सिनेमाको रंगीन दुनियाँमा आफ्नो पहिचान बनाउन संघर्षरत अभिनेत्री हुन् निशा घिमिरे । तीन दर्जनभन्दा बढी म्युजिक भिडियो, केही टेलसिरियल तथा छोटा फिल्महरुमा आफ्नो प्रतिभालाई धेरथोर उनले प्रस्तुत गरिसकेकी छन् । ललितपुर कालेश्वर, बतासेकी उनी यसक्षेत्रमा केही गरेरै छोडने अठोटका साथ लागि परेकी छन् । भविष्यमा एक सफल कलाकार बनेर आमदर्शकमाँझ चिनिने उनी यतिखेर आफुलाई स्थापित गराउने संघर्षरत छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानी :
कलाक्षेत्रमा कसरी प्रवेश गर्नुभो ?
कलाक्षेत्रमा लागेर आफु र आफ्नो नाम र आफ्नो ठाँउलाई चिनाउ भन्ने मेरो सानैदेखिको सोचलाई पूरा गर्नको लागि म यस क्षेत्रमा रहरै रहरले लागेकी हुँ ।
हालसम्म केकेमा काम गरिसक्नु भयो ?
हालसम्म मैले तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेको छु । एउटा कमेडी टेलिसिरियलमा पनि काम गरेकी छु । जुन छिट्टै सार्वजनिक हुने क्रममा छ ।
यसक्षेत्रमा आउनुअघि केही तयारी गर्नुभएको थियो कि ?
खासै औपचारिक तयारी त केही गरेकी थिइन । केही समय नृत्य सिकेकी थिए । तर अभिनयका लागि भने म मनै प्रिपियर थिए ।
भविष्यमा कस्तो कलाकारका रुपमा आफुलाई स्थापित गर्न चाहनु हुन्छ ?
भविष्यमा एउटा सफल कलाकार बनेर आम दर्शकमाझ चिनिने चाहना छ । र, म मर्दा पनि यो एउटी राम्री कलाकार थिई भनेर मान्छेले सम्झुन् भन्ने चाहन्छु ।
कला तथा मनोरञ्जनको क्षेत्रमा लागेपछि जीवनमा कतिको बदलाव आएको महशुस भएको छ ?
त्यति ठूलो बदलावको महसुस गर्न पाएको त छैन । तर पनि केही फरक भने पक्कै महसुस भएको छ ।
अभिनय या मोडलिङ क्षेत्रमा आउने रुचि या सपना ?
कलाकार बन्ने सोच पुरानै हो । स्कुल पढदा पनि म आफुमा भएको प्रतिभा प्रस्तुत गर्ने कार्यमा अघि सरिरहन्थे ।
आफुले रोजेको पेसाप्रति समाजको धारणा कस्तो छ भन्ने बुझ्नु भएको छ ?
राम्ररी बुझेकी छु । हाम्रो समाजले जब कुनै व्यक्ति कुनैपनि क्षेत्रमा पूर्ण सफल हुँदैन, तबसम्म खुलेर सपोर्ट गर्नै सक्दैन । जब मानिस सफल हुन्छ अनि मात्र उसको चर्चा र प्रंशसा गर्न थाल्छ ।
अभिनय र मोडलिङमा पाइला अघि बढाइ सक्नुभयो अब पछाडि फर्कने विचार छ कि छैन ?
अवश्य नै अघि बढेपछि पछि फर्कने त कुरै आउन्न नि । भनाइ नै छ नि सागरमा छिर्दै नछिर छिरी सकेपछि मोति नलिई नफर्क । हो, अब त्यसरी नै अघि बढने हो ।
आगामी दिनमा केकेमा काम गर्दै हुनुहुन्छ ?
केही टेलिसिरियलमा व्यस्त छु । साथै म्युजिक भिडियोमा पनि काम गरिरहेकी छु ।
तपाईको क्राइट एरिया कस्तो छ, एक्सपोज गर्ने तथा प्रतिभाको भरमा अघि बढने ?
एक्सपोज र प्रतिभाको भरमा अघि बढने भन्ने फरक कुराहरु हुन् जस्तो लाग्छ । मेरो विचारमा प्रतिभा नभइ कुनैपनि काममा सफल हुन सकिन्न । अनि एक्सपोजको भरले आजसम्म कुनै नायिका सफल भएको मैले देखेको छैन । फेरि यो कुरा मैले राम्रोसँग बुझेकी पनि छु ।
आफुलाई चिन्दै गरेका प्रशंसकलाई के भन्न चाहनु हुन्छ ?
म मेरा प्रशुंकलाई यत्ति भन्न चाहन्छु कि तपाईहरुलाई निराश बनाउने छैन । आफ्नो ठाँउबाट म सक्दो मिहेनत गर्ने छु । साथै दर्शकको सुझाबलाई पनि उत्तिक्कै ध्यान दिने छु । ०