सलमानको कार्यक्रम स्थगित, अर्को मिति तोकेर कार्यक्रम गर्ने आयोजकको भनाइ
screennepal
प्रकाशित: २०७४, १८ फाल्गुन शुक्रबार
no img

काठमाडौं, १८ फागुन । बलिउडका चर्चित अभिनेता सलमान खानको नेपालमा हुने भनिएको ‘दबंग द टुर’ कार्यक्रम स्थगित भएको छ । २६ फागुन अर्थात मार्च १० मा हुने भनिएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले कार्यक्रमप्रति आपत्ति व्यक्त गरेपछि कार्यक्रम स्थगित भएको बताइएको छ । कार्यक्रमका लागि अभिनेता सदमानले ५ करोड रुपैयाँ एडभान्स समेत लिइसकेका थिए ।
कार्यक्रमका लागि सलमानको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कृति सेननलगायत सहभागी हुँदै थिए । तर, विप्लव समूहसँग नेपाल कार्यक्रम आयोजक ‘ओडिसी इन्टरटेन्मेन्ट’ले विभिन्न चरणमा वार्ता गरेको जनाइएको छ । तर, वार्ताप्रति आयोजक गम्भिर नदेखिएको र पार्टीलाई हल्का ढंगले लिएपछि विप्लव समूहले कार्यक्रम गर्न नदिने बताएपछि कार्यक्रम स्थगित जनाइएको छ । उनीहरूले कार्यक्रमस्थल र टिकटदरमाथि आपत्ति जनाउँदै आएका थिए । आयोजकले कार्यक्रम स्थगित गरेकोमा विप्लव समूह निकट अखिल नेपाल सांस्कृतिक महासंघले खुसी व्यक्त गरेको छ । महासंघका महासचिव खेम थपलियाले शो स्थगित भएकोमा खुसी व्यक्त गरेका हुन् । तर, कार्यक्रम आयोजक संस्थामा प्रमुख सिमान्त गुरुले भने एक अनलाइनसँग कुरा गर्दै कार्यक्रम स्थगित मात्र गरेको र पुन मिति तय गरेर कार्यक्रम गर्ने बताएका छन् ।
स्रोतका अनुसार करिब ५ हजार टिकट बिक्री भइसकेको छ । बिक्री भएको शो टिकटमार्फत नै शो भएका हेर्न पाउने आयोजकले जनाएको छ । सलमानको ‘दबंग द टुर’ हेर्नका लागि टिकट दर ३०००, ५०००, १०,००० र २०,००० राखिएको थियो ।

Comments