काठमाडौं, १६ बैशाख । ग्ल्यामरस क्षेत्र गजबकै छ । जहाँ संघर्ष गरिरहेकाहरुको आ–आफ्नै कथा–व्यथा छ । धेरैको रहर मानिने यो क्षेत्रमा कोही करले पनि लागेका छन् । तर, त्यही कर पछि बाध्यता बन्नसक्छ ।
यस्तै, करैले मोडल बनेका हेमराज अन्छङ्बोलाई हिजोआज रहरजस्तै बनेको छ मोडलिङ । हङकङलाई कर्मथलो बनाउँदै आएका हेमराज पछिल्लो समय मोडलिङमा निकै व्यस्त छन् । तर, त्यो उनको व्यस्ततामा रहरसँगै कर पनि छ ।
केही दिनका लागि काठमाडौं आँउदा भेटिएका हेमराजले भने, ‘ख्यालख्यालैमा मोडल भइयो । अहिले त कर र रहर दुवै भइसक्यो मोडलिङ ।’
दुई दशकअघि जन्मथलो ताप्लेजुङको चाँगे छाडेर हङकङ बस्दै आएका हेमराज भलिवल खेलाडी थिए । उनी सुरुमा खेलकै सिलसिलामा हङकङ पुगेका हुन् । तर, उनी उतै बसे र कर्मथलो बनाए ।
मोडलिङचाहिँ हेमराजका लागि नसोचेकै क्षेत्र हो । एक प्रशंगमा उनले भने, ‘मोडलिङमा लाग्छु भन्ने त मेरो दिमाखमै थिएन ।’ एकछिन् घोरिएपछि फेरि भने, ‘हङकङमा नेपाली कलाकार आइरहन्छन् । भेटघाट भइरहन्छ । त्यहीक्रममा म्युजिक भिडियोमा अभिनय गर्न अनुरोध गरेपछि सुरुमा अभिनय गरेको हुँ ।’
हुन त हङकङ व्यस्त सहर, जहाँ मान्छेहरु एक–अर्कासँग बोल्ने फुर्सद समेत हुँदैन । तर, हेमराजलाई त्यो व्यस्तताले छोएको छैन अर्थात उनले मोडलिङ गर्न भ्याएकै छन् ।
दुई दर्जनभन्दा बढी नेपाली गीतको म्युजिक भिडियोमा मोडलिङ गर्न भ्याइसकेका उनले भने, ‘सन् २००८ बाट मोडलिङ गर्न थालेको हुँ । अहिले त मोडलिङ गर्नु मेरो आफ्नै पनि करजस्तो भइसक्यो ।’ कसरी त ? हेमराज भन्छन्, ‘दर्शकले चिनेपछि खोज्दारहेछन् । त्यही भएर मोडलिङलाई निरन्तरता दिइरहेको छु ।’
समय मिल्छ त ? उनी भन्छन्, ‘विदाको बेला गर्छु । कहिले नेपाल आएको बेला पनि ।’ उनले अहिलेसम्ममा लिम्बू भाषालगायत दुई दर्जन भिडियोमा मोडलिङ गर्न भ्याएछन् । यतिका संख्यामा देखिएपछि उनलाई हङकङमा मात्र नभएर नेपालमा पनि ‘हङकङे मोडल’ भनेर चिन्न थालेका छन् । यसरी चिनिनुले उनलाई फाइदा र बेफाइदा दुवै भएको छ ।
‘दर्शकमाझ चिनिनु राम्रै हो’ हेराराजले भने, ‘तर, चिनिएपछि निरन्तरता दिन सकिएन भने गाह्रो हुन्छ ।’ उनले हालसम्ममा म जलेर खरानी भएँ, हाक्पारे पालम ख्याली, सिरुकाश, यति मन पराउँछु, मायाले संसार चल्दैनजस्ता गीतमा मोडलिङ गरिसकेका छन् ।
यी ‘हङकङे मोडल’को एउटा विशेषता छ । उनी प्रायः नेपाली ‘कल्चरल ड्रेसअप’ गर्छन् । त्यो पनि ‘ढाका कन्ट्रास्ट’ । अभिनय गरेका अधिकांश भिडियोमा उनी तेह्रथुमे ‘ढाका कन्ट्रास्ट डे«सअप’मा देखिएका छन् ।
किन सधैं भिडियोमा ढाकाकै लुगा नि ? जवाफमा हेमराज भन्छन्, ‘विदेशी भूमिमा ढाकाको लुगाले छुट्टै विशेषता राख्छ । आर्कषक पनि देखिन्छ । त्यसैले प्राय भिडियोमा ढाकामै हुन्छु ।’
हङकङमा भिडियोको शुट हुँदा उनी नेपालबाटै ढाकाको लुगा झिकाउँछन् । ललितपुरस्थित ‘तेह्रथुमे ढाका बुटिक’की निरु आङबुङले डिजाइन गरेका ढाका कपडा हेमराजको रोजाइमा पर्छ ।
हालै गायक दीपक लिम्बूको ‘सिरुकास’ बोलको गीत हङकङमा शुट गरिएको थियो, जसमा हेमराज र सुस्मा लिम्बूका लागि निरुले पहिरन तयार गरेकी थिइन् । नेपाली ढाकाको प्रवद्र्धन गर्नका लागि म्युजिक भिडियोमा ढाकाबाट बनेको कपडा लाउने गरेको हेमराजको कथन छ ।