द एसेन्ट अफ पेन’ नाट्य कृतिमा महेश पौड्यालको अनुवाद, देव कोइमीको आवरण डिजाइन, सागर शङ्करको फोटोग्राफी रहेको छ ।

अमेजनले प्रकाशित गरेको यस पुस्तकलाई अमेजन डटकमले बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, इटली, जर्मन, जापान, भारत लगायतका देशहरुमा समेत मुद्रण गरी बिक्री वितरण गरिरहेको छ ।

नाटककार यात्रीले यस पुस्तकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउँछन् । द एसेन्ट अफ पेन’ पुस्तक १८८ पृृष्ठको रहेको छ ।

 

Comments