काठमाडौं, १८ साउन । गायक तथा संगीतकार राइमन राईले आत्महत्या गरेका छन् । ‘भाग्यमा नै थिएन होला शायद’जस्ता चर्चित गीतका गायक राईले मंगलबार राति झुण्डिएर आत्महत्या गरेको जनाइएको छ । ३८ वर्षीय राई अविवाहित थिए । उनी धरान–११ सिर्जनाचोकस्थित फुपुको घरमा बस्दै आएका थिए ।
गायक तथा संगीतकार राईले पाँच दर्जनभन्दा बढी गीतमा संगीत गरेका छन् । करिब डेढ दशकदेखि संगीत क्षेत्रमा सक्रिय रहँदै आएका राईले ‘मनन’ र ‘मिक्स’ जस्ता दुई एल्बम प्रकाशित छन् । पुख्यौली घर भोजपुरका उनी किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीका पूर्वअध्यक्ष समेत हुन् ।
राईका भाग्यमा नै थिएन, भाइटीकामा भेट्न आउँदा, मेरो एउटा मुटु थियो चोरी लग्योजस्ता गीत लोकप्रिय छन् । केही समययता उनको मानसिक अवस्था नाजुक रहेको बताइएको छ । उनको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।