हार्दिक बधाई ! पोखराको बुद्ध बने प्रथम ‘नेपाल अाइडल’ | Screennepal

हार्दिक बधाई ! पोखराको बुद्ध बने प्रथम ‘नेपाल अाइडल’

काठमाडौ, ७ असोज । प्रथम ‘नेपाल आइडल’ पोखरा नयाँ बजारका बुद्ध लामा बनेका छन् । कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै बुद्धले नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन् ।
उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन् ।
यो जितसगै उनले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् ।
बुद्धलाई हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पुरस्कार प्रदान गरे । एपीवान टेलिभिजनबाट प्रसारित प्रतियोगितामा उर्लाबारी मोरङका निशान भट्टराई र झरुवारासी ललितपुरका प्रताप दास क्रमश: फस्ट र सेकेन्ड रनरअप भएका छन् । निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाए ।
फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पारे ।



Facebook Comment