जीवन-संर्घष : चौरी डुलाएर दिन काटिरहेकी नार फुकी ७७ वर्षीया आनी
screennepal
प्रकाशित: २०७४, १ चैत्र बिहीबार
no img

लाग्छ, अझैपनि यस्तो जीवन सम्भव छ ? तर, यही देशमा यस्ता नागरिक पनि छन्, जसलाई सरकारको नाम निशाना थाहा छैन ।
यस्तै एक उदाहरण हुन्, मनाङ नार फु गाउँपालिका च्याखुको लेकमा सानो गाईगोठमा जीवन बिताउँदै आएकी ७७ वर्षीया आनी छोमा लामा । जसलाई आधुनिक रहनसहनले पटक्कै छोएको छैन । उनी नेपाली समेत राम्रोसँग बोल्न जान्दिनन् ।
विवाहसम्म नगरेकी आनी छोमा बहिनीहरुसँग बसेकी छन् । उनका आफ्ना भनेकै यिनै दुई बहिनी हुन् । उनीहरुकै आड भरोसामा जीवन व्यतित गर्दै आएको उनी बताउँछिन् ।
सानैदेखि दःुख भोग्दैआएकाले आज सम्म पनि दुःखमै रमाउन सकेको उनी सगर्व बताउँछिन् । उनी भन्छिन् ‘पहिला चौंरी पालेकी थिएँ । चौरीले खान दिएन । अहिले लुलु गाई छन् । यिनीहरु डुलाएर दिन काटिरहेकी छु ।’
उनका अनुसार यी गाई पनि बहिनीहरुले दिएका ‘पेवा’ हुन् । उनलाई धेरै वर्ष पहिला तिब्बतबाट भागेर लुक्न आएका खम्वा विद्रोहीहरुले दिएको पीडाको राम्रैसँग सम्झना छ ।
आफू जन्मिएको घर देखाउँदै आनीले भनिन्, ‘हामी यही घरमा जन्मिएका हौं । तिब्बतबाट भागेर आएका खम्वाहरुले हामीलाइ धेरै दुःख दिए । हामीले बनाएका घर भत्काइदिए । चौंरीहरु मारिदिए ।’ यहाँका दिदीबहिनीहरुलाई दुव्र्यवहार गरेको पनि उनी सम्झिन्छिन् ।
सरकारले तपाईंहरुलाई सहयोग गरेको छ नि भन्ने प्रश्नमा उनी अनभिज्ञता प्रकट गर्छिन् । भन्छिन्, ‘थाहा छैन । हामी त गोठमा बस्छ, खेतिपाती गर्छ ।’ उनले गाउँको सरकार नै मिथेवा भएको सुनाइन् ।
आनी अति दुर्गम भेगमा बस्ने नेपाली महिलाहरुको एक प्रतिनिधि पात्र हुन् । देशमा के भइरहेको छ र सरकार कसको हो भन्नेसम्म नब्झेका यी महिलाहरुको जीवन दुःख र मेहनतमै बितिरहेको छ । आनीजस्ता महिलालाई कसले दिलाइदिन्छ अधिकार ? कसले पु¥याइदिन्छ सरकारी भत्ता ? नीति निर्माताहरुको अब ध्यान पुग्नुपर्छ ।

Comments