२७ भदौमा फुल्दै नीरफूल (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, २ चैत्र शनिबार
no img

फिल्म ‘नीरफूल’ले आफ्नो रिलिज डेट तय गरेको छ । आउँदो २७ भदौमा फिल्म मुलुकभर रिलिज हुने बताइएको छ ।


भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् । गणेश हिमाल मुनिको रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् । एक बर्ष अघि नै छायांकन सकिएको भए पनि एनिमेसन र भिएफएक्सका कारण पोस्ट प्रोडक्शन लम्बिएको निर्देशक वलले जनाए ।


फिल्ममा अभिनेत्री रेखा विशेष भुमिकामा छिन् भने रंगकर्मी शान्ति वाइबाको यो डेब्यु फिल्म हो । दयाहाङको जोडीको रुपमा देखिन लागेकी वाइबा सेलो थिएटरकी संस्थापक हुन् । मेलिना राईको ‘तिमीले बाटो फेर्यौ अरे…’ गीतको किड भर्सन कभर सङ गाएर युट्युबमा चर्चा कमाएकी बाल गायिका जिग्मे छ्योइकी घिसिङ दयाहाङको छोरीको रुपमा फिल्म छिन् ।


फिल्मको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । निर्देशक वलले २०७२ को महाभूकम्पको पृष्ठभुमिमा राज्य प्रणालीको भष्टता पनि औंल्याउन खोजिएको बताए । ‘यो धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत कथा भन्ने कोसिस गरेको छु’, उनले भने, ‘यो ठाउँको भूगोल, प्रकृति र संस्कृतिबारे अहिलेसम्म बाहिर आएको छैन । यस हिसाबले यो फिल्मले रुबी भ्यालीलाई पनि चिनाउने छ ।’

फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् ।
निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शामी र मनोज राठी रहेका छन् ।

Comments