आज माघे संक्रान्ति : देवघाटमा भक्तजनको घुइँचो
screennepal
प्रकाशित: २०७४, १ माघ सोमबार
no img

काठमाडौं, १ माघ । धार्मिक तथा पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा माघे संक्रान्ति मेलामा भक्तजनको घुइँचो लागेको छ । मकर मेलाका लागि विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर स्नान गर्ने र पूजाआजा गर्नेक्रम बिहान ४ बजेदेखि नै शुरु भएको हो ।
देवघाटमा स्नानगरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए । आइतबार आएका भक्तजन रातभर भजनकीर्तनसहित धुनी लगाई जाग्राम बसेर आज बिहान ४ बजेदेखि नै गंगामा नुहाइ पूजाआजामा सक्रिय छन् ।
परापूर्वकालदेखि नै देवघाटमा यो समयमा विशेष मेला लाग्दै आएको छ । आज दिनभर नै यहाँ मेला लाग्छ । नेपालकै महत्वपूर्ण धार्मिक तीर्थस्थलको गन्तव्य मानिने देवघाट भारतका हिन्दूको समेत मुख्य तीर्थस्थल बन्ने गरेको छ ।
देवघाट क्षेत्र विकास समितिले १५१ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरेर तयारी गरेको थियो । मेलामा आउने झक्तजनलाई सहजताका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । चिसो मौसम भएकाले भक्तजनलाई धुनीको व्यवस्थासमेत मिलाइएको छ ।
यस्तै स्वास्थ्य उपचार, शौचालय, स्नान स्थल व्यवस्थापन, विद्युत्, आकस्किम उद्धार तथा आवश्यक सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको छ ।
त्रिशूली र कालीगण्डकी नदीको संगम बेणीमा माघेसङ्क्रान्ति मेला लाग्छ । देवघाटमा देशका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आउने भएकाले सवारीको ठूलो चाप हुने हुँदा सवारी आवागमन र पार्किङका लागि विभिन्न स्थान तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले बताए ।

Comments