केही दिनयता नेपाललाई सहनै नसकिने विपत्ति आइलागेको छ । म यहाँ मुम्बइमा बसेर उद्धारका लागि संयोजन र दाताहरुसँग मध्यस्थता गर्दैछु । महाविनाशलाई
कसरी पार लगाउने मेरो ध्यान त्यता मात्र गइरहेको छ । जब मैले प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सहायता कोषबारे ‘पोस्ट’ गरें, मैले नचिताउने गरी मान्छेहरुले समर्थन देखाए । तर, जब मैले नेपालका प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषको खाता नम्बरसहित विस्तृत विवरण राखें तब धेरैले शंका गर्दै प्रश्न उठाए । यो दुर्भाग्य हो । यसले मेरो चित्त साह्रै दुखेको छ ।
प्रधानमन्त्री सुशील कोइराला कोइराला परिवारमध्येका एक त्यस्ता व्यक्ति हुन् जससँग म नजिक छु । उनी साह्रै सरल र इमानदार मान्छे हुन् । राजनीतिमा समर्पित छन् । उनीसँग सम्पत्तिको नाममा केही छैन, न उनको परिवार नै छ । सुशीलदा साँच्चैका नेता हुन् । तर मान्छेहरु उनलाई विश्वास गरिरहेका छैनन् । नेपालको राजनीतिप्रति आम जनताको कति पनि विश्वास छैन । म आशा गर्छु, परिस्थितिले सरकारलाई पारदर्शी बन्न प्रेरित गर्नेछ; म आशा गर्छु, जनताको मन जित्न र विश्वास लिन सघाउनेछ । नेताहरुले बुझ्नैपर्छ कि केवल व्यवस्थापिका–संसद्मा गजधम्म परेर बस्दैमा जनताको विश्वास जित्न सकिँदैन । हाम्रा नेताहरुलाई बढीभन्दा बढी जिम्मेवार बनाउने संयन्त्र पनि बनाउनु आवश्यक छ । नेताहरुले जनताको आशा र विश्वास आर्जन गर्ने प्रणाली विकास गर्नैपर्छ । अकाट्य सत्य के हो भने यति धेरै कमजोरी गरेका छौं कि त्यसलाई सच्याउने र किनारा लगाउनैपर्छ ।
अर्को कुरा, मलाई शंका लागेको कुरा भनेको उद्धार कार्यको दीर्घकालिनता र दीर्घकालिन प्रभावकारिताबारे हो । अहिले त अनगिन्ती सहयोग आइरहेको छ । हरेक व्यक्ति महाविपत्तिबाट शोकाकुल छ । महाविपत्तिपछि स्वतःस्फूर्त रुपमा मान्छेहरुले सहयोगको हात बढाएका छन् । यो केही महिनासम्म चल्नेछ । तर, पीडा बिर्संदै जानु मान्छेको प्राकृतिक स्वभाव नै हो । अहिले त त्यति समस्याजनक देखिएको छैन, नियन्त्रणमै छ । तर जब भ्रष्टाचार सुरु हुन्छ, राहतका लागि आएका सरसामान दुरुपयोग हुन थाल्छ र वास्तविक रुपमा प्रभावितहरुले राहत नपाउने अवस्था आउँछ । राहत वितरण प्रणालीमाथि बारम्बार अनुगमन गरिरहनुपर्छ ।
विश्वले नेपालप्रति त्यति धेरै सहानुभूति देखाएको छ । यति धेरै मनकारी मान्छेहरु देखेर म ज्यादै प्रभावित भएको छु । मैले चिनेजानेका सबका सबले कसैले लत्ताकपडा, कसैले ब्लाङ्केट, कसैले पाल, कसैले खानेकुरा दिएका छन् । यी सामग्रीहरुलाई राम्ररी सम्बन्धितसम्म पुग्ने संयन्त्र बनाउनुपर्छ । सरकार, गैरसरकारी संस्था, सेना, पुलिस, उद्धारकर्मीहरु भूकम्प पीडितसम्म पुगेर बढीभन्दा बढी सहयोग गर्नका एउटै छातामुनि हुनुपर्छ, एकआपसमा सहकार्य गर्नुपर्छ । हामीले उद्धार र पुनःस्थापनाको दीर्घकालिन तयारी गर्नुपर्छ ।
क्यान्सरको उपचारपछि मैले दोस्रो जीवन पाएको छु । मैले उपहार पाएको दोस्रो जुनीलाई दुरुपयोग गर्नु मनासिव हुँदैन । म आफ्नो हरेक क्षणलाई मूल्यवान बनाउन चाहन्छु । म आफ्नो स्वास्थ्यको ख्याल गरिरहेको छु, नयाँ ऊर्जा र प्रतिबद्धताका साथ बाँचिरहेको छु । म आफ्नो जीवन नेपालका लागि समर्पण गर्नेछु । हामीले कुनै पनि विनाशलाई सकारात्मक रुपमा लिन सक्नुपर्छ ।
हामी विगत १५ वर्षयता अकर्मण्य अवस्थामा छौं । अवसरहरु हाम्रा हातबाट फुत्किएका फुत्किएकै छन् । मुठ्ठीभर व्यक्तिहरु संविधान निर्माणमा लागेका छन् । अर्कोतिर, मान्छेको जीवनस्तर चाहिँ खस्किएर पहिरोझै तलतिर ओर्लिरहेको छ र जनताका आशामा तुषारापात भइरहेको छ । अब भन्नैपर्ने भएको छ– लु भो पुग्यो, अब अति भयो । लौ आफैंलाई सही ठाउँमा ल्याऊँ र सच्याऊँ । हामी सब आशाका नजरले हेरिरहेका छौं । हिन्दीमा एउटा उखान छ– डुब्ते को तिन्के का सहारा ही काफी है (डुब्दै गरेकोलाई त्यान्द्रोको भर) । वर्षौंयता बौद्धिक पलायनको अनुपात विशाल छ अनि देश कसले बनाउने ? मेरो यो प्रश्नको जवाफ नेपालका यति धेरै युवाहरुले अवश्य दिनेछन् । म आशावादी छु ।
भारतीय अंग्रेजी पत्रिका आउटलुक साप्ताहिक (मे ११, २०१५) का लागि नम्रता जोशीले गरेको कुराकानीको सम्पादित अनुवाद ।