बहुबिका ‘आत्मानुभूति’ शीर्षकका मूर्तिहरु (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २२ चैत्र सोमबार
no img

काठमाडौं । नेपाल आर्ट काउन्सिलमा मूर्तिकार भुवन थापा ‘बहुबि’ को एकल मूर्तिकला प्रदर्शनी आइतबारबाट सुरु भएको छ । आरम्भ नेपाली समसामयिक मूर्तिकार समूह र डोर कन्टेम्पोरेरी आर्ट फाउण्डेशनको संयुक्त आयोजनामा भएको सो प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले एक समारोहबीच गरे । कला र संस्कृतिले मानव जीवनलाई सार्थक बनाउन महत्वपूर्ण भूमिका खेल्ने सो अवसरमा उनले बताए । उनले भने, ‘नेपाली कलाले विश्वमै परिचित हुने अवसर पाएको छ । आजका कलाकारले पनि हिजोको विरासतलाई मध्यनजर गर्दै अगाडि बढ्नपर्छ ।’

DSC_0313
‘आत्मानुभूति’ शीर्षकको प्रदर्शनी नेपाली समसामयिक मूर्तिकलाका क्षेत्रमा प्रभाव पार्ने खालका रहेको युवा मूर्तिकार नरेन्द्र प्रसाद भण्डारीले बताए । उनले भने, नेपाली मूर्तिकलाको इतिहासमा नयाँ र भिन्न ढंगबाट थापा प्रस्तुत हुन सक्नुभएको छ । समाज र परिस्थितिजन्य अवस्थालाई वहाँले मूर्तिमा निकै आकर्षक रुपमा पस्कन सक्नुभएको छ ।’

DSC_0275
बैशाख १२ को भूकम्पको त्रासदीलाई थापाले आफुले भोगेको ‘आत्मानुभूति’ लाई सिर्जनात्मक रुपमा भावाव्यक्ति गरेका छन् । धरहरा भन्दा काष्ठमण्डप मन्दिर भत्किएपछि उनमा त्यो सही नसक्नुभयो । काठैकाठको त्यो मन्दिर कसरी भत्कियो भन्ने कौतुहलता पनि लाग्यो । थापाले भने, ‘भूकम्पबाट ढलेका भवनका काठ बटुल्दै तिनमा आकृति बनाउन थाले । भूकम्प गएको दुई दिनपछि पालमा बस्दाबस्दै काठमा आकृति बनाउन थाले । लगातारको पराकम्पनका बीच त्यसको अनुभूतिलाई आकारमा ढाल्दै गए र बने भूकम्पको झल्को आउने मूर्ति ।’

DSC_0254
फरक र भिन्न रुपमा थापाले मूर्ति ग्यालरी कक्षमा राखेका छन् । प्रायः प्रदर्शनीमा पेडेस्टलमाथि मूर्ति राख्ने चलन हुन्छ तर थापाले यस प्रदर्शनीमा सबै मूर्तिलाई झुण्डाएर राखेका छन् । अलग ढंगको ृ्रस्तुतिले दर्शको ध्यान खिन सफल समेत रहेको छ । थापामा मूर्तिका बारेमा प्रा.डा. लय मैनालीले भने, ‘आफूसँग पालमा के धनी के गरिब विभिन्न जातजाति, धर्मसम्प्रदायका महिला, केटाकेटी, बृद्धबृद्धा सबै एकैठाउँमा एउटै परिवेशमा एउटै मनोदशामा रहेको बोधसँगै हामी सबै एकै रहेछौं, एउटै आमाका सन्तान एउटै बृक्षका अनेक फल भन्ने मनमा आत्मबोध हुन्छ । त्यसलाई थापालै कलात्मक रुपमा काठमा उतार्न सफल भए ।’

DSC_0314
कार्यक्रममा अर्का कलाकार तथा कला लेखक मदन चित्रकारले नेपाली कलामा भुवन थापाको उपस्थिति सबल रुपमा देखा परेको बताए । उनले भने, ‘नेपाली समसामयिक मूर्तिमा वहाँको उपस्थिति निकै उच्च र विशिष्ठ प्रकारको रहेको छ । प्रदर्शित मूर्तिले नेपालमा मात्रै नभएर विश्वमा प्रभाव छोडन सक्ने खालका छन् ।’ प्राकृतिक रुपको मर्मलाई भंग हुन नदिइ आफ्ना भावाव्यक्ति दिन कलाकार सकेको आयोजक संस्थाका अध्यक्ष ओम खत्रीले बताए । उनले थपे, ‘कलाकारले स्वतन्त्र ढंगले विचार र आफ्ना भावना व्यक्त गर्न सफल समेत रहेको पाइन्छ । नेपाली मूर्तिकलामा नगन्य मात्रामा यस्ता प्रदर्शनी भएका छन् । यत्रो संख्यामा अलग ढंगले प्रस्तुत हुन सक्नु कलाकारको सशक्त पक्ष रहेको छ । यस प्रदर्शनीले आमदर्शकलाई फरक दृष्टिबाट सोच्न बाध्य पार्छ ।’ ४ दिनसम्म चलने सो प्रदर्शनीमा ५६ वटाका काठमा मूर्ति राखिएको छ । तस्वीर सौजन्यः चन्द्रमणि मगर

Comments