कोहलपुरमा कला प्रशिक्षण
screennepal
प्रकाशित: २०७४, ९ माघ मंगलवार
no img

बाँके, ९ माघ । लोककलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीनदिने प्रशिक्षण, कार्यशाला तथा गोष्ठी मंगलबारदेखि सुरु भएको छ ।
कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहकार्य भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले लोक कला र साहित्य राष्ट्रको पहिचान भएकाले यसको विकासका लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘मौलिक कला र संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्न तयार छौं ।’
कार्यक्रममा प्रतिष्ठानका लोककला विभागका प्रमुख प्राज्ञ परिषद् सदस्य एससी सुमनले लोककलाका दृष्टिले दाङ, बर्दिया, बाँके, कपिलवस्तु लगायतका क्षेत्र उर्वर रहेकाले त्यसलाई राष्ट्रिय स्तरमा चिनाउन कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘स्थानीय लोककलाको विकासका लागि प्रतिष्ठानले देशैभर काम गरिरहेको छ ।’
पूर्णिमामार्फत कला साहित्यका विभिन्न कार्यक्रम गरिएको हाम्रो पूर्णिमा प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले बताए । उनले भने, ‘स्थानीय लोककलालाई प्रवद्र्धन गर्न प्रज्ञा प्रतिष्ठानसँग मिलेर आगामी दिनमा काम गर्नेछ ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मधु शाहीले नेपाली कलालाई समृद्ध बनाउन प्रशिक्षण, कार्यशाला तथा गोष्ठी महत्वपूर्ण हुने बताइन् । कार्यक्रमको सन्दर्भ पारेर लोककलाका क्षेत्रमा योगदान दिने डम्बरबहादुर चौधरी दाङ, विष्णु कुमाल बाँके र रामदयाल ठाकुर कपिलवस्तुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा ललितकला पत्रकार समाजका कार्यसमिति सदस्य विनिता मरहट्टा, इन्द्रराज पौडेल, विष्णु वेल्वासे लगायतले मन्तव्य राखेका थिए ।

Comments