बालिका भइन् ‘मिसेस क्विन नेपाल’
screennepal
प्रकाशित: २०७४, १ बैशाख शुक्रबार
no img

काठमाडौं, १ बैशाख । १६ प्रतिस्पर्धीलाई उछिन्दै ‘मिसेस क्विन नेपाल–२०१७’ को उपाधि काठमाडौंकी बालिका अधिकारीले आफ्नो पोल्टामा पारेकी छन् । इभेन्ट बेटर ग्यालेक्सीले नयाँ वर्षको अबसर पारेर बिहिबार अबेरसाँझ राजधानीमा आयोजना गरेको सो प्रतियोगितामा अधिकारीले क्राउनसहित हिरो स्कुटर र विभिन्न उपहार प्राप्त गरिन् । उनी इभेन्ट बेटर ग्यालेक्सीको ब्रान्ड एम्बेस्डर पनि घोषित भइन् ।

विवाहिता नारीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि आयोजना गरिएको सो प्रतियोगितमा स्यान्डी भण्डारी फस्ट रनर अप भईन । यस्तै सेकेन्ड रनरअपको उपाधि निकिता पाण्डेले प्राप्त गरिन् । सो प्रतियोगिताको कोरियोग्राफी पूर्व मिस नेपाल उषा खड्गीले गरेकी थिईन ।
सो प्रतियोगितामा अन्य विभिन्न उपाधिका लागि पनि प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धामा मिस ट्यालेन्टको उपाधि गायिका समेत रहेकी बबिता मानन्धरले जितिन् । बेस्ट पर्सनालिटीको उपाधि स्यान्डी भण्डारीले, मस्ट ब्युटिफुलको उपाधि करुणा श्रेष्ठले हाँसिल गरे । यस्तै बेस्ट स्किन आस्मा पुन मगर, बेस्ट हेयर बालिका अधिकारी, बेस्ट क्याटवाक आनिता श्रेष्ठ, मस्ट पपुलर सुविना शाक्य, मस्ट फोटोजेनिक सरला थापा र बेस्ट फिगर मोनिका श्रेष्ठ घोषित भए ।
प्रतियोगिताको निर्णायकहरुमा गायक आनन्द कार्की, फेशन स्टालिस्ट निल डेभिड कटवाल, अभिनेता मणिराज लबट, अभिनेत्री हिषिला महर्जन, फोटोग्राफर राजभाई सुवाल, मेकअप आर्टिस्ट रुस्का बैध लगायत थिए ।
महिलाहरुको व्यक्तित्व विकाशका लागि मिसेस क्विन नेपाल आयोजना गरिएको आयोजक सँस्थाका अध्यक्ष धिरज तण्डुकारले जानकारी गराए । नयाँ वर्षको पूर्व सन्ध्या भएकाले सो कार्यक्रममा गायक सविन राई एकल रुपमा प्रस्तुत भए । उनले आफ्ना चर्चित गीतहरु सुनाए ।
हास्य कलाकार महादेब त्रिपाठीले जादू र प्रहसनले दर्शकलाई निकैबेर हँसाए । रमिता भण्डारीको कोरियोग्राफीमा कार्यक्रममा विभिन्न मोडलहरुले समर वेर, क्याजुअल लगायत विभिन्न फेशन प्रस्तुत गरे । सो सौन्दर्य प्रतियोगिता, सविन राईको एकलसाँझ र फेशन शो बिहिबार मध्यरातसम्म चलेको थियो । नयाँ वर्षको स्वागत गर्दै कार्यक्रम सकिएको थियो ।

Comments