नेपाली कार्टुनको एउटा कालखण्ड (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १४ फाल्गुन शुक्रबार
no img

काठमाडौं । नेपाली कार्टुनको इतिहास कस्तो थियो ? राजनीतिक परिवर्तनमा विभिन्न पक्षको भूमिका जस्तै कार्टुनको भूमिका कस्तो रहेको थियो ? कार्टुन क्षेत्रलाई यहाँसम्म ल्याइपु-याउँन क–कसले के–कति योगदान पु-याए ? यिनै विषय र पक्ष बुझन ‘नेपाली कार्टुनको एउटा कालखण्ड : २०४६ साल अघिका कार्टुन कार्टुनिस्ट’ शिर्षकमा कार्टुन प्रदर्शनी भयो । प्रदर्शनीको सन्दर्भ पारेर प्रदर्शनीमा राखिएका कार्टुनसहितको कार्टुनको नालीबेली समेटिएको पुस्तक विमोचनसमेत गरिएको छ ।

IMG_2518
कार्टुनिस्ट क्लव नेपालको आयोजनामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र तारागाउँ म्यूजियमको सहकार्यमा मंलबार बौद्ध, टुसालमा प्रदर्शनीको शुभारम्भ तथा पुस्तकको विमोचन गरिएको हो । विसं. १९९७ सालमा राणा शासनविरुद्ध नेपालका प्रसिद्ध कलाकार चन्द्रमानसिंह मास्केले बनाएको कार्टुनदेखि विसं २०४६ मा पंचायत व्यवस्थाको विरोधमा बनाएका कार्टुनहरूसम्म प्रदर्शित तथा प्रकाशित रहेको छ ।
प्रदर्शनीमा शशि शाह, कुलमानसिंह भण्डारी, दुर्गा बराल ‘वात्स्यायन’, रमेशनाथ पाण्डे, रामकुमार पाँडे, टेकविर मुखिया, खोकनालगायतले २०२५ सालअघि बनाएका कार्टुनसमेत प्रदर्शनीको आकर्षण रहेका छन् । उज्जवल कुन्दन ज्यापू, शरद रञ्जित, बलराम थापालगायतले पञ्चायती व्यवस्थाको समयमा बनाएका कार्टुनले नेपाली समाजको त्यसबेलाको अवस्थाको चित्रण गरेको पाइन्छ ।

IMG_2507
नेपाली छापामा व्यंग्यचित्र प्रकाशित गर्ने पत्रपत्रिकामा संयुक्त प्रयास, नयाँ सन्देश, मायालु, कलियुग, समीक्षा, उदय, जनप्रयास, नेपाली आवाज, साप्ताहिक मञ्च, मातृभूमि, राष्ट्र पुकार, आरती साप्ताहिक, रचना साहित्यिक पत्रिका, संरक्षक साप्ताहिक, जनज्योति, देशान्तर, सुरुचि, भाँडभैलो, हातेमालो, कामना, भद्रगोल, गोरखापत्र लगायतका पत्रपत्रिकामा प्रकाशित व्यंग्यचित्रलाई प्रदर्शनीमा राखिएको छ ।
क्लबका अध्यक्ष अविन श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा प्रतिष्ठानका वास्तु तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख नारदमणि हार्तम्छालीले कार्टुनले समाजसँग प्रत्यक्ष संवाद गर्ने बताए । उनले थपे, साजका सबै तह र तप्कामा कार्टुनले जारुकता पैदा गर्ने सामथ्र्य राख्छ । नेपाली कार्टुनलाई समयसापेक्ष अगाडि बढाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सक्दो काम गर्ने सदस्य सचिव नवराज भट्टले बताए ।
नेपाली छापामाध्यममा पहिलो पटक कार्टुन प्रकाशित गर्नुभएका गोवद्र्धन विक्रम शाहले जानी नजानी बनाएको कार्टुन पनि पहिलो हुन पुगेको स्मरण गर्दै कार्टुनको भविष्य राम्रो रहेको बताए । प्रदर्शनीको उद्घाटन गर्दै शाहले नेपालमा कार्टुनले समाजमा गहकिलो प्रभाव पारेको जनाए ।

IMG_2449
कार्टुनिस्ट शरद रंजितले व्यङ्ग्यचित्रलाई प्रमुख दिई प्रकाशित हुने गाइजात्रा पत्रिका ‘भाडभैलो’को प्रकाशन गर्दाको आफ्नो अनुभव राखे । डा. कुन्दन अर्यालले पत्रकारितामा विशेष महत्व राख्ने कार्टुन चित्र बनाउने अग्रज कार्टुनिस्टहरूलाई सो पुस्तकले चिनाउने शृंखला शुरू भएको बताए ।
व्यंग्य लेखक तथा कार्टुनिष्ट रामकुमार पाँडेले आफ्नो समयमा कार्टुनिस्टहरुको कमि रहेको र कलाकारलाई आग्रह गरेर कार्टुन बनाउन अनुरोध गर्ने परम्परा आजका दिनमा व्यवसायिक कार्टुनिस्टहरुले तोडेको बताए । कलाकार नविन्द्र राजभण्डारीले तत्कालिन समयमा कार्टुन लेखनलाई आफ्नो पेशा बनाउन नसक्दा पुराना सक्षम कार्टुनिस्टहरू कार्टुन क्षेत्रबाटै पलायन भइसकेको अवस्थाप्रति चिन्ता व्यक्त गरे ।
पूर्वमन्त्री एवम् नयाँ सन्देश साप्ताहिकका सम्पादक रमेशनाथ पाण्डेले आफुले पत्रकारिता गर्ने समयमा कार्टुनिस्टको अभावमा आफैंले कार्टुन बनाएको स्मरण गर्दै अहिलेको अवस्थामा कार्टुन पत्रकारिताको अभिन्न अङ्ग बन्न पुगेको बताए । प्रदर्शनीमा उनले २०२२ सालतिर बनाएको कार्टुन पनि राखिएको छ ।
कार्यक्रममा क्लवका अध्यक्ष अविन श्रेष्ठले पुस्तक प्रकाशन तथा प्रदर्शनीमार्फत कार्टुन चित्रकलाको इतिहासलाई लिपीबद्ध गरेको बताए । आगामी दिनमा पनि अन्य कार्टुनिष्टलाई खोज्ने र शृंखलाबद्ध रुपमा कार्टुन क्षेत्रलाई अगाडि बढाउन क्लबले काम गर्ने धारणा श्रेष्ठले राखे ।

IMG_2537
तारागाउँ म्यूजियमका निर्देशक एवं कलाकार रोशन मिश्रले कार्टुन प्रदर्शनी तथा पुस्तक प्रकाशन गरेर क्लबले राम्रो कामको सुरुवात् गरेको जनाए । उनले भने, १९९७ सालदेखि २०४६ सालसम्मका कार्टुन एकैस्थानमा हेर्न पाउनु निकै कठिन काम हो । तर, यसलाई क्लबले यो ऐतिहासिक कामलाई सहज तुल्यादियो । पुस्तकमा विसं २०४६ अगाडिका कार्टुन र कार्टुनिस्टका बारेमा चर्चासहित कार्टुनको इतिहास समेटिएका सामग्री राखिएको छ ।
सो प्रदर्शनीमा चन्द्रमानसिंह मास्के, शिवहर सिंह ‘पागल’, शशी शाह ‘रैथाने’, कुलमानसिंह भण्डारी ‘तिखे’, दुर्गा बराल ‘वात्स्यायन’, राम कुमार पाँडे ‘राकुपा’, रमेशनाथ पाण्डे, टेकवीर मुखिया, बलराम थापा ‘बराथा’, मोहनश्याम महर्जन ‘खोकना’, उज्ज्वलकुन्दन ज्यापु, शरद रञ्जित ‘जुङ्गामुठे’, मनुजबाबु मिश्र, मदन चित्रकार, गेहेन्द्रमान अमात्य, सुरेन्द्रराज भट्टराई, मोहन खड्का, जीवन आचार्य, धीरेशकुमार दाहाल ‘डिकेड’, मिलनरत्न शाक्य, अशोकमान सिंह, किरण मानन्धर, गौतम मानन्धर, नवीन्द्रमान राजभण्डारी, उत्तम खरेल, शारदामान श्रेष्ठ, श्यामलाल श्रेष्ठ, जीवन राजोपाध्याय, रवीन सायमी, नगेन्द्रप्रसाद पौडेल, सुमन मानन्धर, कीर्तिकिशोर जोशी, कलाप्रेमी श्रेष्ठ, मोदनाथ प्रश्रित, नारदमणि हार्तछाली, राजु नेपाल, मोहन श्रेष्ठ, महेन्द्रप्रसाद श्रेष्ठ, राजेन्द्र राना, ज्ञानेश्वर उदय, अमीर चित्रकार, सुनील रञ्जित, रवि सायमी, राजेश मानन्धर, एकाराम मर्हजन, सुवास क्षितिज, रत्नकाजी शाक्य, सुषमा राजभण्डारीका १३० भन्दा बढी व्यंग्यचित्र राखिएको छ ।

Comments