आमाहरू विभिन्न हाउभाऊसहित प्रवेश गरेपछि … (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १४ आश्विन बिहीबार
no img

काठमाडौं । मञ्चमा एक–एक आमाहरू विभिन्न हाउभाऊसहित प्रवेश हुन्छ । फरक भूगोलका यि प्रतिनिधि जननी हुन्छन् । आमाको हातमा शिशुहरु हुन्छ । आमाहरू आफ्ना शिशुलाई बोकेर रमाउँदै खुसीयाली मनाउन थाल्छन् । भावभभंगीमाकै क्रममा ती आमाहरुले आफ्ना शिशु सुन्न–बोल्न नसक्ने भएको थाहा पाउँछन् । अत्तालिन्छन् । बच्चालाई अझ माया गरी अँगालोमा च्याप्छन् । मौनता बीच प्रार्थना गर्छन् । फेरी सबै आमाहरु मिलेर कोसिस गर्छन् तर ती शिशुहरुले कुनै प्रतिक्रिया जनाउँदैनन् । शिशुहरु न त रुन्छन् न त हाँस्छन् नै । सूत्रधार आएर संकेतमा बोल्न थाल्छ – आमा मायाकी सागर हुन् । स्नेहकी मुर्ति हुन् । भगवान सबै ठाउँमा पुग्न सक्तैनन् त्यसैले उनले आमाको सिर्जना गरेका हुन् ।

3 (1)
हरेक आमालाई आफ्नो बच्चाको आफ्नो ज्यानभन्दा बढी माया लाग्छ । यी आमाहरुको संघर्ष यहींबाट सुरु हुन्छ । उनीहरुले आफ्ना अबोध शिशुलाई सुन्दर संसार कसरी चिनाउँछन् ? हुर्कदै गरेका बालिबालिकाहरुको रुचीअनुसार उनीहरुलाई कसरी एक सफल साहित्यकार, समाजसेवी, बैज्ञानिक, इन्जिनियर बनाउन सफल हुन्छन् ? यो कुरा संकेत नाटक ‘हामी’को प्रस्तुति हेरेपछि थाहा लाग्छ । सम्पूर्ण बहिरा कलाकारहरुद्वारा अभिनित नाटक ‘हामी’को परिकल्पना, लेखन र निर्देशन कृष्ण शाह यात्रीले गरेका हुन् ।

5
१५ वर्षअघि नाट्यकर्मी नाट्यकर्मी कृष्ण शाह यात्रीले सांकेतिक भाषामा नाटक ‘मान्छे/मान्छेहरू’ लेखेर यसको निर्देशन समेत गरेका थिए । काठमाडौं बहिरा संघले “मान्छे/मान्छेहरू”लाई ऊ बेला पहिलो आधिकारिक नेपाली सांकेतिक भाषाको नाटक भनेर घोषण ग-यो । दश जना बहिरा कलाकारहरुलाई अभिनय गराइएको ‘मान्छेट्टमान्छेहरु’ नाटकका लागि निर्देशक यात्री आफैले चार महिनाको सांकेतिक भाषाको प्रशिक्षण लिएका थिए । नाटक ‘मान्छे/मान्छेहरू’ले नेपाल एकेडेमीको राष्ट्रिय नाटक महोत्सवमा ५६ ओटा नाटकलाई उछिनेर सर्वश्रेष्ठ नाटक घोषित भई सर्वश्रेष्ठ निर्देशकको पुरस्कार समेत पायो । यसैबाट हौसिएर ना्यकर्मी यात्रीले ‘संकेत नाटक’लाई एक नेपाली नाट्य अभियानकै रुपमा अगाडी बढाए । १५ वर्षको अवधीमा उनले नेपाली रङ्गमञ्चमा ‘मान्छे, युद्ध र शान्ति’, ‘अतिरिक्त यात्रा’, ‘मौन आवाज’, ‘आवरण अनावरण’, ‘बोली’ लगायत तीन दर्जन संकेत नाटकहरूको लेखन र निर्देशन गरिसकेका छन् । नेपाल, भारत, बेलायतसम्मका बहिरा कलाकारहरुले यात्रीको नाटकमा अभिनय गरेका छन् ।

2
संकेत नाटक
‘हामी’ सांकेतिक भाषामा प्रस्तुत गरिएको नयाँ नाटक हो । ललितपुरको स्टाफ कलेजको प्रेक्षालय (हल)मा देखाइएको नाटक हेर्न दर्शकहरूको निकै घुईचो लागेको थियो । नेपालमा ६ लाख बहिराहरू छन् । तिनै बहिराहरूको सञ्चारका लागि बनेका आधिकारिक शब्दहरु लिएर ‘हामी’ तयार पारिएको हो । जसमा अजय कर्ण, वर्षा गुरुङ, समीक्षा सापकोटा, बृन्दा राना, सिर्जना तामाङ, सबिना महर्जन, बिमल लामिछाने, प्रेरणा लामा, बिनिता पोखरेल, रुथ रोका, कृष्ण गुभाजु, विवेक भुजेल, इङ्क राना, श्यामप्रकाश चौधरी, शिवराम श्रेष्ठ, सम्झना अधिकारी, सुभास काफ्ले, इश्वर सिंह लगायत दुई दर्जन कलाकारहरु सहभागी थिए । नाटकमा अभिनय गर्ने यी सबै सुन्न र बोल्न नसक्ने बहिरा कलाकारहरु हुन् । नाटकमा मातृत्व भाव, मानवीय संवेदना, बहिराहरुको सामथ्र्य, समाजिक दृष्टिकोण जस्ता कुराहरु कथानकमा दर्शाइएको थियो ।

7
नाटक हेरिसकेपछि ‘राष्ट्रिय बहिरा महासंघ नेपाल’का अध्यक्ष रामकुशल पन्तले भने, “नाटक कलात्मक र प्रभावकारी लाग्यो । यसले धेरै महत्वपूर्ण कुराहरु उजागार गरेको छ ।” यसैगरी संविधान सभाका पूर्वसभाषद एवम् चर्चित बहिरा व्यक्तित्व राघवबीर जोशीले भने, ‘मैले यात्रीजीको अरु संकेत नाटक पनि हेरेको छु । यो धेरै राम्रो लाग्यो ।’ संकेत नाटक ‘हामी’ लाई केही दिनपछि काठमाडौंमा मञ्चन गरिने निर्देशक यात्रीले जानकारी दिएका छन् ।

Comments