भिसी रामबहादुरले भने, ‘भिसी दुश्मनको टाउकामा टेकेर पाइने सम्मान हो’
screennepal
प्रकाशित: २०७२, ३१ भाद्र बिहीबार
no img

एमपी सुब्बा

काठमाडौं । भिक्टोरिया क्रस ‘भिसी’ रामबहादुर लिम्बूले ‘भिसी’ पाउनु सजिलो कुरा नभएको स्मरण गराए । दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाएका लिम्बूले भने, ‘भिसी घरमा बसेर पाइँदैन, यो त दुश्मनको टाउकामा टेकेर पाइने सम्मान हो ।’ उनले भिसी एउटा सम्मानीत पद भए पनि पैसा नहुने बताए । उनी बिहीबार राजधानीमा आयोजित ब्रिटिश गोरखा नेपाली परिषद ‘बिजिएनसी’ को नेपाल च्याप्टर उद्घाटन तथा ‘ब्रिटिस गोरखा अवार्ड’ घोषणा कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दैथिए ।

Ram Bdr Limbu

VC. Ram Bdr Limbu

गोरखा सैनिकमा कार्यरत तथा विभिन्न पेसा व्यवसायिकमा आवद्ध रहेर बेलायत बस्दै आएका नेपालीद्वारा करिब ६ महिनाअघि एकराज नेम्बाङको अध्यक्षतामा बेलायतमा स्थापना गरिएको ‘बिजिएनसी’ले ‘ब्रिटिस गोरखा अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ । ‘बिजिएनसी’ नेपाल च्याप्टरको उद्घाटन तथा ‘ब्रिटिस गारखा अवार्ड’ घोषणा कार्यक्रममा बोल्दै भिसी लिम्बूले भने, ‘मेरो पालामा यस्तो केही संघसस्था थिएन । जे उद्देश्य लिएर यो संस्था (बिजिएनसी) स्थापना भएको छ, त्यसका लागि मेरो शुभकामना छ ।’ ठट्यौली रुपमा प्रस्तुत भएका लिम्बूले देश बनाउने अभिभारा अब युवाको काँधमा आएको समेत बताए ।

_MG_6421
‘बिजिएनसी’ले कलाकारिता, साहित्य, पत्रकारिता, खेलकुद र संगीत क्षेत्रमा अवार्ड प्रदान गरिने जनाएको छ । अवार्डको राशी ठूलो र विशिष्ट किसिमको हुने पनि बिजिएनसीले जनाएको छ । तर, पुरस्कार राशी भने खुलाइएको छैन । अवार्डका लागि अक्षयकोष स्थापना गर्न बेलायतको विभिन्न १२ स्थानमा बृहत् च्यारिटी सो गरिने तय भएको पनि बिजिएसीले जनाएको छ । र, नेपालमा समेत प्रमुख सहरहरुमा च्यारिटी गरिने बताइएको छ । कार्यक्रममा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा बरिष्ठ गायक गणेश रसिक, बरिष्ठ कवि बैरागी काइँला, पूर्वमिस नेपाल रुवि राणा, संस्कृतिविद तुलसी विवश, डा. सुरेन्द्र केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष डिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धरलगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।

कार्यक्रममा बर्षेनी रुपमा प्रदान गर्ने गरी ब्रिटिस गोर्खा अवार्डको बारेमा पनि जानकारी गराइयो । कार्यक्रममा बोल्दै बरिष्ठ संस्कृतीविद तुलसी दिवसले नेपाल च्याप्टरको स्थापना गरेर यस्तो किसिमको अवार्ड प्रदान गर्न लागेकोमा खुशी ब्यक्त गरे । उनले ब्रिटिस गोर्खा सैनिकहरुले विश्वमा देखाएको बहादुरीको चर्चा गरे । प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइलाले पूर्व गोर्खाहरु नेपालीहरुको पहिचान भएको उल्लेख गरे । उनले अवार्डलाई अन्तराष्ट्रिय स्तरको बनाउन सुझाए । परिषदका उपाध्यक्ष तथा प्रवक्ता किरण टी लिम्बुले पाँच विधामा उत्कृष्ट स्रष्टा तथा प्रतिभाहरुलाई उक्त अवार्ड प्रदान गरिने जानकारी दिए । कलाकारिता, साहित्य, पत्रकारिता, संगीत र खेलकुद क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उच्च योगदान पु¥याउने नेपाली प्रतिभालाई अवार्ड प्रदान गरिने बताए । अवार्ड आगामी बर्षदेखि बर्षेनी प्रदान गरिने छ ।

_MG_6419
कार्यक्रममा उपस्थिति हुन नसकेका बिजिएनसीका केन्द्रीय अध्यक्ष एकराजले बेलायतबाटै इमेलमार्फत सन्देश पठाएर कार्यक्रमको धारणाबारे स्पष्ट पारेका थिए । परिषदले नेपाल च्याप्टरको संयोजकमा पूर्व मिस नेपाल सुविन लिम्बुलाई चयन गरेको छ । त्यस्तै सहसंयोजकमा प्रविन पुमा, कोषाध्यक्षमा सम्झना राई, सदस्यहरुमा नृत्य निर्देशक गोबिन्द राई, पत्रकार अशोकप्यासी राई, फोटो पत्रकार नविन गुरुङ, साहित्यकार स्वप्नील स्मृती, प्रकृती थलङ, पत्रकार युवराज गौतम, ताराप्रकाश लिम्बु, मनोज नेम्बाङ र विमला भण्डारीलाई चयन गरेको छ ।

तस्बिर : नविन गुरुङ/स्क्रिननेपाल

_MG_6425

Comments