पुनमको पहिरनमा यस्ता देखिए अन्तर्राष्ट्रिय मोडल (फोटोफिचर)
screennepal
प्रकाशित: २०७५, १ आश्विन सोमबार
no img

फ्रान्सको पेरिसमा गत सेप्टेम्बर १२ मा भएको ‘क्याटवक पेरिस रिभ्योलुसन’मा नेपाली फेशन डिजाइनर तथा फिल्म निर्मात्री पुनम क्षेत्री गौतमले अन्तर्राष्ट्रिय मोडलमार्फत आफ्ना डिजाइनका १२ पहिरन प्रदर्शन गरेकी छन् ।
नेपालको प्रतिनिधित्व गर्दै पेरिस पुगेकी पुनमले विभिन्न देशबाट आएका मोडलको सहयोगमा आफ्ना डिजाइनलाई ¥याम्प शोमार्फत कार्यक्रममा प्रदर्शन गरेकी हुन् । यो कार्यक्रम एसएम ग्लोबलले आयोजना गरेको थियो ।


पुनमले वेस्टन डिजाइनमा फ्युजन गराई तयार पारेको लाली गुराँसको रंग मिश्रित साडी विशेष आकर्षण बन्यो । उनले बिकिनी पहिरनलाई चोलीसँग फ्युजन गराएकी थिइन् । बेलायतको लण्डन र अमेरिकाको न्यूर्योकमा आफ्नो डिजाइनका पहिरनको प्रदर्शन गरिसकेकी पुनमले पेरिसको कार्यक्रम विशेष रहेको बताइन् ।

‘अन्य दुई देशको भन्दा फ्रान्सको सहभागिता विशेष रह्यो । यहाँको व्यस्त समय तालिकामा प्रत्येक आधा आधा घण्टामा फेशन शो हुँदोरहेछ । एकले अर्कोको फेशनमा ध्यान नदिँदा रहेछन्,’पुनमले भनिन्,‘मेरो डिजाइनको पहिरन लगाएर मोडलले ¥याम्प गर्दा पृष्ठभूमिमा नेपाली संगीत बजाइएको थियो । मोडलको हिडाई र संगीतले गर्दा उपस्थित दर्शकले पनि उत्साहित देखिएका थिए । कार्यक्रम सञ्चालकले पटक पटक ‘नेपाल’ शब्द उच्चारण गर्दा मन नै प्रफूल्ल भयो ।’


पुनमका अनुसार कार्यक्रमका कोरियोग्राफरले नेपाली पहिरन मनपराएर कार्यक्रममा लगाएका थिए । कोरियोग्राफरले पुनमलाई ‘आइ एम प्रेजेन्टिङ युअर कन्ट्री’ भन्दै पहिरन लगाएका थिए । ‘पेरिसका कर्पोरेट तहका व्यक्तिहरु कार्यक्रममा हुनुहुन्थ्यो । नेपालको फ्युजन पहिरन लगाएर मोडल ¥याम्पमा हिँड्दा ‘वेलकम टु पेरिस’ भन्दै ताली बजाए,’पुनमले सम्झिईन्,‘मोडलहरुले पनि आफूहरुले पहिलोपटक यस किसिमको पहिरन लगाएको बताए ।’


पुनमले नेपाललाई फेशनको देश भनेर चिनाउनका लागि पनि पेरिसको शो विशेष रहेको बताइन् । नेपालमा विभिन्न किसिमका फेब्रिक रहेकाले त्यसको अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्न सकिएमा नेपाली फेसनले अन्तर्राष्ट्रिय बजार पाउने दाबी गरिन् ।
पेरिसपछि दुबइमा पनि फेशन शो गर्ने तयारीमा रहेकी पुनम एसएम ग्लोबलसँग आफ्नो संस्था पुनम इन्टरटेनमेन्टले सहकार्य गर्दै दुई वर्षपछि नेपालमै अन्तर्राष्ट्रिय वृहत फेशन शो गर्दैछिन् ।

Comments