बाबुरामको कलात्मक धरहरा !
screennepal
प्रकाशित: २०७३, ७ जेष्ठ शुक्रबार
no img

काठमाडौं । बाबुराम बस्ताकोटी ‘कस्केली’ को पहिलो एकल कला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा भइरहेको छ । गएको मंगलबार सुरु भएको ‘माई क्रियटिभ एप्रोच’ शीर्षकको सो कला प्रदर्शनीको उद्घाटन संस्कृति मन्त्री आनन्द पोखरेलले गरेका थिए । प्रदर्शनी भोली अर्थात् ८ गतेसम्म चल्नेछ ।

SAM_6298
पोखरामा रहेर कलाकर्म गर्दै आएका कलाकार कस्केलीले कपडामार्फत कलामा नयाँ प्रयोग गरेका छन् । कोलाज विधिमा तयार पारिएका कलामा उनले नेपालका प्राकृतिक, सांस्कृतिक तथा सामाजिक जीवनलाई कलात्मक रुपमा चित्रण गरेका छन् । रङ्गीन कपडाबाट बनेका कलामा उनले विषय यथार्थतासँगै मानवीय संस्कृतिका विविध आयामलाई दिन सकेका छन् ।
रङ र ब्रसको प्रयोग विना नै उनले क्यानभासमा कलात्मक जीवन भर्न सकेका छन् । उनले भूकम्पबाट ध्वस्त भएको धरहरालाई कलात्मक रुपमा रङ्गीन कपडाका टुक्रा जोडेर बनाएका छन् । त्यस्तै खेतमा काम गरिरहेका किसानलाई समेत उनले रङ्गीन कपडाका टुक्राबाठ निकै आकर्षक रुपमा पस्केका छन् ।
उनका कलाका बारेमा कलाकार तथा कलालेखक मदन चित्रकारले कस्केलीका कलामा जीवनका विभिन्न पाटोलाई कलात्मक रुपमा प्रस्तुत गर्न सफल रहेको बताए । चित्रकारले थपे, ‘भिन्न माध्यम र प्रस्तुतिले कलामा पृथक पहिचान बनाउन सक्नु वहाँको सफलता हो ।’
‘यो माध्यमबाट पनि कला बनाउन सकिन्छ भन्ने उद्देश्य र कलाकारले फरक ढंगबाट आफुलाई प्रस्तुत गर्दै त्यसमा आफ्नो मौलिक संस्कृतिलाई उजागर गर्न सकिन्छ भन्ने मान्यता राखेर कला रचना गरेको हुँ । त्यही कारणले मैले मेरा कलामा नेपाली समाज र संस्कृतिलाई कलामार्फत प्रस्तुत गरेको हुँ,’ कलाकार बाबुराम बस्ताकोटीले बताए ।
नेपाल कमर्शियल आर्टिष्ट संघको आयोजनामा भएको सो कार्यक्रममा दीपक कुँवरले कलाकार कस्केलीको कला यात्राका बारेमा बताएका थिए ।

Comments