फिल्म प्रचार गर्न ‘चार्ली चाप्लिन’ नेपालमा
screennepal
प्रकाशित: २०७५, ३ असार आईतवार
no img

भारतीय कलाकार राजन कुमार आफ्नो फिल्म प्रमोसनका लागि नेपाल आएका छन् । जुलाईको अन्तिम साता प्रदर्शन लक्ष्य राखिएको फिल्म ‘नमस्ते बिहार’को प्रचार गर्न उनी नेपाल आएका हुन् ।
उद्देश्य फिल्म प्रचार भएपनि आईतवार ठमेलमा आयोजित पत्रकार भेटघाटमा उनको परिचय हावी भयो । परिचय थियो– चार्ली चाप्लिन–२ को । खासगरी भारतमा स्टेज पर्फमरका रुपमा प्रख्यात राजनले विश्वप्रख्यात कमेडियन चार्ली चाप्लिनको प्रहसन गर्ने गर्छन् ।
सन् २०१० मा ‘चार्ली चाप्लिन–२’का रुपमा उनको नाम गिनिज बुक अफ रेकर्ड र लिम्का बुक अफ रेकड्र्स पनि लेखिएको छ । पत्रकारको आग्रहपछि कार्यक्रममै उनले चार्लीको शैलीमा अभिनय गरेर सहभागीलाई हँसाएका थिए ।
भेटघाटमा राजनले आफ्नो फिल्म ‘नमस्ते बिहार’को कन्टेन्टबारे बोलेका थिए । ‘फिल्म बिहारमा जन्मिएको एक युवा डब्लुको कथा हो,’ पत्रकारमाझ उनले भने, ‘जहाँ डब्लुको भुमिकामा म स्वयम्ले निर्वाह गरेको छु । फिल्ममा डब्लु निडर र साहसी युवाको भूमिकामा छ । एउटा इमान्दार युवा कसरी अपराध र अन्डरवल्र्डको भुमरीमा नचाहँदानचाहँदै फस्छ फिल्म त्यसकै वरिपरि घुमेको छ ।’

फिल्ममा भुमिका कलिता अभिनेत्रीको भुमिकामा छिन् । उनले क्राइम रिपोर्टरको भूमिका निर्वाह गरेकी छिन् । राजनका अनुसार नमस्ते बिहार बिहारको पत्रिकाको नाम हो र यही नामलाई फिल्मको नामका रुपमा राखिएको हो । फिल्मलाई भारतको पटना, बिहार, जमलपुर लगायतका ठाउँमा खिचिएको कार्यक्रममा जानकारी दिइयो ।
प्रेसमिटमा राजनलाई फिल्म निर्माता राजकुमार महतोले नेपाली खुकुरी उपहार स्वरुप प्रदान गरेका थिए । राजन स्टेज नृत्यमा पनि पपुलर छन् । सन् १९९८ मा उत्कृष्ट छाउ नृत्य गरेवापत उनलाई नेसनल अवार्ड समेत प्रदान गरिएको थियो । सन् २०१६ को भारतीय पद्माश्री अवार्डमा पनि उनी मनोनयनमा परेका थिए ।

Comments