महाभूकम्पमा दुई कलाकारले ज्यान गुमाए
screennepal
प्रकाशित: २०७२, २२ बैशाख मंगलवार
no img

काठमाडौं । बैशाख १२ गते शनिबार गएको विनाशकारी महाभूकम्पबाट मर्नेको सङ्ख्या ७,५५७ पुगेको छ । गृहमन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार घाइतेको सङ्ख्या १४ हजार ५३६ पुगेको छ । यस अवधिमा १० हजार ७१८ सरकारी घर तथा भवन पूर्णरूपमा क्षति भएका छन् भने १४ हजार ७४१ घर तथा भवन आंशिक क्षति भएका छन् ।  यस्तै,  महाभूकम्पमा दुई कालाकारले पनि ज्यान गुमाएका छन् । भक्तपुरका ३४ वर्षीय मूर्तिकार सुरेश प्रधान र काभ्रे घर भई जोरपाटी बस्दै आएकी २२ वर्षीय थाङ्का कलाकार लालमाया मोक्तान महाभूकम्पमा परी ज्यान गुमाएका छन् ।

भक्तपुरमा सेरामिक्समा काम गर्दै आएका मूर्तिकार प्रधानले नेपाली मूर्तिकला क्षेत्रमा विगत दुई दशकदेखि काम गर्दै आएका थिए । ‘निकै राम्रा मूर्ति बनाउने सहृदयी मित्र गुमाउनु प्रदा निकै दुख लागेको छ,’ कलाकार दिपेन्द्र बनेपालीले बताए । लालमाया मोक्तान पनि विगत एक दशकदेखि थाङ्का कलामा क्रियाशिल रुपमा लागेकी थिइन् । उनको पनि जोरपाटीमा घर भत्किएर निधन भएको थियो ।

कलाकार घाइते भए
महाभुकम्पमा परी जोरपाटीमा घर भत्किँदा घाइते भएका कलाकार पाल्साङमो लामाको सम्पूर्ण कलाकृतिसहित सामान नष्ट भएको छ । उनको २५ लाख बराबारको थाङका समेत घर भत्किँदा नष्ट भएको छ । ललितपुरका कलाकार सुषमा शाक्यको हात भाँच्चिएको छ । त्यस्तै अर्का कलाकार शर्मिला ह्याजू घाइते भएर प्यारालाइसिस अवस्थामा पुगेकी छन् भने उनकी बहिनीको भुकम्पमा परी निधन भएको छ । भक्तपुरका पौभा कलाकार हरिप्रसाद वैद्यका बुवा, कलाकार जीवन सुवालका बुबा र कलाकार रविता किसीले २० महिनाको छोरा र आमा गुमाएकी छन् । हालसम्म प्राप्त सुचना अनुसार २० जनाभन्दा बढी कलाकारको घरमा क्षति पुगेको छ ।

nepal-lalitkala-pragya-pratisthan

भूकम्प आनुअघिको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान

ग्यालरीमा क्षति
यसैबीच महाभुकम्पमा काठमाडौं उपत्यकामा रहेका प्रायः कला ग्यालरीहरुमा क्षति पुगेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा रहेका ग्यालरी, सिद्धार्थ आर्ट ग्यालरी बबरमहल, पार्क ग्यालरी पुल्चोक, विकल्प आर्ट ग्यालरी, पुल्चोक, पुल्चोकमा रहेको आर्टिस्ट प्रुफ ग्यालरीमा भुकम्पका कारण क्षति पुगेको छ । सिद्धार्थ आर्ट ग्यालरीमा सौरगंगा दर्शनधारी र सुरेन्द्र महर्जनको कला प्रदर्शनी चलिरहेको थियो । पुल्चोकस्थित पार्क ग्यालरीमा पनि कलाकार पुरन खडकाको एकल कला प्रदर्शनीको तयारी भइरहेको थियो । ग्यालरीका भित्ता चर्किएका छन् भने झुन्ड्याइएका चित्रहरू खसेर त्यसका फ्रेमहरू फुटेका छन् ।  त्यसैगरी ललितकला क्याम्पस भोटाहिटी, काठमाडौं विश्वविद्यालय सेन्टर फर आर्ट एण्ड डिजाइन हातीवनका पनि भित्ता चर्किएका छन् ।

Comments