बिहीबार रुस जाँदै ‘अभागिनी आमा’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १६ भाद्र बुधबार
no img

IMG_5031

काठमाडौं । ‘अभागी आमा–१’ रुस जाँदैछिन् अर्थात् क्रिएटिभ एकेडेमी कीर्तिपुर र लोकदृष्टि थिएटरको सहकार्यमा तयार पारिएको यो नाटक रुसमा मञ्चन हुने भएको छ । लोकदृष्टिका अनुसार २३ भदौमा ‘अभागी आमा’ रुसको याल्टामा मञ्चन हुँदैछ ।
‘इन्टरनेशनल डेपलभमेन्ट फर आर्ट’ रुसको आयोजनामा सेप्टेम्बर ५ देखि १२ सम्म ‘याल्टा चेकभ थिएटर फेस्टिभल’ हुँदैछ, जहाँ प्रेम पौडेल निर्देशित नाटक ‘अभागी आमा–१’ पनि मञ्चन हुँदैछ । रुसमा नाटक प्रदर्शनका लागि सम्पूर्ण तयारी भइसकेको पौडेलले बताए । नाटक टोली बिहीबार (भोली) रुसतर्फ प्रस्थान गर्दैछन् । यसअघि क्रिएटिभ एकेडेमीले लोकदृष्टिको सहकार्यमा गत बैशाखमा ‘अभागिनी आमा–२’ नामक नाटक फ्रान्समा मञ्चन गरेको थियो । नाटक नेपालको पश्चिमाञ्चल क्षेत्रको ग्रामिण परिवेशमा आधारित छ । नेपाली समाजका विभिन्न सांस्कृतिक पक्षहलाई अर्थात् गन्धर्वहरुले घरघरमा गीत गाउँदै हिड्ने प्रचलनलाई नाटकमा देखाइएको छ ।

aa team

नाटकको कथासार :
बिस्नेका बाबु ज्वरोले थला पर्दछन् । गाउँबाट अस्पताल निकै टाढा भएकोले अस्पताल लान नसकेपछि उनको मृत्यु हुन्छ । त्यसपछि बिस्नेको परिवारको अवस्था झनै नाजुक बन्छ । बिस्नेकी आमाले मेलापात गरेर कमाएको पैसाले उनीहरुलाई बिहान–बेलुकाको छाक टार्न धौ–धौ पर्छ । अन्तिम परीक्षाका लागि तिर्नुपर्ने पैसा तिर्न नसकेपछि बिस्ने परीक्षा दिनबाट बञ्चित हुन्छ र स्कुल छोड्न बाध्य हुन्छ । उसका बाबु मर्दा काजक्रिया गर्न गाउँकै एउटा साहुले पैसा त दिन्छन् । तर, केहि समयपछि त्यै पैसाको साउँ–ब्याज तिर्न नसकेको भन्दै बिस्नेकी बहिनीलाई आफ्नो घरमा लगेर काम गर्न राख्ने निधो गर्छन् । भर्खर ७ बर्ष पुग्दै गरेकी छोरीलाई बिस्नेकी आमाले गहभरि आँसु पारेर साहुको हातमा सुम्पिन्छिन् ।

IMG_4978

शहरमा बिहे भएर उतै पढ्दै गरेकी बिस्नेकी फुपु एकदिन बिस्नेको घरमा आइपुग्छिन् । बिस्नेको अत्यन्त पढ्ने इच्छा देखेपछि उनलाई बिस्नेप्रति सहानुभुति जागेर आउँछ । त्यसपछि उनले दुई चार दिनमा घर गएर आएपछि बिस्नेलाई शहरमै लगेर एउटा राम्रो स्कुलमा पढाउने निधो गर्छिन् । फूपुको कुरा सुनेपछि बिस्नेकी आमाको खुसीको सिमा रहँदैन । उनले आफ्नो मनमा अनेकौ सपना बुन्न थाल्छिन् । त्यस्तै बिस्ने पनि निकै फुरुंग देखिन्छन् । फुपू आउने भनेको दिन बिस्ने सरसामान ठिक पारेर बस्छ तर घरमा जरुरी काम परेकाले फुपू आउँदिनन् । त्यसपछि बिस्नेको मनमा अनेक कुरा खेल्न थाल्छन् । उ निकै दुखित बन्छ, मनमा अनेक कुरा खेलाउदै घाँस काट्न रुखमा चढेको बिस्ने रुखबाट चिप्लिएर लड्छ । समयमै उपचार गर्न लैजान नसक्दा अन्त्यमा उनी पनि मर्छन् र त्यतिनै बेला बिस्नेकी फुपू आइपुग्छिन् । बिस्ने भन्ने छोरो म-यो भाग्यको लहना, सम्झी–सम्झी नरोए है अभागिनी आमा, सयांै छन् यहाँ छोरा तिम्रा, हजारौ छन् नाति, सबले पढून् राम्रो गरुन् पुगोन् माथिमाथि, भन्ने गीत सँगसँगै नाटकको अन्त्य हुन्छ ।

IMG_4994

प्राविधिक तर्फ
प्रेम पौडेलले लेखन तथा निर्देशन गरेको नाटकमा बोधनाथ पौडेलको नाट्य संयोजन छ । नाटक नेपाली भाषामा मञ्चन भइरहँदा दर्शकले भने नाटकको अंग्रेजी र रसियन सबटाइटल देख्न पाउँनेछन् । त्यसैगरि बासुदेव खनाल, चेष्टा बुढा, आषिश रिजाल, युरानश अधिकारी, खुसी क्षेत्री र एलिशा पाख्रिनलगायतका कलाकारको अभिनय रहेको यस नाटकको अंग्रेजी रुपान्तरण महेश पौड्यालले गरेका छन् ।

Comments