आफूले जितेको ५० हजार पुर्नस्थापनालाई दिने मेरिनाको घोषणा
screennepal
प्रकाशित: २०७४, २५ मंसिर सोमबार
no img

काठमाडौं, २५ मंसिर । ‘मिस नेशनल आईकन–२०१७’की सेकेण्ड रनरअप विजेता मेरिना तुम्सा लिम्बूले आफूले प्राप्त गरेको पुरस्कार सामाजिक सेवामा खर्चने भएकी छन् ।
यसैसाता राजधानीमा आयोजित प्रथम ‘मिस नेशनल आईकन’मा २१ वर्षीया मेरिनाले सेकेण्ड रनरअपको ताजसहित नगद ५० हजार प्राप्त गरेकी थिइन् । उक्त पुरस्कार रकम धरान–४ स्थित छाताचोकमा रहेको अपांग पुर्नस्थापना केन्द्रलाई प्रदान गर्ने घोषणा गरेकी हुन् ।


सौन्दर्य प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गरेर प्राप्त गरेको रकमलाई अपांग पुर्नस्थापना केन्द्रलाई सहयोग गर्ने घोषणा गर्दै मेरिनाले भनिन्, ‘पुरस्कार राशी ५० हजारमा आयोजकले कर कटाएर ४२ हजार ५ सय दिएको छ । त्यसैमा थप गरेर ५० हजार नै अपांग पुर्नस्थापना केन्द्रलाई प्रदान गर्दैछु ।’ उनले यही साता एक कार्यक्रमबीच रकम हस्तान्तरण गर्ने बताइन् ।


उक्त अपांग पुर्नस्थापना केन्द्रको सञ्चालक भीम राई हुन् । जहाँ, सबै वर्ग तथा उमेरसमूहका अपांगता भएका ३० जना आश्रित छन् । हाल उक्त अपांग पुर्नस्थापना केन्द्रको भवन निर्माण भइरहेकाले सहयोग गर्न अग्रसर भएको उनले सुनाइन् ।
धनकुटा बोधेकी मेरिना करिब दुई वर्षयता सञ्चार क्षेत्रमै आवद्ध छिन् । धरानको विजयपुर एमएफमा आरजेका रुपमा कार्यरत मेरिना ‘मिस नेशलन आईकन’मा सहभागी हुनकै लागि राजधानी आएकी हुन् । अहिले राजधानीमै रहेकी मेरिनाले भनिन्, ‘धरान जानेवित्तिकै रकम हस्तान्तरण गर्नेछु ।’
‘मिस नेशनल आईकन’मा सहभागी भएर सेकेण्ड रनरअप भएपनि मेरिनालाई मोडलिङमा रुचि राख्दिनन् । मेरिनाले आफ्नो रुचि सञ्चार र समाजिक सेवामै रहेको सुनाइन् । धनकुटामा जन्मीहुर्केर करिब चार वर्षयता सुनसरी धरानमा सञ्चारकर्मीका रुपमा कार्यरत मेरिनाले भनिन्, ‘रेडियोमा त अहिले पनि काम गरिरहेकी छु । अबको मेरो रुचि र इच्छा भनेको चर्चित भिजे बन्नु हो ।’ कुनै राष्ट्रिय टेलिभिजन च्यानलमा काम गरेर ‘टिभी स्टार’ बन्ने रहर र इच्छा बोकेकी मेरिना पूर्वाञ्चलमा आरजेका रुपमा चर्चित छिन् । उनले सञ्चालन गर्दै आएको रेडियो कार्यक्रम ‘जीन्दगीका रंगहरु’ चर्चित छ ।

Comments