कलाका कुरा : १७औं श्रृंखलामा डंगोलका कुरा
screennepal
प्रकाशित: २०७४, २६ भाद्र सोमबार
no img

ललितपुर, २६ भदौ । नेपाली कलाको विकासमा संस्थागत प्रयत्न हुनुपर्ने अग्रज कलाकार गोविन्दलाल सिंह डंगोलले बताएका छन् । आइतबार पुल्चोकस्थित पार्क ग्यालरीमा नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’ को १७औं श्रृंखलामा डंगोललाई प्रस्तुत ग¥यो ।
पार्क ग्यालरीमा डंगोलको एकल कला प्रदर्शनी चलिरहेको छ । सोही प्रदर्शनीको छेको पारेर डंगोलको कला यात्रा, शिक्षा क्षेत्रमा उनले गरेका काम र सिर्जनाका विविध आयामका बारेमा बहस गरिएको थियो । नेपाली कलामा योगदान पुर्याउने कलाकारलाई कलाका कुरामार्फत चिनाउनका लागि संवाद कार्यक्रम गरिएको समाजका सचिव मधु शाहीले बताइन् ।
सरकारी छात्रवृत्ति पाएपछि मुम्बईको जेजे स्कुल अफ आर्टस्बाट कलाको अध्ययन गरेका डंगोलले ३७ वर्ष ललितकला विषयको प्राध्यापनमा गरे । दुईपटक ललितकला क्याम्पसको प्रमुख भइसकेका डंगोलले चित्रका विभिन्न माध्यम र शैलीमा काम गरेका छन् । क्याम्पसको विकास र हितमा आफुले सक्दो प्रयत्न गरेको डंगोलले दावी गरे ।
उनले आधुनिक, समसामयिक, परम्परागत तथा वास शैलीमा समेत काम गरेका छन् । कलाको विकास र प्रवद्र्धनमा योजनागत रुपमा काम गर्नुपर्ने बताउँदै उनले भने, ‘नेपाली कलाको विकासमा कला शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । यसमा राज्य तथा सरोकारी संस्थाले ध्यान दिनुपर्छ ।’
नेपाली कलामा पश्चिमी कलाको प्रभाव बढी रहेको र नेपालको मौलिक कलाको विकासमा शिक्षा तथा अन्य क्षेत्रमा प्रवद्र्धनात्मक काम गर्नुपर्नेमा डंगोलले जोड दिए । उनले थपे, ‘देशका सबै प्रान्तमा कम्तिमा एउटा कलाको क्याम्पस स्थापना गर्न राज्यले पहल गर्नुपर्दछ । कलाको विकास विना हामी कसरी समृद्ध बन्न सक्छौं र ?’ डंगोलसँग समाजका महासचिव देवेन्द्र थुम्केलीले सहजीकरण गरेका थिए ।
‘डिभाइन फेरभोर एन्ड हिज अब्स्ट्राक्ट’ शीर्षकमा गरिएको प्रदर्शनीमा डंगोलले विभिन्न भावभंगीमा रहेका गणेशका चित्र राखेका छन् । आफु सानैदेखि गणेशको भक्त रहेकाले गणेशकै चित्र बनाएको डंगोलले बताए । मूर्त तथा अमूर्त गणेशमा कलाकारले आफ्नो मौलिक शैलीलाई प्रस्तुत गरेका छन् ।
कलामा समाज, संस्कृति, देश र पर्यावरणको सपाट कोलाज देखाउँदै सिर्जनाको नयाँ चौतारीमा डंगोलले आफुलाई उभ्याउँदै आएका छन् । उनले विशेषगरी गणेश बिम्बमा कला रचना गर्दै आएका छन् । उनका कलामा रङ विषयको प्रस्तुतिमा निकै कलात्मक रहेको पाइन्छ । रङको जादुमयी प्रस्तुति डंगोलको महत्वपूर्ण विशेषता रहेको छ । सांस्कृतिक सहअस्तित्व र आध्यात्मिक भाव उनका कलाका मुख्य आधार हुन् । प्रदर्शनी अक्टोबर १५ सम्म रहने डंगोलले बताए ।

 

Comments