सांस्कृतिक संस्थानको महाप्रबन्धक राई र अध्यक्षमा अधिकारी
screennepal
प्रकाशित: २०७६, १८ पुष शुक्रबार
no img

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को महाप्रबन्धकमा बरिष्ठ सञ्चारकर्मी अशोककुमार (प्यासी) राई नियुक्त भएका छन् ।
एक्शन इन्टरटेनमेन्टको अध्यक्षसमेत रहेका राईलाई महाप्रबन्धकमा नियुक्त गरिएको बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका हुन् । नेपाली कलाकारहरुको साझा संस्थानका रुपमा रहेको सांस्कृतिक संस्थानको महाप्रबन्धक नियुक्त भएपछि राईले भने, ‘अब नयाँ ढंगले संस्थानलाई अगाडि बढाउने प्रयत्न गर्नेछु ।’
सांस्कृतिक संस्थान सम्पूर्ण कलाकारको संस्थान भएकाले ‘सांस्कृतिक संस्थान सबैको हो’ भन्ने आभाष दिलाउने उनले बताए । नवनियुक्त महाप्रबन्धक राईले भने, ‘समयअनुकुल कसरी अगाडि बढ्नुपर्छ भनेर कर्मचारी सबैलाई समेटर योजना बनाउने छु ।’ उनले केही दिनमै पत्रकार सम्मेलन गरेर आफ्नो योजना सार्वजनिक गर्ने बताए ।
अन्नपूर्ण पोस्ट दैनिकमा सुरुआतीदेखि नै कार्यरत राईले पत्रकारिता क्षेत्रमार्फत कला र संस्कृतिको आवाज उठाउँदै आएका छन् । ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ का राईले एक्शन इन्टरटेनमेन्टमार्फत प्रतिभा भएकाहरुलाई प्लेटफर्म दिने कार्य गर्दै आएका छन् । यस्तै, सरकारले संस्थानको अध्यक्षमा तेह्रथुमका प्रेमनाथ अधिकारीलाई नियुक्त गरेको छ । दुवैजनाको कार्यकाल चार वर्षको हुनेछ ।

Comments