राष्ट्रपतिद्वारा बस्ती हस्तान्तरण : ११५ दिनमा बन्यो यी सुन्दर घर !
screennepal
प्रकाशित: २०७४, २३ माघ मंगलवार
no img

रौतहट, २३ माघ । रौतहटको सन्तपुरस्थित मुसहर बस्तीमा मंगलबार छुट्टै रौनक थियो । बर्षौदेखि छाप्रोमा बस्दै आएका त्यहाँका दलित समुदायको ओठमा खुसीको मुस्कान देखियो । जहाँ ४७ घरपरिवारले नयाँ घर सम्हादैथिए ।
हो, धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेकोे ‘सन्तपुर एकीकृत नमूना बस्ती’का सुन्दर घरहरु मंगलबार त्यहाँका ४७ माझी परिवारलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा निर्मित नमूना दलित बस्तीको अवलोकन गर्नुहुँदै ।

चन्द्रपुर नगरपालिका–८ स्थित एक विशेष समारोहबीच सन्तपुर एकीकृत नमूना बस्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्दै साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई हस्तान्तरण गरिन् । त्यसपछि त्यहाँका माझी परिवारले ती घरमा बस्न पाउने भएका हुन् ।

नमूना बस्ती ।

गत साउनमा आएको बाढीका कारण उत्तःm माझी बस्ती डुबानमा परी घरबारविहिन भएका थिए ।
प्रत्येक वर्ष साउने बाढीले कमजोर घर भत्काउने र घरबारविहिन हुने अवस्था रहँदै आएको उक्त बस्तीको समस्यालाई सावधान गर्न पक्की सुन्दर नमूना बस्तीले केही हदसम्म पूरा गरेको गर्ने अपेक्षा गरिएको छ ।

धुर्मुस–सुन्तलीसँग राष्ट्रपति ।

फाउन्डेशनले करिब ५ करोड ९५ लाखको लागतमा निर्माण गरेको सो बस्ती निर्माण फाउन्डेशनका अध्यक्ष तथा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ गत असोज २८ गतेदेखि त्यही बसेर आफँै खटेर निर्माण कार्यमा खटिएका थिए । बस्ती हस्तान्तरणपछि धुर्मुसले भने, ‘दशैँ, तिहार, छठ नभनी परिवारको कुनै परबाह नगरी बस्ती निर्माणमा लागेको देख्दा म धेरैपटक भक्कानिएकोे थिएँ । २६१ कामदार दिनरात घामपानी केही नभनी काम गरेर ११५ दिनमा बस्ती निर्माण सफल भयो, यो निकै खुशीको दिन हो ।’ एकीकृत बस्तीका घरहरु निकै सुन्दर छन् ।

कलाकार कट्टेल र कुञ्जना घिमिरेको पहलमा देश विदेशबाट आर्थिक संंकलन गरी बनाएका भूकम्प प्रतिरोधात्मकका साथै सुविधा सम्पन्न तरिकाले निर्माण गरिएको छ । नमूना बस्तीमा ४७ घर, एक सामुदायिक भवन, मन्दिर, क्लब, दृश्यावलोकन स्तम्भ छ ।
नमूना एकीकृत बस्तीको अवलोकनपछि राष्ट्रपति भण्डारीले भनिन्, ‘जनता आवास कार्यक्रममार्फत सरकारले नमूना बस्ती बनाउने कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ ।
धुर्मुस–सुन्तली फाउन्डेशनजस्ता निजीस्तरबाट भएका प्रयासलाई पनि राज्यले सहयोग गर्नुपर्छ, नमूना बस्ती निर्माण ज्यादै ठूलो र अतुलनीय काम हो ।’


राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले सरकारका तर्फबाट भूकम्पपश्चात घर निर्माण हुने काम प्राधिकरणमार्फत भइरहेको र फाउन्डेशनसँग पनि एकीकृत नमूना बस्ती निर्माणमा भूकम्प प्रभावित जिल्लामा सहकार्य गरेर अघि बढ्ने सुनाए ।
फाउन्डेशनका सल्लाहकार कलाकार मदनकृष्ण श्रेष्ठले कला क्षेत्रका धुमुर्स र सुन्तलीले तोकिएको समयमा, तय गरेको बजेटमा सुन्दर बस्ती निर्माण गर्नु सानो कुरा नभएको भन्दै यस्तो पवित्र कार्यले कला क्षेत्रको नै प्रतिष्ठा बढाएको सुनाए । त्यस्तै, अर्का फाउन्डेशनका सल्लाहकार कलाकार हरिवंश आचार्यले पछाडि परेका बस्तीमा ब्यँुझिएर बस्ती निर्माण गर्ने सपना देखेको हुनाले सफल भएको भनाइ छ ।
फाउन्डेशनको चौथो परियोजनाअन्तर्गत डुबान पीडित तथा पछाडि परेका सन्तपुरका दलित माझी बस्तीमा नमूना बस्ती निर्माण गरिएको हो । त्यसअघि फाउन्डेशनले महोत्तरीको बर्दिबासको मुसहर बस्ती, काभ्रे पहरी बस्ती र सिन्धुपाल्चोकमा एकीकृत नमूना बस्ती निर्माण गर्ने काम सम्पन्न गरेको छ ।

 

Comments