‘संसारमा बनिरहेका ९० प्रतिशत फिल्म बकबास’
screennepal
प्रकाशित: २०७१, १८ कार्तिक मंगलवार
no img

काठमाडौं । फिल्म ‘अंकुर’ ले सन् १९७३ ताका भारतमा राम्रै चर्चा पाएको थियो । विकासोन्मुख भारतीय समाजलाई चित्रित गरिएको उक्त आर्ट फिल्मले सन् १९७५ मा ‘नेसनल अवार्ड’ जितेको थियो । फिल्मको निर्देशन गरेका थिए, श्याम बेनेगलले । असीको दशकमा आर्ट फिल्ममार्फत बलिउडमा ख्याति कमाएका ८० वर्षीय निर्देशक तथा स्क्रिप्ट राइटर बेनेगल सोमबार राजधानीमा भेटिए ।

benegal

राजधानीमा आयोजि कार्यक्रममा बोल्दै बेनेगल

भारतीय दूतावासको संयोजत्वमा बिपी कोइराला नेपाल–भारत फाउन्डेसनले आयोजना गरेको ‘भ्वाइस’ को १८औँ संस्करणमा उपस्थित भएका निर्देशक बेनेगलले भारतीय फिल्म उद्योग बलिउडको चर्चा गरेका थिए । उनले नेपाल र भारतको कला, संस्कृतिमा समानता रहेको बताउँदै भने, ‘भारतसँग बंगलादेश, भुटान र नेपालको कला संस्कृति मिल्दो छ । त्यसैले भारतीय फिल्म उद्योगको कुरा खुलेरै गर्दै छु ।’
आर्ट फिल्मबाटै भारतको पद्मश्री, पद्मा भूषण, दादासाहेब फल्के अवार्डजस्ता थुप्रै अवार्ड तथा सम्मान पाएका बेनेगलले फिल्मले समाज चित्रण गर्ने बताउँदै भने, ‘यहाँ फिल्म के नै हो र ? भनिन्छ । तर, फिल्म सबैथोक हो ।’ उनले फिल्ममा नवरस मात्र खोज्नु नहुने बताउँदै भने, ‘फिल्ममा नवरस त चाहिन्छ तर यसो भनेर हामीले फिल्मलाई मनोरञ्जनका रूपमा मात्र लिनुहुँदैन ।’ ‘अंकुर’ पछि ‘निशान्त’ ‘मन्थन’जस्ता चर्चित आर्ट तथा फ्युचर फिल्म बनाएका बेनेगलले आर्ट फिल्मको भविष्य उज्ज्वल रहेको बताए ।
पछिल्लो समय बलिउड फिल्म हलिउड शैली र ढर्रामा ढल्किँदै गएको मननपराउने उनले भने, ‘पछिल्लो पुस्ता इमोसनलतिर गएको पाइन्छ । यसलाई गहन रूपमा पनि लिनुहुन्न किनकि, समाज जसरी मोर्डन बन्दै छ । त्यसैगरी, फिल्म पनि मोडल बन्न थालेका छन् ।’ बलिउडमा सबै नयाँ पुस्ता आधुनिकता ढल्केको भन्न नमिल्ने पनि उनले बताए । निर्देशक विशाल भारद्वाजको उदाहरण पेस गर्दै उनले भने, ‘फिल्म समाज चित्रण हुन्छ । तर, समाजको चित्रण गर्दा ऐना राम्रो हुनुपर्छ । नराम्रो ऐनामा चित्र पनि नरामै्र देखिन्छ । पछिल्लो पुस्ताका केही राम्रा फिल्मकर्मी पनि छन्, जसमा म विशाल भारद्वाजको नाम लिन्छु ।’
बलिउड फिल्म उद्योग संसारकै ठूलो उद्योग मानिन्छ, जहाँ वार्षिक १५ सयभन्दा बढी फिल्म निर्माण हुन्छ । ती सबै फिल्म राम्रो नहुने बताउँदै उनले भने, ‘१० देखि १५ प्रतिशत फिल्म मात्र राम्रा हुन्छन् । अरू बाँकी फिल्म बकबास बन्छन् ।’ उनले फिल्मलाई नोबेलसँग तुलना गर्दै भने, ‘फिल्म पनि एउटा नोबेल हो, जसमा रसरंग हुन्छ । फरक यति मात्र हो कि फिल्ममा डान्स, एक्सन र अभिनय हुन्छ ।’ उनले संसारमा बन्ने फिल्ममध्ये ९० प्रतिशत बकबास हुने बताए ।
सन् १९३४ मा हैदरवादमा जन्मिएका बेनेगलले दर्जनौँ फिल्म निर्माण तथा निर्देशन गरेका छन् । तीमध्ये अधिकांश आर्ट फिल्म छन् । ८० वर्षको उमेरमा आए पनि उनी आर्ट फिल्मकै वकालत गर्छन् । सोमबार उनले आर्ट फिल्मकै चर्चामा करिब १ घन्टा खर्चिए । सहभागीले बलिउड फिल्म आधुनिकतासँगै विकृतिउन्मुख हुन थालेजस्तो लाग्दैन ? भन्ने प्रश्नमा उनले मुम्बईको वर्तमान अवस्थाबारे सुनाएका थिए । ‘मुम्बईको बलत्कारजस्ता अपराधका घटनामा डुब्दै गएको छ । यस्तै फिल्ममा यस्ता विकृति चित्रण हुन्छन् र, अर्को कुरा अहिले फिल्म व्यापारका दृष्टिले बढी बन्न थाले ।’ उनले फिल्म एउटा कलाको क्याम्पियन भएको पनि बताए । उनले फिल्ममा सेक्स र रोमान्सजस्ता कुरा सामान्य हुने बताए । बलिउडमा ‘धुम’, ‘मर्डर’ र ‘ह्याट स्टोरी’ जस्ता फिल्म बनिरहेका बेला यी अनुभवी निर्देशकले सेक्सलाई सामान्य रूपमा परिभाषित गरेका हुन् ।
सन् १९८० मा फिल्म फेयर अवार्डमा ‘जुनुन’ बाट उत्कृष्ट निर्देशकको अवार्ड पाएका बेनेगलले सन् १९७६ मा कान्स फिल्म फेस्टिवलमा फिल्म ‘निशान्त’ बाट नोमिनेसन परेका थिए भने सन् १९८१ मा फिल्म ‘कलियुग’ले उनलाई गोल्डेन पुरस्कार दिलाएको थियो ।
कार्यक्रममा दूतावासका डिसिमएम पीयूष श्रीवास्तव, सुचना तथा सञ्चार प्रमुख अभय कुमार, पूर्वमिस नेपाल माल्भिका सुब्बालगायत विभिन्न नेपाली फिल्मकर्मीको उपस्थित थियो । निर्देशक बेनेगललाई अभय कुमारले मायाको चिनो प्रदान गरेका थिए ।

 

Comments