‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिँदै
screennepal
प्रकाशित: २०७६, २३ असार सोमबार
no img

चलचित्र विकास बोर्डले आफ्नो १९औँ वार्षिक उत्सवको अवसर पारेर २७ असारमा राष्ट्रपति भवन, सितल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ प्रदान गर्ने भएको छ । वोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।
हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह विविध कारणले २०७४ र ०७५ मा हुन सकेको थिएन । यसपटकको पुरस्कार समारोहलाई विशेषरुपमा हेरिएको बोर्डले जनाएको छ ।
यसपटक समारोहमा २०७३, २०७४ र २०७५ गरी तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । तीन वर्षकै नेपाली चलचित्र हेरेर निर्णायकले बोर्डमा परिणाम बुझाइसकेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान हुने उक्त पुरस्कारमा यसपटक सम्मानपत्र र अवार्डसँगै नगद राशीको समेत व्यवस्था गरिएको छ ।
पुरस्कृत हुनेहरुलाई प्रति विधामा जनही २५ हजार रुपैयाँ प्रदान गरिने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी गराए । समारोहमा तीन वर्षकै दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ ।
पुरस्कारमा नगद पनि दिइने प्रचलन रहेकाले पुरस्कृतलाई २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय भएको बोर्ड अध्यक्ष भट्टराईले जनाएका छन् । अर्को वर्षबाट यो पुरस्कारको राशी बढाएर प्रति विधा ५१ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
यस्तै चलचित्र विकास बोर्डले आफ्नो १९औँ वार्षिक उत्सवको अवसर पारेर यही १६ असारमा नेपाली चलचित्र क्षेत्रमा विभिन्न विधामा सम्मानित हुने सबै चलचित्रकर्मी, सर्जक तथा संस्थाहरुलाई सम्मानस्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय चलचित्र विकास बोर्डले गरेको छ ।

Comments