८४ वर्षीय केजी रञ्जितसँग ‘कलाका कुरा’
screennepal
प्रकाशित: २०७३, १४ आश्विन शुक्रबार
no img

काठमाडौं/ नेपाल ललितकला पत्रकार समाज–सोफाजको आयोजनामा हरेक महिनाको दोस्रो बुधबार गरिदैँ आएको ‘कलाका कुरा’ को ११औं श्रृंखलामा अग्रज कलाकार केजी रञ्जित–८४, सँग छलफल गरिएको छ । नेक्सस कल्चर सेन्टर बखुण्डोलमा भएको सो कार्यक्रममा रञ्जितले आप्mनो कला यात्राका बारेमा बताए ।
नेपालमा दृश्य चित्रकारको परिचय बनाएका रञ्जितले सानै उमेरदेखि चित्रमा लगाव रहेको बताउँदै भने, ‘सानोमा अरु कसैले बनाएका चित्रको हप्तौंसम्म कपी गर्थे । दुरुस्तै बनाउन कोसिस गर्थे ।’ ३० वर्ष रोयल नेपाल वायुसेवा निगममा कलाकारी जागिर खाएका रञ्जितले ३ महिने माउन्टेन फ्लाइट गर्ने अवसर पाए । नेपाललाई चिनाउनका लागि हिमालको दृश्यसहितको परिचय पुस्तिका निकाल्ने निगमको योजना रहेको थियो । सो योजनालाई उनले साकार रुप दिन मिहिनेतपूर्वक काम गरे ।

keji-ramjit-screennepal
हिमालको हवाईयात्रा गर्ने अवसर पाएपछि रञ्जितले हिमाली दृश्यलाई समेत क्यानभासमा कैद गर्न थाले । हुन त पोखरामा जन्मेका कलाकार रञ्जित हिमालसँग सानैदेखि अभ्यस्त थिए । तर उनले हिमालको हवाई यात्रापछि त्यसलाई चित्रका रुपमा बनाउन थाले ।
उनले चित्रका सबै आयाम र पक्षमा आफुलाई उभ्याएको समेत बताए । यथार्थवादीदेखि अमूर्त कला रचना गरेको अनुभवमा रहेको छ । चित्रका साथसाथै मूर्ति पनि बनाएको उनले जनाए । कलाका विविध आयाममा जीवनका गतिशिल पाटालाई केलाउँदै रञ्जितले सयौं हजारौं भन्ज्याङ्गमा आफुलाई उभ्याएका छन् । ‘जीवन पनि रंगीन क्यानभास हो । म सधै यसमा रमाउने कोसिस गरिरहेको हुन्छु,’ उनले थपे ।
सो कार्यक्रममा नेपाल ललितकला समीक्षक समाजका अध्यक्ष रमेश खनालले रञ्जितका कला र उनको कला यात्राका बारेमा आफ्ना विचार राखेका थिए ।
नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले उनको कलामा देखिने शैली र विधिका बारेमा बोलेका थिए । कलाकार कौशल हमालले नेपाली कलामा रञ्जितको योगदानको चर्चा गर्दै कलाका विविध पक्षमाथि जिज्ञासा राखेका थिए ।
अहिले पनि दिनरात कलामै मग्न रञ्जितले आफुलाई चाहिने कलाका सामग्री समेत आफै तयार पार्ने बताए । ब्रस, नाइफ तथा अन्य आवश्यक सामग्री तयार गरी काम गर्दा आफुलाई सहज हुने र काम पनि राम्रो हुने बताए ।
नेपालका साथै विश्वका विभिन्न देशमा कला प्रदर्शनीमा सहभागी भएका उनले धुँवाबाट समेत क्यानभासमा चित्र बनाएका छन् । उनले धुँवाबाट बनाएका चित्रको प्रदर्शनी १५ वर्षअघि नै गरेका थिए । सो कार्यक्रमको सहजीकरण कलाकार तथा सोफाजका महासचिव देवेन्द्र थुम्केलीले गरेका थिए ।
तस्वीर सौजन्यः दिवेश प्रधान

Comments