शैलेन्द्र अब टेलिभिजनको कार्यकारी निर्माता
screennepal
प्रकाशित: २०७२, ११ असार शुक्रबार
no img

काठमाडौं । म्युजिक भिडियो निर्देशनमा चर्चित नाम हो, शैलेन्द्र खोखाली । शैलेन्द्रले म्युजिक भिडियो निर्देशनमा एक दशकभन्दा बढी समय कटाइसकेका छन् । यहाँसम्म आइपूग्दा कति गायक÷गायिकाहरुको गीतको भिडियो निर्देशन गरेँ भन्ने उनैले थाहा । शैलेन्द्र भन्छन्, ‘अहिलेसम्म कति म्युजिक भिडियो निर्देशन गरेँ भन्ने यादै हुन छाड्यो ।’ हुन पनि कुनै समय उनले दिनैजसो म्युजिक भिडियो निर्देशन गर्थे । हिजोआज पनि उनी म्युजिक भिडियो निर्देशनमै ब्यस्त छन् । तर, अब उनी म्युजिक भिडियो निर्देशनमा मात्र सिमित रहेनन्, एक टेलिभिजनको कार्यकारी निर्मातासमेत बन्दैछन् ।

shailendra

शैलेन्द्र खोखाली

आउँदो १ साउनबाट एक नयाँ टेलिभिजन थपिँदै छ, जसको कार्यकारी निर्माता हुन् शैलेन्द्र । अध्यक्ष राजेश श्रेष्ठ अध्यक्ष रहने सो टेलिभिजनको सम्पूर्ण पूर्वाधार तयारी भइसकेको छ । टेलिभिजन प्रसारणका लागि तयारी भइसके पनि अहिले नै नाम नखुलाउन शैलेन्द्रले आग्रह गरे । ‘टेलिभिजन प्रसारणका लागि तयारी भइसकेको छ’ उनले भने, ‘टेलिभिजन साउन १ बाट प्रसारणमा ल्याउँछौं । प्रसारणमा ल्याउन केही दिन अगाडि विज्ञाप्ति जारी गरेरै नाम सार्वजिनक गर्नेछौं ।’
स्रोतका अनुसार एक जुत्ताको कम्पनीले सो टेलिभिजन ल्याउन लागेको हो । र, टेलिभिजनको नाम सोही कम्पनीसँग मिल्दो रहने छ । टेलिभिजन प्रसारणमा ल्याउन कम्पनीले तीन महिनादेखि कसरत गर्दै आएको हो । भूकम्प नआएको भए एक महिनाअघि नै टेलिभिजन प्रसारणमा आइसक्ने थियो । तर, १२ र २९ बैशाखको विनाशकारी भूकम्पले तयारी भइसकेको कार्यालयमा क्षति भएपछि प्रसारणमा आउन ढिलाइ भएको हो । टेलिभिजनको कार्यालय ललितपुरको हात्तिबन रहेको छ ।

Comments