हाम्रै नेपालमा : जन्मदिनमा चर्पी उपहार
screennepal
प्रकाशित: २०७४, २ माघ मंगलवार
no img

दमक, २ माघ । झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उनी चर्पीदाताको रुपमा चिनिन थालेका छन् । विगतदेखि नै सामाजिक कार्य गर्दै आएका कटुवाल अहिले चर्पीदाताको रुपमा चिनिएका छन् । उनले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्नेमात्र होइन, आफ्नो छोराको जन्मदिनमा समेत एक दृष्टिविहीनलाई चर्पी बनाउने सामान हस्तान्तरण गरे ।
हालैको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष भएपछिको पहिलो काम उनले आफ्नो वडामा रहेका चार विद्यालयका एक÷एक विद्यार्थीलाई निजी स्तरबाट छात्रवृत्ति प्रदान गर्ने निर्णय गरे । ‘मैले वडाको पैसाबाट नभई आफ्नै लगानीमा विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्ने सोच बनाएको थिएँ’, उनले भने, ‘तर, गाउँमा खुल्ला दिसामुक्त अभियान चलेपछि छात्रवृत्ति कोष स्थापनालाई केही पर सारेर चार विद्यालयका एक÷एक जना विपन्न विद्यार्थीको घरमा चर्पी बनाउनका लागि आवश्यक सामान दिएँ ।’
चर्पी बनाउनका लागि उनले सिमेण्टका चारवटा रिङ, त्यसको ढक्कन, वाटरसिल प्यान र पाइप दिएका छन् । चर्पीको माथिल्लो संरचना तयार गर्नका लागि आफ्नो घरमा बाँस नहुनेलाई बाँस पनि सहयोग गरेका छन् ।
गएको पुस २ गते छोरा आगमन कटुवालको जन्मदिनको अवसरमा छोरालाई जन्मदिनको उपहारको बारेमा सोचिरहेका केदारलाई लाग्यो ः कुनै एक विपन्नलाई चर्पी बनाउने सामान नै उपहार दिन पाए झनै भलो होला । त्यसैले उनले दृष्टिविहीन बज्रबहादुर कार्कीलाई चर्पी बनाउने सामान हस्तान्तरण गरे, त्यो पनि छोराको हातबाट । खुल्ला दिसामुक्त अभियानका क्रममा सञ्चारकर्मीको टोली बज्रबहादुरको घरमा पुग्दा उनले भने, ‘बाँसको टाटी त आफैँ बनाएँ, अब सिमेण्ट पाएँ भने बाँसको टाटीमा सिमेण्ट लगाएर चिटिक्कको चर्पी बनाउथेँ ।’

Comments