रोदीघरदेखि स्टुडियोसम्म : स्वास्थ्यकर्मी केशुको कौरा प्रेम !
screennepal
प्रकाशित: २०७४, २२ पुष शनिबार
no img

काठमाडौं, २२ पुस । भनिन्छ, ‘आफ्नो कला–संस्कृति भन्दा प्यारो केही हुन्न’, हुन पनि जहाँ वास्तविक पहिचान लुकेको छ । यो भनाई कला–साहित्यसँग प्रत्यक्ष जोडिन्छ किनकि कला र साहित्यमा संस्कृति पाइएन भने नुनविनाको तरकारी जस्तो खल्लो हुन्छ । प्रशंग, केशु गुरुङको हो, जो ‘कौरा गायिका’ भनेर चिनिन चाहन्छिन् भने त्यससँगै आफ्नो पहिचान सदैव जिवित रहने उनको विश्वास छ ।
पेसाले स्वास्थ्यकर्मी हुन् केशु । तर, उनी यतिमै सिमित छैनन् । यी कुसल स्वास्थ्यकर्मीसँग एउटा यस्तो अठोट छ । जसलाई हामीले सलाम गर्नेपर्छ । केशु भन्छिन्, ‘मलाई कौरा गाउन मनपर्छ किनकि, गुरुङ कला, संस्कृति र भेषभूषाप्रति मेरो अगाध प्रेम छ ।’ हो, केशु एक कुसल ‘कौरा गायिका’ बन्न चाहन्छिन् । गुरुङ जाती तथा समुदायको पहिचान र संस्कृति उजागर गर्ने कौरा गीतबाटै गायनमा श्रीगणेश गरेकी केशु भन्छिन्, ‘यो प्रयास मेरो निरन्तर जारी रहने छ ।’


तनहुँ, बन्दीपुरको धरमपानीकी केशु करिब ६ वर्षयता एक गैरसरकारी संस्थामा आवद्ध छिन् । दमौलीस्थित कम्युनिटी सर्पोट गु्रप नामक संस्थामा स्वास्थ्य ‘केस मेनेजर’का रुपमा कार्यरत केशु भन्छिन्, ‘कार्यलयको व्यस्तताका बाबजुद रहर र इच्छा पनि पूरा गर्दै आएकी छु ।’ उनी कार्यरत उक्त गैरसरकारी संस्थाले एचआईभी एड्स संक्रमितबारे अध्ययन र स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । उनका अनुसार सो संस्थाले गाउँगाउँमा गएर संक्रमितको खोजी र उपचार गर्दै आएको छ ।
यसरी स्वास्थ्य सेवाजस्तो संवेदनशील पेसामा रहेर पनि कल्चरल गायनमार्फत आफ्नो संस्कृतिलाई जिवित राख्न हरप्रयासरत उनी भन्छिन्, ‘पेसा त जेसुकै पनि हुनसक्छ । तर, आफ्नो कला–संस्कृतिको जर्गेना गर्नु कर्तव्य पनि त हो ।’ त्यस्तै, जसरी उनी सेवामूलक अर्थात समाजिक कार्य गर्दै आएकी छन् । त्यस्तै उनी गीत मार्मिक र मर्मस्पर्शी गाउँछिन् ।
करिब चार वर्षअघि अर्थात २०७० तिर आफ्नै शब्द रचनामा ‘आँशु तालमा…’जस्ता कौरा गाएर आफ्नो सांगीतिक लक्ष्यको गन्तव्य सुरुवात गरेकी केशुले अहिलेसम्म एक दर्जनभन्दा बढी कौरा गाइसकेकी छन् । उनले गाएका ती कौरामा गुरुङ कला–संस्कृति मात्र झल्किँदैन, जबकि, केशुका कौरामा मानवीय प्रेम, संवेदना र पीडा पनि पाइन्छ । त्यसैले केशुलाई चिन्ने र नजिकबाट नियाल्नेहरु भन्छन्, ‘केशु प्रेम, पीडा र खुसी एकैसाथ गाउँछिन् ।’
हुन त केशु कौरा भाकामा मात्र भावुक छैनन् । दिनरात विमारीको सेवामा खटिरहने उनी धेरैपटक रुएकी छन् किनकि, विमारीको पीडासँग उनी घुलिल्छिन् र आँश खसाल्छिन् ।’ हेर्दा बाहिरी आवरण जस्तै सुन्दर र सकरात्मक सोचकी केशु भन्छिन्, ‘मेरो मन कोमल छ । त्यसैले म चाँडो रुन्छु ।’
गीतसंगीत र उनी आवद्ध पेसाबारे कुरा गर्दैगर्दा उनले भनिन्, ‘मलाई जसरी रुवाउँछन, त्यसरी मैले अरुलाई पनि रुवाउँछु ।’ आफ्नो कोमल मनका र सुशील व्यवहारले रुने र रुवाउने कथाहरु आफ्नो जीवनसँग जोडिरहने केशुले सुनाइन् ।

https://www.youtube.com/watch?v=zjDEJ2Cgzck

अनौपचारिक कुराकानीकै क्रममा उनले बारम्बार एउटै प्रशंग जोडिरहिन् । त्यो हो, कौरा । ‘म त कौरा गायिका नै हुने हो’ केशुले भनिन्, ‘अनि मलाई पुर्वेली लोकगीत पनि गाउने मन छ ।’ पुर्वेली कला र संस्कृतिसँग नतमस्तक केशुले भनिन्, ‘निकट समयमै म पुर्वेली लोकगीत पनि गाउँदैछु ।’
हुन त उनी हरेक प्रकारका गीत गाउन सक्छिन् । तैपनि उनको प्राथमिकता र रुचि भने कौरा र लोक गीतमा केन्द्रित छ । केही गुरुङ भाषाका फिल्ममा समेत अभिनय गरिसकेकी केशुको सांगीतिक यात्राको शुभराम्भ पनि गाउँबाटै भएको हो ।
आफ्नो जन्मगाउँ धरमपानीमा सानो छँदा रोदीघरमा मादल र बाँसुरीको तालसँग कौरामा रमाएको क्षणलाई स्मरण गर्दै सांगीतिक यात्रा तय गरेकी हुन् । ‘त्यो क्षण कहाँ विर्सन सक्छु र’ गुरुङको बाहुल्यता भएको धरमपानीमा रोदीघरमा कौरा गाएको स्मरण गर्दै केशुले भनिन्, ‘त्यसैले पनि म भविष्यमा पनि कौरा गायिका भनेर चिनिने लक्ष्य लिएकी छु ।’

Comments