नेपाली चलचित्र ०७१ : खोजियो ढिँडो, पस्किइयो पिज्जा !
screennepal
प्रकाशित: २०७१, ३० चैत्र सोमबार
no img

–डिबी खड्का

नेपाली दर्शकले नेपाली फिल्म हेरिदिएनन् भनेर गुनासो गरिरहने फिल्मकर्मीलाई यो वर्ष दर्शकले स्पष्ट जवाफ दिएका छन् । उनीहरूले भनेका छन्– नेपाली फिल्म हेरिदिनुपर्छ भने नेपाली फिल्म नै बनाऊ ।

shree-sweta

नेपाली माटोको गन्ध थोरै भए पनि मिसिएको फिल्मलाई नेपाली दर्शकले पनि माया दर्शाएका छन् । मुस्ताङका थकाली समुदायको संस्कृति समेटिएको फिल्म ‘कबड्डी’, गण्डक क्षेत्रको लवज बोलिएको ‘टलकजंग भर्सेस टुल्के’, मुस्ताङको लोकेसन र युवाको प्रेमकथा रहेको ‘जेरी’ हिट बनाइदिएर दर्शकले उदाहरण पेश गरेका छन् । यसबाहेक फिल्म रिलिजकै छेकमा दिवंगत श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको फिल्म ‘कोहिनूर’ले पनि राम्रो आर्थिक उपार्जन ग¥यो । ‘स्टारडम’को बलमा रेखा थापाको ‘हिम्मतवाली’ले लगानी उठाउने हिम्मत देखायो । स्थापित ब्यानरका कारण छवि ओझा निर्मित ‘लज्जा’ले उनको लाज बचाइदियो । प्रेम परियारको स्वरमा रहेको गीत ‘मर्ने कसैलाई रहर हुँदैन’को चर्चाले ‘नाइँ नभन्नू ल–२’का निर्मातालाई जोगायो ।

jerry
हिन्दी र अंग्रेजी फिल्मको सहज पहुँचमा रहेका नेपाली दर्शकसँग छनोटको सुविधा र अधिकार प्रशस्त छ । आफूले खर्च गर्ने मूल्य बराबरको मनोरञ्जन फिल्मले दिन सक्छ कि सक्दैन ? त्यो मापन गर्ने क्षमता पनि छ उनीहरूसँग । सत्य के हो भने अब नेपाली फिल्म सहानुभूतिले मात्रै चल्दैन । नेपाली दर्शकले नेपाली फिल्ममा खतरनाक एक्सन, भयभीत पार्ने हरर र अर्ती दिने सन्देशमूलक कथा खोजेका छैनन् । नेपाली फिल्ममा उनीहरू कमसे कम मौलिकता चाहन्छन् । अहिले बजारमा चलेको शब्द ‘अग्र्यानिक’ नेपाली फिल्ममा होस्, खासमा दर्शकले खोजेको यत्ति हो । हिन्दी ‘विषादी’ र अंग्रेजी ‘रासायनिक मल’को प्रयोग नभइदिए नेपाली फिल्म फस्टाउनका लागि समय लाग्ने देखिँदैन ।

Kabaddi-Poster-4
कस्ता फिल्म बने ?
नेपाली दर्शकको स्वाद नजाँचेर फिल्ममा लगानी गर्नेहरू यो वर्ष नराम्ररी चिप्लिए । यो वर्ष धेरै फिल्म एक्सन श्रेणीका बने । बलिउडका स्टार सलमान खान, आमिर खान, अजय देवगनहरूले एक्सन नै बिकाएपछि नेपालमा यो जान्रको बजार रहेको ठानेर निर्माता हौसिए । सलमानको फिल्म ‘किक’को समीक्षा गर्ने समयमा एक बलिउड फिल्म समीक्षकले भनेका थिए, ‘सलमानजस्ता स्टारहरूको फिल्मको समीक्षा गर्नु भनेको अन्डरवेयरमा आइरन गर्नु जस्तै हो ।’ यसको अर्थ थियो– स्टारका फिल्म गतिला आइरहेका छैनन् । उनीहरूका फ्यानले हेरिरहेका छन् । ‘राम्रो छैन फिल्म’भन्दा पनि दर्शक जान्छन् भने किन कमेन्ट गर्नु ?
नेपाली फिल्म निर्माताले यो बुझेको देखिएन । हिन्दी फिल्म ‘किक’, ‘सिंघम रिटन्र्स’, ‘धुम’ले नेपाली फिल्म हल पनि कब्जा गरेपछि धेरैलाई एक्सनमोहले तान्यो । ठूलो बजेट यस्तै प्रकारमा फिल्ममा खर्चिएको छ । धेरै लगानी गरिएको भनिएका ‘मुखौटा’, ‘मिसन पैसा–२’, ‘वान वे’, ‘हँसिया’ले एक्सनको बाटो पछ्याउँदा ती भीरबाट गुल्टिए । माथि उल्लेखित फिल्मले ‘हाइप’ मात्रै सिर्जना गरेका थिएनन्, तिनलाई आशलाग्दा फिल्मका रूपमा पनि हेरिएको थियो ।
ग्याङस्टार कमेडी ‘षडङ्ग’, सस्पेन्स थ्रिलर भनिएको ‘झिग्राना’ पनि दर्शकले हेर्न चाहेनन् । यीबाहेक ‘आवरण’ र ‘माला’ जस्ता दर्शकलाई तर्साएर मनोरञ्जन दिन खोज्ने फिल्मले अन्ततः निर्मातालाई नै तर्साइदिए ।

केही उपलब्धि
यो वर्ष आश गरिएका फिल्म नचलेर अरूले नै बाजी मारेपछि फिल्म चल्नै छाडेको निष्कर्षमा फिल्मकर्मीहरू पुगेका छन् । प्राविधिक रूपमा नेपाली फिल्म स्तरीय हुँदै छ । फिल्म पढेकाहरू र अभिनय सिकेकाहरू फिल्ममा आइरहेका छन् । नयाँ प्रयोग पनि भइरहेको छ । निर्माणका प्रक्रियामा पनि यस वर्ष धेरैले दिमाग चलाएका छन् ।
हिमग्याप लामाको निर्देशनमा किसान नेता भीमदत्त पन्तमाथि बनाइएको फिल्म ‘भीमदत्त’ र घुसखोरीविरुद्ध हेमराज बीसीले बनाएको ‘सम्बोधन’ नेपाली फिल्म आर्काइभका लागि महत्वपूर्ण छन् । त्यसैगरी थकाली संस्कृतिको पाटो उठाउने रामबाबु गुरुङ निर्देशित ‘कबड्डी’ र ‘कामकाजी’ नेपाली भाषाभन्दा माथि उठेर गण्डक क्षेत्रको मौलिक लवज बोल्ने ‘टलकजंग भर्सेस टुल्के’पनि परिवर्तनको मार्गमा हिँडिरहेको नेपाली फिल्मका लागि मार्गदर्शक बनेका छन् । अनि, भाष्कर ढुंगानाले फिल्म ‘सुन्तली’मार्फत मौलिक कथा भन्ने तरिका ल्याएका छन् । अघिल्लो वर्षको अन्त्यमा रिलिज भए पनि फिल्म ‘झोला’ले सफलता यही वर्ष हासिल गरेको हो । कृष्ण धरावासीको बहुचर्चित कथा ‘झोला’मा आधारित फिल्मले सय वर्षअघिको नेपाली जनजीवनलाई उठाएको थियो । सती प्रथामा आधारित फिल्मलाई दर्शकले रुचाए । ‘सार्क फिल्म फेस्टिभल २०१४’मा यही फिल्मबाट गरिमा पन्तले उत्कृष्ट नायिकाको अवार्ड जितिन् । फिल्म‘साँघुरो’का निर्देशक जोयश पाण्डेले ‘स्पेसल जुरी अवार्ड’ प्राप्त गरे । आठ वर्षीय बालक सौगात विष्टले ‘लभ यू बाबा’ नामक फिल्म निर्देशन गरेर दुनियाँलाई चकित बनाइदिए । गिनिज बुक अफ वल्र्ड रेकड्र्समा विश्वका सबैभन्दा कान्छा फिल्म निर्देशकका रूपमा आफ्नो नाम दर्ज गराए ।

दिमाग चलाउनुपर्छ, फिल्म चल्छन्
लगानी उठाउने मुश्किलले आठ फिल्म भए पनि २०७१ सालमा ७६ वटा फिल्म रिलिज भए । यसरी हेर्दा ९० प्रतिशत फिल्ममा गरेको लगानी डुबेको छ । अब दिमाग चलाउन जरुरी छ । बनाइन्छ के र हेरिन्छ के ? किन बनाउने वा कसका लागि बनाउने ? यी र यस्ता प्रश्नमा घोत्लिनैपर्छ । अर्काे महत्वपूर्ण प्रश्न फिल्मकर्मीले आफैँलाई सोध्नुपर्छ– फिल्म होइन, दिमाग पो नचलेको हो कि ? दिमाग नै सही विषयमा नचलेपछि फिल्म कसरी चलोस् ? दोष फिल्मलाई होइन, आफैँलाई दिनुपर्छ । यति इमानदारी देखाउनैपर्छ । हरेक कुरामा बजार हाबी भइरहेको वर्तमान समयमा निर्माण प्रक्रियामा मात्रै दिमाग चलाएर फिल्म चल्न सक्दैन । गुणस्तरीय वस्तु उत्पादन गरेपछि त्यसलाई उपभोग गर्न उक्साउने, स्वादमा बानी पार्ने र गुणस्तरमा विश्वास दिलाउने बजारका सामान्य प्रक्रिया हुन् ।
नेपाली फिल्मका दर्शकले फरक स्वाद खोजिरहेका छन् । विशेषगरी नेपाली फिल्ममा नेपालीपन खोजिरहेका छन् । ‘नेपाली भान्साघर’ लेखिएको बोर्डभित्र ढिँडो र गुन्द्रुकको अपेक्षा गरिन्छ नै । पिज्जा र बर्गर खानका लागि ‘नेपाली भान्साघर’मा किन जाने ? दर्शकले ढिँडो खोजिरहने र फिल्मकर्मीले पिज्जा पस्किरहने त भइरहेको छैन ?
–शुक्रबारबाट

Comments