प्रधानमन्त्री कोइरालाको टिम कलाकारसँग ३–० ले पराजित
screennepal
प्रकाशित: २०७२, २३ जेष्ठ शनिबार
no img

शब्द/तस्बिर : एमपी सुब्बा

काठमाडौं । सधैं राजनीति तथा संविधानसभाको बहसमा भेटिने राजनीतिज्ञ र चलचित्रको पर्दामा छमछम नाचिरहेको देखिने कलाकार शनिबार भने हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा भिडिरहेका देखिए ।

screennepal (7)

मैदानबाट बाहिँदै प्रधानमन्त्री कोइराला

बैशाख १२ र २९ गते गएको महाभूकम्पबाट पीडितलाई सहयोगार्थ नयाँ पत्रिका दैनिकले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल ‘कलाकार भर्सेस नेता’ मा नेता र कलाकार मैदानमा उत्रिएका हुन् । प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा राजनीतिक दलका नेता मैदानमा उत्रिएका थिए भने कलाकारको टिम क्याप्टेन हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सम्हालेका थिए ।

screennepal (6)

राष्ट्रपतिबाट बल लिँदै प्रधानमन्त्री ।

राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री सुशील कोइरालालाई बल हस्तान्तरण गरेपछि खेल सुरु भएको थियो । नेताका तर्फमा प्रधानमन्त्रीका साथमा एमाओवादी नेता वर्षमान पुन, नेतृ हिसिला यमी, फम्फा भूषाल, एमाले नेता झलनाथ खनाल, नेता योगेश भट्टराई, कांगे्रस नेता अर्जुननरसिंह कार्की, गगन थापालगायतका नेता तथा सभासद् सुरुमै मैदानमा उत्रिएका थिए ।

screennepal

कलाकार टिम

त्यस्तै, कलाकारतर्फ हरिवंश, मदनकृष्ण, सुनिल थापा, युवराज लामा, राजकुमार राई, दिपकराज गिरी, धिरेन शाक्य, दहाहाङ राई, दीपाश्री निरौला, अभिनेत्री झरना थापा, प्रियंका कार्की, पुजा शर्मालगायत मैदानमा उत्रिएका थिए । नेताले कलाकारसँगै कडा स्पर्धा गरे पनि अन्ततः ३–० ले हार बेहोर्नु प¥यो । कलाकारका तर्फबाट पहिलो हापको ३७औं मिनेटमा मनराज श्रेष्ठले गोल गरेर खाता खोलेका थिए । पहिलो हाफ १–० मा सकिएको थियो । त्यस्तै, दोस्रो हाफमा नविन केसीले ४३ औं र रोशन श्रेष्ठले ४७औं मिनेटमा गोल गरेर कलाकारलाई जित दिलाए ।

screennepal (2)

नेताको टिम खेल सुरु हुनअघि

रोचक त के भने कसैले सोच्दै नसोचेको कुरा प्रधानमन्त्री सुशील कोइरालाले मैदानमा २५ मिनेट भन्दा बढी जेठको टन्टलापुर घाममा बिताए । बेला बेला पसिना पुछ्दै भएपनि उनी खेलिरहे । खेल सुरु हुनअघि सुशील ५ मिनेटमै बाहिरिन्छन् भन्ने दर्शकले अनुमान गरेका गरेका थिए । तर, प्रधानमन्त्री कोइराला जोशका साथ मैदान उत्रिए । उनले पटक–पटक कलाकारको पोस्टमा गोल हान्ने प्रयाससमेत गरे । तर, प्रधामन्त्रीले मात्र नभई कुनै पनि नेताले कलाकारको पोस्टमा गोल छिराउन सकेनन् । विपतमा परेका पीडितको सहगोगार्थ फुटबल खेलमा सहभागी आफू सहभागी भएर हौसला ंप्रदान गरेको प्रधानमन्त्री कोइरालाले बताए । उनले पत्रकारसँग कुरा गर्दै भने, ‘महाभूकम्पबाट हजारौंले ज्यान गुमाए । लाखौ घरबारविहिन भएकाक छन् । यस्तो बेला म चुप लागेर बस्न मिल्दैन । पीडितहरुको सहयोगार्थ कलाकारसँगको मैत्रीपूर्ण खेलमा सहभागी भएर पीडितलाई हौसला प्रदान गरेको हुँ ।’

screennepal (3) screennepal (1) screennepal (5)

Comments