‘एक्स्पेरिमेन्ट इन वाटरकलर’ शीर्षकमा कला कार्यशाला
screennepal
प्रकाशित: २०७३, ३० असार बिहीबार
no img

काठमाडौं, ३० असार । अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपाल च्याप्टरको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहयोगमा एक दिवसीय वाटरकलर कार्यशाला गरिएको छ । टोखा केब वाटर फन पार्कमा भएको सो कार्यशालाको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव नवराज भट्टले गरेका थिए । उनले नेपालमा जलरङमा चित्र बनाउने परम्परा निकै पुरानो भएपनि यसको प्रभावकारीता र अन्तर्राष्ट्रिय प्रभावमा काम हुन थालेको केही दशक रहेको बताए । उनले भने, ‘यो कार्यशालाले नेपालमा वाटरकलरमा चित्र बनाउने परम्परामा फरकपन आउने विश्वास लिन सकिन्छ ।’

IMG_20160713_180744
‘एक्स्पेरिमेन्ट इन वाटरकलर’ शीर्षकमा गरिएको सो कार्यशालामा अग्रज कलाकार केके कर्माचार्यले नेपालमा सिर्जनात्मक रुपमा वाटरकलरमा चित्र बनाउने गरी भएको कार्यशालाले नेपाली कलामा फरक र नयाँपन दिन सक्ने बताए । कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीले नेपालमा वाटर कलर भन्दा सबैले दृश्यचित्र या यथार्थपरक चित्र बनाउने भन्ने आम धारणा रहेको बताए । उनले थपे, ‘यस्ता कार्यशालाबाट जलरङी माध्यमबाट चित्र बनाउँदा सिर्जनात्मक पक्षमा केन्द्रीत रही उत्कृष्ट चित्र बनाउन सकिन्छ । साथै निकै प्रभावकारी माध्यमको रुपमा समेत जलरङलाई लिइन्छ । यसको पारदर्शीपन र त्यसको चित्रात्मक स्वाद पनि आनन्द दिने खालको हुन्छ ।’

IMG_20160713_180716
सो कार्यक्रममा सोसाइटीका नेपाल च्याप्टर अध्यक्ष एन बि गुरुङले जलरङ कार्यशालाले यस क्षेत्रमा प्रभाव पार्ने र अझ राम्रा र आकर्षक कलाकृति बनाउन सहयोग पुग्ने बताए । उनले भने, ‘नेपालमा नोभेम्बरमा अन्तर्राष्ट्रियस्तरको जलरङको प्रदर्शनी र कार्यशाला हुँदैछ । यसका लागि समेत यो कार्यशाला निकै प्रेरणादायिक हुने विश्वास लिन सकिन्छ ।’
त्यस्तै सोसाइटीका उपाध्यक्ष लालकाजी लामाले नेपालमा जलरङ माध्यममा कला बनाउने परम्परामा यस कार्यशालाले फरक आयाम बनाउने बताए । सो कार्यशालामा केके कर्माचार्य, जीवन राजोपाध्याय, सुरेन्द्र प्रधान, डि राम पाल्पाली, महेश आचार्य, देवेन्द्र थुम्केली, अशुराम खाईजु, कान्छाकाजी भासिमा, एससी सुमन, केशव राज खनाल, लालकाजी लामा, एनबि गुरुङ, रत्नकाजी शाक्य, नारायण लामिछाने, सिर्जन राजभण्डारी, अनिता खनाल, डि.बि. राई, रामपुजन ठाकुर, सुरेश स्याङतान्, इशान परियार, रमेश कुँवर, पक बहादुर थापा, नेम ब. गोले, विनोद गुप्ता, संगीता श्रेष्ठ, राजेन्द्र केसी, आवरण पौडेल, सुरेम देशार, जेनी नकर्मी, विनोद लिम्बू, राजु राई लगायतका कलाकार सहभागी रहेका छन् । कार्यशालामा तयार पारिएका चित्रको प्रदर्शनी केही समय पछाडि गरिने आयोजकले जनाए ।

Comments