मन्डलामा सुनिए रेखा कवि टंक
screennepal
प्रकाशित: २०७४, ८ आश्विन आईतवार
no img

काठमाडौँ, ८ असोज । रेखा कवि टंक सम्बाहाङ्फे शनिबार एकल कविता वाचनमा उत्रिए । अनामनगरस्थित मण्डला नाटक घरमा उनले पहिलोपटक एकल कविता वाचन गरेका हुन् । कार्यक्रमको आयोजना डिस्कोर्स डबलीले आयोजना गरेको हो ।

श्रोताको बाक्लो उपस्थितिमा कवि सम्बाहाङ्फेले विभिन्न विधाका १३ वटा कविता वाचन गरेर सुनाएका थिए । उनका कविता पहिचान, संस्कार र संस्कृति तथा जीवन, जगतमा आधारित थिए । सो समारोहमा ‘जीवन रेखा’, ‘आन्दोलनकालागि आन्दोलन’, ‘टंक सम्बाहाङ्फेसँग जोरी खोज्नेहरु’, ‘मेरो देशको उन्मुक्तिको गीत’, ‘चासोक तङ्नाम र याद’, ‘च्याब्रुङको आलाप र विलाप’, ‘हङकङ, सपना र हामी’, ‘मृत्यु श्रृङ्खला’, ‘नाकाबन्दीले जन्माएको कविता’, ‘नयाँ शक्तिको उदय’, ‘रेखा सम्बन्ध’, ‘भूकम्पको अमूर्त चित्र’, ‘पहिचानको गीत’ शीर्षकका कविताहरु वाचन गरेर सुनाइएको थियो ।

केही कविताहरु लिम्बू संस्कार र संस्कृतिसँग सम्बन्धित थिए । उनको ‘चासोक तङ्नाम र याद’ र ‘च्याब्रुङको अलाप र विलाप’ कवितामा श्रोताहरुले निक्कै मनोरञ्जन लिएका थिए ।

यता पहिचानसँग सम्बन्धित कविताहरुले पनि पहिचान पक्षधरलाई केही जागरुक गराए पनि सबै किसिमका श्रोताहरुलाई छुन सकेका थिएनन् । राज्यसत्ताको सत्तो सराप गरिएका कविताहरु भने एकेडेमिक र औपचारिक स्थलमा भन्दा पहिचानका आन्दोलनहरुमा झण्डा बोकेर उत्रिएका कार्यकर्ताहरुलाई उर्जा प्रदान गर्न सक्ने किसिमका थिए ।

कविता वाचनमा कवि टंक सम्बाहाङ्फेलाई कविहरु विमला तुम्खेवा, गणेशकुमार राई, लक्ष्मी रुम्बा, अनुपम रोशीले साथ दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कवि तथा प्राज्ञ श्रवण मुकारुङले कवि टंक सम्बाहाङ्फे कवि मात्रै नभएर दृष्टिकोणको प्रतिपादक पनि भएको बताए । उनले एउटा दृष्टिकोण बनाएर कविता लेख्ने भएकाले सम्बाहाङ्फेको कविता भन्दा दृष्टिकोण जीवन्त हुने दाबी गरे । कविको पहिचान कविता लेख्नु भए पनि दृष्टिकोण दिनसके त्यो अमर हुने उनको भनाइ थियो । कवि सम्बाहाङ्फेको प्रशंसा गर्दै प्राज्ञ मुकारुङले मोतिराम भट्ट जस्तो उनी पनि अरुलाई दृष्टिकोणमा आधारित भएर कविता लेख्न उत्प्रेरित गर्ने कवि भएको बताए । हङ्कङमा बसेर नेपाली कविता र साहित्यको विकासमा सम्बाहाङ्फेले पुर्याएको योगदान पछिल्लो पुस्ता वा समालोचकहरुले खोजी गर्ने दिन आउने उनले बताए ।

पहिलो चरणमा कविता उत्कृष्ट हुनु पर्ने बताउँदै प्राज्ञ मुकारुङले एकल कविता वाचन दोस्रो दर्जामा मात्रै हुने बताए । आफूले पनि प्रारम्भिक चरणमा धेरै पटक कविता वाचन गरेको स्मरण गर्दै उनले पछिल्लो समय यसको महत्व कम लाग्न थालेको बताए ।

हङकङमा बसोबास गर्दै आएका कवि सम्बाहाङ्फे रेखा कविताका अभियन्ता हुन् । उनी सहितका केही कविहरु जीवन र जगत एक रेखामा आधारित छ भन्ने मान्यता राख्दै आएका छन् । त्यसैअन्तर्गत कवि सम्बाहाङ्फेका आज वाचित केही कविताहरु पनि रेखा अभियानसँग सम्बन्धित थिए । रेखा कविता अभियान २०११ देखि हङकङबाट सुरु भएको कवि सम्बाहाङ्फेले जानकारी दिए । यसका छुट्टै मान्यता रहेको बताउँदै उनले समानता, क्षेत्रता, सामयिकता, सहनशिलता, आलंकारिकता र रेखाप्रस्तुती रहेका कवितालाई रेखा कविता भन्न सकिने उनले बताए ।

Comments